अष्ट्रेलियन गड्यौला हुर्काउँदै पनौतीका सन्तोष (भिडियो सहित)

विकास तिमल्सिना
मल्पी, पनौती

रासायनिक मलको अभाव हुँदा कृषि उत्पादनमा ह्रास आउन थाले पछि पनौती–८ मल्पी घर भएका कृषक सन्तोष राउत चितवनबाट खरिद गरेर अष्ट्रेलियन गड्यौला उत्पादनमा जुटेका छन् । पहिलो चरणमा राउत १० केजी गड्यौलाबाट १० हजार केजी मल उत्पादन गर्ने योजनामा लागेका छन् ।
‘दिन दिनै रासायनिक मलको अभाव हुँदै गएको अवस्थालाई न्यूनिकरण गरी स्थानीय स्तरबाट नै त्यसको विकल्प खोज्ने क्रममा चितवनमा गड्यौला खेति भएको जानकारी भयो’–कृषक सन्तोष राउतले भने–‘आफ्नै गोठमा भएका गाई भैसीको मलमा गड्यौला खेति गर्न सकिने देखेर पहिलो चरणमा १० किलो गड्यौला खरिद गरी त्यसबाट मल उत्पादन गर्ने कार्य शुरु गरेको छु ।’ गाई भैसीको गोबरलाई संकलन गरेर १५ दिनसम्म ड्याङ्क बनाएर छोपेर राखिएको मलमा गड्यौला राख्दा हुर्काउन सहज हुने राउतले बताए । ‘शुरुमा शुद्द गोबर अलग बनाउनु पर्छ । अलग बनाईएको गोबरलाई ड्याङ्गका रुपमा छोपेर पकाउनु पर्छ । आलो गोबरमा गड्यौला हुर्कन सक्दैन’–उनले भने–‘१५ दिन भन्दा धेरै पाकेको गोबरमा गड्यौला राखे पछि त्यसले त्यहि पाकेको गोबर खान्छ र मल उत्पादन गर्छ । गड्यौलालाई त्यतिले मात्रै खानेकुरा पुग्दैन । हरेक तिन दिनको एक पटक सख्खर पानी समेत दिनु पर्छ ।’ करिव तिन महिनासम्म त्यहि क्रम चले पछि तयार भएको मल र गड्यौला अलग अलग बनाउनु पर्छ । उत्पादित मल खेतबारी, नर्सर तथा ठुला ठुला बगैचामा प्रयोग गर्न सकिन्छ । यो रासायनिक मल भन्दा धेरै गुणा पौष्टिक तत्व भएको मलका रुपमा लिईन्छ ।

 

पहिलो चरणमा एक महिना अघि राखिएका गड्यौलाबाट अबको दुई महिना पछि मात्रै मल उत्पादन हुनेछ । उत्पादन नहुँदै ५ हजार केजी मलको बुकिङ्ग भईसकेको राउतले बताए । तयारी अवस्थामा प्याकेजिङ्ग समेत गरेर विक्री गर्दा उक्त मल ४५ रुपैया प्रति केजी पर्न आउँछ । होलसेल मुल्यमा २१ रुपैया प्रतिकेजी पर्न आउने राउतले बताए । ‘गड्यौलाबाट तयार भएको मल राखेर उत्पादन गरिने तरकारी तथा अन्य बालीहरु सहज रुपमा फस्टाउने छ, कृषि प्राविधिकसँग सल्लाह गरेर मात्रै खेति शुरु गरिएको राउतले बताए । राउतले गड्यौला मल उत्पादनलाई निरन्तरता दिन गृहकार्य गरिरहेको बताए । पहिलो चरणको सफलतासँगै पशुपालनलाई जोड दिदै मल उत्पादनलाई तिब्रता दिने राउतले बताए ।
निरन्तर पशुपालन र तरकारी खेति
२०७७ साल मसिंर १७ गते राति अकस्मात गोठमा लागेको आगोबाट १० वटा भैसी सहितका पाडाहरु डडेर मरे । ऋण गरेर शुरु गरिएको विन्धबासिनी कृषि फार्ममा पुनः १७ वटा भैसी पाल्न शुरु गरिएको थियो । परिवारका सदस्य विरामी हुँदा समेत सन्तोषकुमार राउतका बाबु छोराले केहि हेरालु राखेर पशुपालनलाई निरन्तरता दिए । पशु आहाराको मुल्य बृद्धी, दुध उत्पादनको मुल्य कम हुँदै जाँदा हेरालु समेतको अभाव हुन थाले पछि क्रमशः पशुपालनलाई घटाउँदै लगेका राउतको फर्ममा अहिले दुई वटा गाई र एउटा भैसी तथा तीनवटा बाख्रा मात्रै छन् । गड्यौला मल उत्पादनका लागि शुद्द गोबर आवश्यक पर्ने भए पछि राउतले पुनः पशुपालनलाई निरन्तरता दिने गरी गोठ सुधार सहित पशुपालन थालेका छन् । १ करोड ५० लाख लगानी गरेका सन्तोषको अहिले पनि वित्तिय क्षेत्रको ५० लाख भन्दा धेरै ऋण छ । ऋण लिएर ब्यवसायीक कार्यमा सक्रिय सन्तोष नेपाललाई कृषि र पशुपालनबाट समृद्ध बनाउन सकिन्छ भन्ने सन्देश दिन चाहन्छन् ।
पशुपालनलाई थाती राख्दै सन्तोषले डेड रोपनी जमिनमा ब्यवसायीक तरकारी खेति गरिरहेका छन् । काउली, बन्दा, रातो बन्दा, ब्रोकाउली, धनिँया, चम्सुर लगायतका तरकारीहरुको ब्यवसायीक खेति गरेर नियमित आम्दानी गरिरहेका सन्तोष राज्यका निकायबाट कृषि र पशुपालन क्षेत्रलाई निरन्तर अनुगमन, प्राविधिक सहयोग तथा प्रोत्साहन हुनु पर्ने बताउँछन् ।

भिडियोः