अल्छेचौर सामुदायिक वनका ‘जाँगरिला’ उपभोक्ता

५६ सय फलफुलका विरुवा रोपण गरिसकेको समुहले वनको संरक्षण, गोलमेड गरी आम्दानी गरेको रकमबाट तरकारी खेतिका लागि निशुल्क विउविजन वितरण गरेको छ भने आगामी वर्ष पशुपालनका लागि उन्नत मानिएको रविगाउँमा जिल्लाकै पहिलो ब्यवसायीक रुपमा हरियो ताजा घाँस उत्पादन र प्याकेजिङ सहित विक्री गर्ने तयारी शुरु गरेको छ ।

मोतीराम तिमल्सिना
धुलिखेल, रविओपी
‘१२ वर्षमा खोला फर्कन्छ’  भन्ने नेपाली उखान धुलिखेल नगरपालिका वडा नम्वर २ रविगाउँमा रहेको अल्छेचौर सामुदायिक वनका उपभोक्ताहरुले पुष्टि गराएका छन् । अल्छेचौर सामुदायिक वनको उपभोक्ता समुह २०६७ साल देखि निश्क्रिय थियो । साधारण सभा समेत हुन नसकेको उक्त सामुदायिक वनको २०७९ चैत्र १० गते आयोजित उपभोक्ताहरुको भेलाबाट गठित समितिले दर्जनौ कार्य सम्पन्न गर्दै उपभोक्ताहरुलाई सामुदायिक वनबाटै आयआर्जन गर्न सकिन्छ भन्ने उदाहरण पेश गरेको छ ।

‘साधारण सभा सम्पन्न भएको एक वर्षमा हामीले दर्जनौ कार्य सम्पन्न गरेका छौं’–अध्यक्ष इश्वर बञ्जाराले भने–‘सामुदायिक वनबाट उपभोक्ताहरुले ब्यवसायीक रुपमा आयआर्जन गर्न सकिन्छ भन्ने उदाहरण पेश गर्ने गरी कार्ययोजना निर्माण गरेर गतिविधी तिब्र बनाएका छौं ।’ धुलिखेल नगरपालिका वडा नम्वर २ मा पर्ने रविगाउँमा ५ सय ९३ घर धुरी छन् । जसमध्ये उक्त वनमा २ सय ६ जना उपभोक्ता रहेका छन् । सबै उपभोक्ताहरुको समान सहभागिताका आधारमा कार्ययोजना निर्माण गरी कार्यान्वयन शुरु गरेको समुहले एक वर्षको अवधीमा ५ हजार ६ सय विरुवा रोपण गरेको छ भने आगामी वर्षका लागि ब्यवसायीक योजना अन्र्तगत लाखौ विरुवा रोपण गर्ने तयारी गरेको छ । सामुदायिक वनको आम्दानीबाट उपभोक्ताहरुले तरकारीका विउहरु निशुल्क प्राप्त गरेका छन् । ‘यो शुरुवात मात्रै हो, हामीले सामुदायिक वनबाट उपभोक्ताहरुका लागि तयारी घाँस भुस्साका रुपमा प्याकेजिङ्ग समेत गरेर उपलब्ध गराउने योजना बनाएका छौं’–अध्यक्ष बन्जाराले भने–‘रविगाउँ गाईभैसी अर्थात पशुपालनका लागि उन्नत क्षेत्रका रुपमा चिनिएको छ । तर पशुपालनका लागि आयातित भुस्सालाई कम गरी उक्त रकम स्थानीय स्तरमा नै खर्च गर्न सकिने गरी ताजा र दुधालु घाँस उत्पादनका लागि यहि वर्ष १ लाख डाले घाँसका विरुवा रोपण गरिदैछ ।’ 

उपभोक्ताहरुलाई ताजा घाँस प्याकेजिङ्ग गरी विक्री गर्नका लागि वडा कार्यालयले समेत प्राविधिक तथा आर्थिक सहयोग गर्ने योजना बनाएको अध्यक्ष अर्जुन न्यौपानेले बताए । ‘सामुदायिक वनले उत्पादन गरेको एक लाख विरुवाबाट उत्पादित डाले घाँसलाई मेशिन मार्फत प्याकेजिङ्ग गर्ने कार्यका लागि वडाको तर्फबाट सहजिकरण गर्ने योजना बनाएका छौं’–अध्यक्ष न्यौपानेले भने–‘आयातित सुख्खा भुस्सा कम गराउन स्थानीय स्तरमा नै उत्पादन गर्न सकिने ताजा र हरियो घाँस उत्पादन र विक्रीका लागि प्रर्वद्धन गर्ने योजना बनाएका छौं ।’ त्यसका लागि उपभोक्ता समितिले रिचार्ज पोखरी खन्ने कार्यलाई तिब्र बनाएको छ भने वनको गोडमेल तथा पुराना तथा सुकेका रुखहरु दाउरा र काठको रुपमा समेत विक्री गरिरहेको छ । गोलमेडबाट निस्किएका १२ टिप दाउरा विक्री गरेर समुहले १ लाख ४ हजार सय रुपैया आम्दानी गरिसकेको छ भने घाँस विक्री गरेर केहि रकम जम्मा गरेको छ । ७ सय क्युफिट काठ विक्री गरेको छ ।

