काभ्रेपलाञ्चोक जिल्लाका धार्मिक परम्परा र चाडपर्वहरू
जिल्लामा हिन्दू एवं बौद्धमार्गीहरूका ऐतिहासिक पक्षहरूसँग जोडिएका प्रसिद्ध मन्दिर र गुम्बाहरू रहेका छन् । पलाञ्चोक भगवती, चण्डेश्वरी, नमोबुद्ध, ईन्द्रेश्वर महादेव, धनेश्वर महादेव, नारायणस्थान मन्दिर, लड्केश्वर महादेव, व्रम्हायणी, रंगनाथ मन्दिर, गोरखनाथ, फुल्चोकी, शैलेश्वर गोसाईंस्थान, आशापुरी महादेव, घ्याङथली गुम्बा, करूणामय, गौखुरेश्वर, दुग्धेश्वर, दोलालेश्वर महादेव आदि तीर्थस्थलहरू रहेका छन् । यस जिल्लामा सांस्कृतिक महत्वका निकै रोचक, आकर्षक र बृहत् जात्रा एवं मेलाहरू पनि आवधिक रूपमा लाग्दछन् । विशेष प्रख्यातिका दृष्टिले त्यस्ता केही मेलाहरूमध्ये प्रत्येक १२ वर्षमा लाग्ने मकर मेला (पनौती), पनौती जात्रा(ज्याःपून्हि), नवदुर्गा जात्रा (पनौती/धुलिखेल), बाह्र वर्षे हरिसिद्धि मेला(धुलिखेल र पनौति), प्रत्येक जनै पूर्णिमामा लाग्ने शैलेश्वर गोसाईंस्थान मेला (बनेपा), वैशाख पूर्णिमामा लाग्ने चण्डेश्वरी जात्रा (बनेपा), विस्केटजात्रा (श्री खण्डपुर, धुलिखेल र साँगा), पलाञ्चोक भगवतीमा लाग्ने जात्रा (साठ्ठीघर), दुग्धेश्वर महादेवस्थानमा लाग्ने राँके जात्रा (पाँचखाल) कार्तिक पूर्णिमा (हरिबोधनी एकादशीपछि) मा लाग्ने नमोबुद्ध दर्शन (श्यामपाटी सिमलचौर), हरिबोधिनी एकादशीमा लाग्ने लड्केश्वर महादेव जात्रा (बल्थली), माघ महिनाभर लाग्ने धनेश्वर महादेव दर्शन (धनेश्वर), जनैपूर्णिमामा नारायणस्थानमेला महत्वपूर्ण मानिन्छन् ।
जिल्लामा अन्य जिल्लाहरूको जस्तै जातजाती विशेषले मान्दै आएका चाडपर्वहरू फरक फरक रहेका छन् । प्रत्येक जातीहरूको भाषा, सस्ंकृति तथा भेषभुषा हिन्दु धर्म मान्ने अधिकाशं जातजातीहरूले बडादशैं, तिहार, माघेसंक्रान्ति, फागुपूर्णिमा, चैते दशैं, चण्डी पूर्णिमा, साउने संक्रान्ति, जनै पूर्णिमा, तिज, कुलपुजा÷दिवाली आदि प्रमुख रहेका छन् । जिल्लामा बसोबास गर्ने आदिवासी जनजातिहरुका आ–आफ्नै रीतिरिवाजहरू रहेका छन् । जिल्लामा प्रमुख जाति तामाङका करीव ४० थरहरू रहेका छन् । तिनीहरूमा मोक्तान, स्याङतान, योन्जन, वाइवा, पाख्रीन, लोप्चन, रूम्वा, वल, गोले, बम्जन, थोकर, थिङ, दोङ, घिसिङ, व्लोन मुख्य रहेका छन् । तामाङ समुदायहरूले मान्दै आएको मुख्य चाडपर्वहरूमा बुद्ध जयन्ती, दशैं, तिहार, सोनाम लोच्छार प्रमुख रहेका छन् । । त्यस्तै नेवार जातिहरूमा बौद्ध धर्म मान्ने र हिन्दु धर्म मान्ने दुई फरक जातिहरू रहेका छन् । यी जातिहरूले मान्दै आएका मुख्य चाडपर्वहरूमा बैशाख पूर्णिमा, सिठी नखः गठेमंगल, गुनीपुन्ही, येलापुन्ही, दशैं, लक्ष्मी पूजा, म्हः पूजा, किजा पूजा, योमोरी पुन्ही, श्रीपञ्चमी, होली पुन्ही, ल्हुटीपुन्ही आदि मुख्य रहेका छन् ।
