कांग्रेससँगको सत्ता सहयात्राको समीक्षा गर्न प्रचण्डलाई दबाब

 राष्ट्रिय सभा चुनावमा आफ्ना उम्मेदवार पराजित भएपछि नेकपा माओवादी केन्द्र नेपाली कांग्रेससँग असन्तुष्ट बनेको छ।

कांग्रेसको एउटा समूहले योजनबद्ध आफ्ना उम्मेदवार हराएको भन्दै माओवादी नेताले यसलाई सामान्य रूपमा नलिन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन्।

यसबारे कांग्रेसको संस्थागत धारणा सार्वजनिक हुनुपर्ने माओवादीको माग छ। बिहीबार सम्पन्न राष्ट्रिय सभा चुनावमा कोसी प्रदेश महिलातर्फ माओवादी उम्मेदवार चम्पादेवी कार्की एमालेकी रुक्मिणी कोइरालासँग पराजित भएकी थिइन्। सत्ता गठबन्धनसँग जित्ने पर्याप्त मत हुँदा हुँदै तीनजना प्रदेश सांसदको मत कार्कीले पाउन नसकेपछि हार्न पुगिन्।

यसले माओवादी रुष्ट बनेको छ। कांग्रेसको एउटा समूहले धोका दिएको उसले आरोप लगाएको छ।चम्पा पराजित भएलगत्तै माओवादी कोसी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले बिहीबार नै कांग्रेससँगको सहकार्यबारे गम्भीर समीक्षा हुनुपर्ने बताएका छन्।

नेताहरूको दबाबपछि प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग यसविषयमा छलफल गर्ने भएका छन्। आइतबारतिर कांग्रेसका शीर्ष नेता र माओवादीका नेताबीच छलफल हुँदैछ। त्यसअघि माओवादीले कोसीका नेतासँग आन्तरिक छलफल गरेको छ। कोसीको नतिजाले माओवादीलाई निकै गम्भीर बनाएको महासचिव देवप्रसाद गुरुङ बताउँछन्।

कांग्रेसले इमान्दारिता देखाउन नसकेकोमा उनले गुरूङले असन्तुष्टि जनाए। उनले कांग्रेससँगको सत्ता यात्राको पनि समीक्षा गर्नुपर्ने अवस्थामा आफूहरू पुगेको बताए। तर, यसबारे गठबन्धनमा समीक्षा गर्ने उनले बताए। माओवादी केन्द्रीय सदस्य एवम् कोसी प्रदेश माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले कांग्रेससँगको सत्ता सहयात्रा पुनर्विचार गर्नुपर्ने ठाउँमा पुगेको बताए । कांग्रेसले माओवादीविरुद्ध संगठित रुपमा अभियान चलाइरहेको आङ्बोले बताए । उनले भने, अब हामी कांग्रेसको संस्थागत धारणा पर्खिरहेका छौँ। यो सामान्य परिघटना हुँदै होइन।’

कांग्रेस–माओवादी सत्ता यात्रा सम्बन्धमा खटपट ल्याउन चालिएको कदमका रूपमा उनले यसलाई लिएका छन्।

‘यो कांग्रेसले माओवादीमाथि गरेको अन्तर्घातको निरन्तरता हो। यसमा बेइमान कांग्रेस हो,’ आङ्बोले भने, ‘हाम्रो पार्टी कांग्रेसको यो प्रवृत्तिले स्तब्ध छ। अब यसबारे संस्थागत निर्णय कुरिरहेका छौँ।’

यसैबीच मत क्रस गर्नेलाई कोसी प्रदेशमा गठबन्धनका नेताले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरी कारबाही गर्ने घोषणा गरेका छन्। ‘गठबन्धनको निर्णयविपरीत मतदान गर्ने गठबन्धनका प्रदेश सांसद तथा जनप्रतिनिधिलाई यथाशिघ्र छानबिन गरी अनुशासनको दायरामा ल्याउन प्रतिवद्ध छौँ,’ कोसी प्रदेशमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समावादी पार्टीका शीर्ष नेताले निकालेको विज्ञप्तिमा उल्लेख छ।

कोसी प्रदेशको राजनीतिले फेरि एकपटक केन्द्रमा हलचल पैदा गरेको नेताहरु बताउँछन्।