एकीकृत समाजवादीको राष्ट्रिय सम्मेलन आजबाट सुरु हुँदै

नेकपा एकीकृत समाजवादी को राष्ट्रिय सम्मेलन आजबाट सुरु हुँदै छ । विधान हेरफेर लगायतका एजेण्डसहित प्रज्ञा भवनमा बिहान ११ः३० बजेबाट सम्मेलन सुरु हुनेछ ।
सम्मेलनमा पार्टी मातहतका कमिटी तथा जिल्ला तहका कार्यकर्ताबाट विधान संशोधनका लागि आएका सुझावहरूमाथि छलफल हुने छ ।
पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण तथा कार्य योजनामा केन्द्रित रहने बैठकमा पार्टी सुदृढीकरणका साथै देशभर आधारभूत तहसम्म सङ्गठन स्थापित गर्न कार्य योजना सम्मेलनमा बनाइने प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।
पार्टीले विधानको मस्यौदा तयार पार्न उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
सम्मेलनले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलित नेतृत्व तथा कानुनी अस्पष्टतालाई मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी तोक्ने उपमहासचिव खतिवडाले जानकारी दिए ।
पार्टीको पदाधिकारी, केन्द्रीय कमिटीको काम, कर्तव्य तथा अधिकारको बाँडफाँट गर्ने सम्मेलनले पार्टी नेतृत्वका लागि उमेर, कार्यकाल, सङ्गठन निर्माणमा गरेको योगदानलगायतका आधारमा मापदण्ड तय गर्ने छ ।
सम्मेलनले मस्यौदा अनुमोदन गरेपछि पार्टीले त्यसैका आधारमा आगामी जेठ पहिलो सातामा पार्टीको महाधिवेशन गर्ने छ ।
पार्टी सदस्यता नवीकरण तथा वितरण अभियानका रूपमा अगाडि बढाउनुका साथै जिल्लास्थित समाजवादी मोर्चाको बैठक र एजेण्डाको बारेमा समेत सम्मेलनमा छलफल हुने खतिवडाले जानकारी दिए ।