जिल्लाका दनुवार जातिहरुले मुख्य गरी साउने संक्रान्ति, जनै पूर्णिमा, धान्य पूर्णिमा, चैते दशै, चण्डी पूर्णिमा, चैत्र महिनामा सातबारको पुजा, भूमि पुजा आदि मुख्य रहेका छन् । जिल्लाका आदिवासी पहरीहरूले मुख्य गरी जनै पूर्णिमा, गाईजात्रा, दशैं, तिहार, मंसिरमा ख्याती गीत गाउने तथा भैलो खेल्ने, गोठपूजा, गुठ्ठी पर्व, देवाली पूजा, चैत्रजात्रा, कुमारी पूजा तथा सिठ्ठी पर्व मान्ने गर्दछन् । पहरी जातिहरुको जस्तै माझी जातिहरूको पनि आफ्नै परम्परा रहेको छ । अधिकांश परम्परा तथा रीतिरिवाजहरू भने लोप भै सकेका छन् । यी जातीहरू मुख्यगरी पित्रृ उद्धार जात्रा, कोशी पूजा, साउने संक्रान्ति, मंसिर पूर्णिमा रहेका छन् । जिल्लामा मगर तथा गुरूङ जातिहरू थोरै र छरिएर रहेका छन् । खासगरी गुरूङ जातिले तमु लोछार, तोहो लेहन्, दशैं, तिहार, सिल्दो थिवा आदि मान्ने गर्दछन् भने मगरहरूले माघे संक्रान्ति, भूमे पर्व, दशैं, तिहार, चैते दशै, साउने संक्रान्ति मान्ने गर्दछन् ।
महत्वपूर्ण धार्मिक स्थानहरू
पलाञ्चोक भगवती मन्दिर
काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल न.पा.–९ (साविक साठ्ठिघर गाविस ) मा अवस्थित यस पलाञ्चोक भगवतीको मन्दिर नेपालका शक्ति पिठहरू मध्येकै प्रमुखको रूपमा रहेको छ । यो मन्दिर बि.सं. ५६० तिर राजा मानदेवको पालमा पलाञ्चोकका सामन्तका पत्नी विजयस्वामिनी भन्नेले निर्माण गरेकी हुन् । यस मन्दिरका बारेमा एतिहासिक अख्यान यस प्रकार रहेको छ । यो मन्दिर तात्कालिन अवस्थामा बुच्चाकोट (हाल नमोबुद्ध न.पा.) मा रहेको थियो । त्यहाँका केही व्यक्तिहरूले राति सपनामा भगवतीले मलाई बोकी उत्तरतिर लैजानु भन्ने देखेछन् । त्यसपछि त्यहाँका व्यक्तिहरूले भगवतीको मूर्तीलाई बोकी सोही अनुरूप उत्तर तर्फ लागेछन् । हालको पलाञ्चोक डाँडामा पुगेपश्चात रात परेछ र उनीहरू त्यहीँ बसेछन् । भोलीपल्ट बोक्न खोज्दा उचाल्न नसके पश्चात त्यो मूर्ती त्यही छोडेको उल्लेख छ । हाल पनि बुच्चाकोटबाट पलाञ्चोकको मन्दिरमा वर्षेनी पुजाको डोला लैजाने चलन रहीआएको छ । यस मन्दिरमा पूर्णिमा, दशैं, चण्डिपूर्णिमामा विशेष मेला लाग्दछ । परापुर्वकाल देखिनै यस मन्दिरमा काठमाण्डौ मोखा टोलका बज्राचार्यहरू पूजारीको रूपमा रहने चलन रहीआएको छ । यस क्षेत्रमा कुनै विपत्ति आउँदा भगवतीको मूर्तीमा पसिना आउँछ भन्ने जनश्रृति रहीआएको छ ।
नमोबुद्ध क्षेत्र
यस ऐतिहासिक क्षेत्र जिल्लाको मध्य–दक्षिण क्षेत्र नमोबुद्ध नगरपालिका (साविकको श्यामपाटी सिमलचौर गाविस) पर्दछ । बौद्धधर्माबलम्वीहरूको पवित्रस्थल रहेको यस स्थानमा बौद्ध पुर्णीमामा विशेष मेला लाग्ने गर्दछ । यस स्थानमा पवित्र बौद्ध गुम्वाहरू रहेका छन् । यस स्थान रहनुमा एक किंवदन्ती रहेको छ ।
