‘कृषिमा आत्मनिर्भर हुन नीतिगत परिवर्तन जरुरी छ’–पुर्व मन्त्री बास्कोटा

बनेपा÷नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ बनेपाको नगर सम्मेलन नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री तथा प्रतिनिधि सभा क्षेत्र नम्वर २ का सांसद गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
जिल्ला अध्यक्ष श्यामसुन्दर चौलागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी बास्कोटाले रोजी र रोटीसँग जोडिएको कृषि ब्यवसायमा देखिएका समस्या समाधानका लागि नीतिगत ब्यवस्था गरिनु पर्ने बताए । ‘हाम्रो कृषि आत्मनिर्भर पनि हुन सकेन । परिवारमुखी कृषिमा निर्भर हुँदा समेत आयात कम थियो । अहिले आयात धेरै हुन थाल्यो । आत्मनिर्भरमुखी कृषि उत्पादनका लागि राज्यले नीतिगत ब्यवस्था नगर्दा सम्म सम्भव हुँदैन’–पुर्व मन्त्री समेत रहेका सांसद बास्कोटाले भने–‘समग्र कृषि क्षेत्रको समस्या, चुनौती र सम्भवना सहितको क्षमता पहिचान गर्ने कार्य ढिलाई गरिनु हुन्न । सुख र समृद्धीको आधार खोज्ने पहिलो क्षेत्र भनेकै कृषि हो । यसलाई प्रविधीमैत्री सहित आत्मनिर्भर बनाउन उन्मुख हुनुको विकल्प छैन ।’ सरकारले प्रदान गर्ने अनुदान ब्यवसायीक समुहले हात पार्ने र केहि समयमै कृषि तथा ब्यवसायीक पशुपालनबाट समेत पलायन हुने क्रम बढेकाले बास्तविक कृषि र कृषकहरुसम्म आईपुग्ने गरी अनुदान तथा सहयोग हस्तान्तरण गर्न कठिन रहेको पुर्व मन्त्री बास्कोटाले बताए ।
कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य विदुर हुमागाईले कृषकहरुका तमाम समस्यामा राज्य उदासिन बन्दै गएको बताए । ‘उत्पादन गर्न रासायनिक मल छैन, अनुदानको कुरा छाड्दा पनि उत्पादन भए पछि विक्री र बजार छैन’–केन्द्रिय सदस्य हुमागाईले भने–‘न कृषिमा उत्पादनको मुल्य छ । न पशुपालनबाट कृषकले लाभ लिन सके ।’ काभ्रेपलाञ्चोक जिल्लालाई प्राप्त हुने अनुदानको मल समेत पञ्चायतकालिन कोटाबाट भएको बताउँदै हुमागाईले त्यतिबेला एक पटक एक सिजनमा हुने उत्पादन अहिले १२ महिना नै हुँदा समेत अवस्था एउटै भएको बताए । रासायनिक मल, प्रविधि तथा अनुदानमा समानुपातिक वितरण नहुँदा कृषकहरु समस्यामा परेको उनले बताए । कृषि उपज भण्डारण गर्न सक्ने कोल्ड स्टोर, राज्यका निकायको संरक्षण तथा सहयोग हुन नसकेको उनले बताए । कार्यक्रममा नेकपा एमाले बनेपा नगर कमिटी अध्यक्ष रत्नकुश रञ्जितकारले कृषकहरुका लागि उत्पादन र उत्पादन पछिको सहज बजारका लागि तीन तहकै सरकारबाट नीति सहितका कार्यक्रम लागु गरिनु पर्ने बताए । बनेपा नगरपालिका उपप्रमुख सहित रहेकी अनेमसंघ काभ्रेकी अध्यक्ष विमला सापकोटाले कृषकहरुलाई वितरण गरिने अनुदान सहि ठाउँमा हुन नसकेको बताईन् । बनेपा नगरपालिकामा एमालेकै पहलमा सबै कृषकहरुले पालेका पशुहरुको निशुल्क विमा शुरु गरिएको बताउँदै सापकोटाले किसानलाई वितरणमुखी भन्दा उत्पादनमुखी कार्यमा संलग्न गर्ने गरी कार्यक्रम शुरु गरिएको बताईन् । बनेपालाई आवश्यक मात्रामा रासायनिक मलको कोटा नभएको बताउँदै सापकोटाले तत्काल त्यसको पुर्नबर्गिकरण गर्न अनुरोध गरेको बताईन् ।

कार्यक्रममा एमालेका बागमती प्रदेश कमिटी सदस्यहरु हरिशरण दाहाल, कुमार तिमल्सिना, जिल्ला कमिटी सचिवालय सदस्य रामशरण दाहाल, वडा अध्यक्षहरु, अखिल नेपाल किसान महासंघ जिल्ला सचिव मुकुन्द लामिछाने, पुर्व वडा अध्यक्षहरु तथा जनप्रतिनिधिहरु, नगर कमिटीका पदाधिकारीहरु, वडा कमिटीका पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष श्यामसुन्दर चौलागाईले जिल्लाका सबै कृषकहरु संगठित गर्दै कृषकहरुको हितका लागि समन्वयकारी भूमिका खेल्दै राज्यका निकायलाई खवरदारी समेत गरिएको बताए । तत्कालै संगठनका सबै कमिटीहरु कृयाशिल बनाउँदै कृषकहरु थप संगठित गराउँदै गएको अध्यक्ष चौलागाईले बताए । कार्यक्रम जिल्ला कोषाध्यक्ष मनराज महतले संचालन गरेका थिए । सम्मेलनको बन्द सत्रले नगर कमिटीका पदाधिकारीहरु सहित नयाँ नेतृत्व चयन गरेको छ ।