समुह सक्रिय भएसँगै जंगली जनावारहरुको संरक्षण मात्रै भएको छैन चोरी निकासी र अतिक्रमित भईरहेको वन संरक्षण भएको अध्यक्ष ईश्वर बञ्जाराले बताए । ‘समुह गठन भए सँगै कार्यालय ब्यवस्थापन, समुदाय वन कार्यक्रम संचालन गरी उपभोक्ताहरुलाई सचेतना कार्यक्रम, बृक्षारोपण, पर्यापर्यटन कार्यक्रम, वन विद्यान शशोधन, नाप नंक्साङ्कन, कार्ययोजना निर्माण लगायतका कार्यहरु सम्पन्न गरेका छौं’–अध्यक्ष बन्जाराले भने–‘उपभोक्ताहरुलाई वनको गोलमेडसँगै बृक्षारोपण र तरकारी उत्पादनका लागि निशुल्क विउ विजन उपलब्ध गराएका छौं ।’ सोहि स्थानमा वडा कार्यालयको ३ लाख रुपैया सहयोगमा वनभोज पार्क समेत निर्माण भएको छ । नीजि कम्पनी तथा ब्यक्तिहरुसँगको समन्वयमा समुह आफैले रिचार्ज पोखरीसँगै स्विमिङ पुल निर्माण गर्ने लक्ष्य बनाईएको अध्यक्ष बन्जाराले बताए । पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र ओलीको धर्मपत्नि राधिका शाक्यले २०८० साउन २५ गते औपचारिक रुपमा वृक्षारोपण गरी शुरु गरिएको बृक्षारोपण अभियानलाई समुहले तिब्र बनाएको छ ।

‘उपभोक्ताहरुलाई सामुदायिक वनमा रोपिएका विरुवाबाट आम्दानी होस् भन्ने उदेश्यले ब्यवसायीक रुपमै फलाउन सकिने कागती ११ सय ५० बोट, अम्बा ५ सय बोट, एभोकाडो ४ सय, ओखर १ सय, जामुन १४ सय ५०, तेजपत्ता ९ सय, चाप ४ सय, लब्सी १ सय, अमला १ सय, बाँस ५ सय बोट रोपण गरिसकिएको छ’–अध्यक्ष बञ्जाराले भने–‘२०८२ साल भित्रै सबै फलफुल लटरम्ब फल्ने गरी बृक्षारोपण गरिएका विरुवाहरुको नियमित रेखदेख र संरक्षणका लागि वन हेरालु समेत राखिएको छ । चालु वर्ष भित्रै थप एक हजार कागतीका विरुवा थपिने छ ।’ समुह सक्रिय हुनका लागि धुलिखेल नगरपालिका, डिभिजन वन कार्यालय, सव डिभिजन वन कार्यालय जनागाल, वडा कार्यालय तथा विभिन्न संघ संस्थाले सहयोग गरेको अध्यक्ष बञ्जाराले बताए । समुहमा उपाध्यक्ष शोभा घोरसाईने, सचिव अनुज न्यौपाने, कोषाध्यक्ष भगवती हुमागाई, सह सचिव लक्ष्मण गिरी रहेका छन् भने सदस्यहरुमा रामबहादुर तामाङ, सावित्री अधिकारी कोईराला, तारा घिमिरे कार्की, रामहरी तिमल्सिना, शर्मिला सापकोटा र मिलन पौड्याल रहेका छन् ।

धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले सामुदायिक वन समुहबाट उपभोक्ताहरुलाई आय आर्जन गर्न सकिने गरी फलफुलका विरुवा रोपण तथा कृषकहरुका लागि सहयोगि हुन सक्ने घाँसका विरुवा रोपण र अन्य कार्यका लागि नगरपालिकाले सहजिकरण गरिरहेको बताए ।