इन्टरनेट मार्फत बालबालिकामाथी हुने दुर्व्यवहार न्युनीकरण गर्न पनौतीमा सचेतना कार्यक्रम

विकास तिमल्सिना

पनौती नगरपालिकामा इन्टरनेट अनलाइनमा बाल संरक्षण विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । सिविन नेपालको आयोजना तथा पनौती नगरपालिकाको सहकार्यमा सरोकारवालासँग छलफल गरिएको हो । अनलाइन मार्फत बालबालिकामाथी हुने साइबर अपराध न्युनीकरणका लागि सरोकारवालाको भुमिका, कानुनी प्रावधान र यसबाट बच्न अपनाउन सकिने उपायका बारेमा छलफल भएको हो । कार्यक्रममा बोल्दै पनौती नगरपालिकाका नगर प्रमख रामशरण भण्डारीले अनलाइनमार्फत हुने अपराध र दुव्र्यवहार बढेको भन्दै सचेतना अभिवृद्धि जरुरी रहेको बताएका छन । उनले आफुले सिकेका विषय घर, परिवार, छरछिमेकमा पनि जानकारी गराउँदै सचेतना जगाउन भुमिका खेल्न सबैमा आग्रह गरेका छन् ।

अनलाइनमार्फत बालबालिकामाथी हुने अपराध र दुव्र्यवहार नगरपालिका, वडा र बालबालिकाको मात्रै विषय नभई साझा चुनौतीको विषय भएको उनको भनई थियो । समस्या पर्नुअघि नै हाम्रा बालबालिकालाई कसरी बचाउने भनेर सोच्न जरुरी रहेकोमा उनले जोड दिएका छन । यस्तै उप–प्रमुख गीत बञ्जाराले टोल बस्तीमा इन्टरनेट सेवा पुगेसँगै यसको गलत प्रयोगले समस्या बढ्न थालेको बाइन । सामाजिक सञ्जालको प्रयोग जरुरी भएपनि गलत प्रयोगले अपराध बढेको उनको धारणा छ । यसको सहि प्रयोगबारे सबै जानकार हुनुपर्नेमा उनले जोड दिइन् । विद्यालय, टोल वस्तीमा सामाजिक सञ्जालको प्रयोगबारे सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नुपर्ने उनले बताइन् ।

सिविन नेपालका अनलाइनमा बाल संरक्षण परियोजना संयोजक माधव लोहनीले जनचेतना जगाउने उदेश्यले स्थानीय तह, बाल क्लव सहित सरोकारवालासँग सहकार्य गरेर काम गरिरहेको बताए । बालबालिकामा अनलाइनबाट दुव्र्यवहारका घटना बढ्दै गएपछि सन् २०१८ देखी बालबालिकालाई अनलाइनमा दुव्र्यवहार कसरी हुन्छ, कोबाट हुन्छ, यसबाट कस्तो नकारात्मक परिणाम देखिएको भन्ने बारे छलफल सहित सचेतना अभियान सुरु गरिएको बताए ।

नेपाल प्रहरीको साइबर व्युरोसँगको सहकार्यमा काम भइरहेको उनको भनाई छ । साइबर व्युरोले मात्रै घटना हेर्ने र जहाँ भएपनि घटना दर्ताका लागि काठमाण्डौं आइपुग्नुपर्ने बाध्यताका कारण न्याय खर्चिलो र झण्झटिलो भएको महसुस आम नागरिकले गरिरहेको उनले बताए । उनले अनलाइनबाट हुने अपराध बढेकाले सचेत हुन सबैमा आग्रह गरेका छन् भने बालबालिकालाई यसबाट बचाउन भुमिका खेल्न पनि अनुरोध गरेका छन् । यस्तै नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरो काठमाडौंका प्राविधिक प्रहरी नायव उपरिक्षक ईन्जिनियर दिपेश जोशीले साइबर व्युरोमा गत वर्ष ९ हजार १३ उजुरी दर्ता भएको जानकारी दिए । चालु आर्थिक वर्षको माघ ११ गतेसम्म १० हजार ७ सय ७६ उजुरी दर्ता भइसकेको उनले बताए । यो क्रम बढ्दो रहेको भन्दै उनले सचेतना अभिवृद्धि अत्यावश्यक भएको बताए ।

सामाजिक सञ्जालबाट चरित्रहत्या, ठगी, धम्की, मानव बेचविखन, तस्करी, फिरौती, दुव्र्यवहार लगायतका घटना हुने गरेको उनको भनाई छ । उनले यसबाट जोगिनका लागि अज्ञात नम्बर, इमेल, फेसबुकबाट आउने लिंकहरुमा क्लिक नगर्न, आफ्नो पासवर्ड, स्थान, दैनिकी, फोन नम्बर जस्ता व्यक्तिगत विवरणहरु गोप्य राख्न, नचिनेकाहरुलाई फेसबुक जस्ता सामाजिक सञ्जालमा साथी नबनाउन उनको सुझाव छ । पनौती नगरपालिका बालमैत्री संपर्क व्यक्ति केशव बञ्जाराले इन्टरनेटबाट हुने अपराधबाट बालबालिकालाई जोगाउन सरोकारवालको भुमिका, कानुनी प्रावधान र आफैं कसरी सुरक्षित हुने भन्ने सचेतनाका लागि कार्यक्रम प्रभावकारी हुने विश्वास लिएका छन् ।

कार्यक्रममा पनौती नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी, सामाजिक विकास समिति संयोजक एवं पनौती नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष विपिन लामा, सिविन बालिका गृह पस्थलीकी भगवती श्रेष्ठ, बालक गृह पनौतीका सनिल श्रेष्ठ, नगरपालिकाका विभिन्न शाखा प्रमुख, बालमैत्री सहजकर्ता, पनौती प्रहरी चौककिा इन्चार्ज कुलबहादुर कुँवर, विभिन्न विद्यालयका प्रधानाध्यापक, बाल समुह, बाल क्लवका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।