परापूर्वकालमा सिंता चेन्पो भन्ने राजा पनौतीसुन्थान क्षेत्रमा राज्य गर्दथे । उनीका तिनवटा छोराहरू द्रा चेन्पो, माहिलो ल्हा चेन्पो र कान्छो सेम्चेन चेन्पो थिए । राजाका तिन छोराहरू मध्ये कान्छो छोरा दया र करूणा भावले भरिएको थियो । एकदिन राजा परिवार र केही भारदारहरूलाई लिई शिकार खेल्न जङ्गल तिर लागेछन् । करिव आधादिन जतिको वाटो अगाडि लागेपछि ठुलो र वाक्लो वन आएछ जहाँ सुन्दर पूmलहरूको वास्ना फैलिरहेको थियो भने अत्यन्त राम्रा चराहरू प्रशस्तमात्रामा खेल्दै थिए । त्यो स्थान तिनीहरूलाई साह«ै नै मनपरेछ र त्यही बस्ने निधो गरेछन् । राजकुमारहरू भने धनु र वाण लिएर जङ्गलतिर लागेछन् । राजकुमारहरू जङ्गलतिर अगाडि बढ्दै जाँदा एउटा गुफामा बाघ सुतिरहेको देखेछन् । नजिकै बाघ देखेर जेठा र माहिला राजकुमारहरूले बाघलाई मार्न धनु ताके । जव कान्छा राजकुमारले गुफा तिर हेरे त्यहाँ अरू स–साना बाघका बच्चाहरू पनि देखे र दाजुहरूलाई बघिनीलाई मार्नवाट रोके । गुफा नजिकै गएर हेर्दा त्यो कमजोर बघिनीले भर्खरै बच्चाहरूको जन्म दिएकी रहिछे । बच्चाहरू छोडेर शिकार गर्नजाँदा अरू जनावरहरूले खाइदेलान् भनेर कही नगई बच्चाहरू सँगै बसेकी र धेरै दिन देखीकै भोक्कै जस्तो देखिन्थिई । डमरूहरू भने दुध चुसिरहेका थिए तर उनीहरू वघिनीको दुधबाट अघाएका जस्ता देखिदैन थिए । राजकुमार नजिकै पुगेर हेर्दा पनि त्यो बघिनीले राजकुमारपट्टी टाउको फर्काइ हेर्न सकेकी थिईन । वघिनीको त्यो अवस्था देखेर राजकुमारलाई बघिनी र उसका डमरू देखी ज्यादै दया पलायो र उनले दाजुहरूलाई सोधे कस्तो खालको खानेकुराले उसको पेट भरिन्छ ताकी बघिनी र उसका डमरूहरू बाँच्न सकुन् । दाजुहरूले भने बघिनीले आलो रगत र ताजा मासु मनपराउँछे । तसर्थ यसप्रकारका खानेकुराहरूबाट मात्रै उसको जीवन रक्षा हुन्छ । राजकुमारहरू त्यस स्थानवाट फर्किए बाटोभरी कान्छा राजकुमारले त्यो बघिनी र उसका छाउराहरूलाई कसरी बचाउन सकिन्छ भन्ने सोच्दै थिए । उनले बीचबाटोमा दाजुहरूलाई भने तपाईहरू जानुहोस् म चाहीँ पछि आउँछु भनी फर्किए । राजकुमार वघिनी नजिकै पुगे र आफ्नो शरीरवाट रगत र मासु निकाली बघिनीलाई खुवाउन थाले । कान्छा राजकुमार धेरै समयसम्म नआउँदा दाजुहरू पुन भाइ बघिनी कै गुफातिर गएको हुन सक्ने ठानी त्यतै तर्फ लागे । त्यहाँ उनीहरूले भाइको शरीरका हड्डी र लगाएका लुगाहरू मात्र पाए । भाईले आफ्नो शरिरको मासु र रगतवाट बघिनीको प्राण रक्षा गरेको देखी बाँकी हाडका टुक्रा र कपडा लिई राजाकहाँ पुगे । राजा रानी यस घटनावाट बेहोस भए । त्यति बेलानै आकाशवाणी मार्फत उनै कान्छा छोराले भने मैले मेरो शरीर भोकाएकी बघिनीलाई दिएपछि म स्वर्गको उत्तम स्थानमा जन्म लिनेछु । राजाले आफूवाट छोरा टाढा भएको थाहापाई साह्रै दुखी भए । राजकुमारले सम्झाउँदै भने दुखी नहुनुहोस् व्यक्तिले जस्तो कर्म गर्दछ त्यस्तै सजायँ पाउँछ । यदि राम्रो कर्म गर्दछ भने उ स्वर्गमा सम्मान पाउँछ यदि नराम्रो कर्म गर्दछ भने अवश्य दण्डित हुन्छ । हामी सबै परिवारको भेट अवश्य स्वर्गमा हुनेछ भन्दै ती राजकुमार अन्र्तध्यान भए । त्यसपछि राजाले राजकुमारको शरीरका हाडहरू र सात प्रकारका गहनाहरू एक सन्दुकमा राखी माटोले पुरी सो माथी गुम्बा बनाए । त्यही गुम्बा हाल नमोबुद्ध गुम्बाले प्रसिद्ध रहेको छ । हाल यस गुम्बाका प्रमुख थ्रानगु रिम्पोचे रहेका छन् ।