सरकार आगामी बजेटको तयारीमा

सरकारले चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा यही महिनाको अन्तिममा सार्वजनिक गर्ने भएको छ।
समीक्षामार्फत खासगरी चालू आर्थिक वर्षमा ल्याएको बजेट कार्यक्रमहरुको लक्ष्य अनुमान समेत संशोधनको तयारी गरिएको हो।
६ महिना अवधिसम्म सरकारले बजेट कार्यक्रम कार्यान्वयन, खर्चको लक्ष्य र आम्दानीको लक्ष्य तीनवटैमा निराशाजनक अवस्था देखिएको छ।
यसकै आधारमा रहेर समीक्षा प्रतिवेदन तयार भइरहेको छ।
अर्थसचिव कृष्णहरि पुष्कर, राजस्व सचिव रामप्रसाद घिमिरे, बजेट महाशाखा प्रमुख उत्तरकुमार खत्रीलगायत सम्बन्धित महाशाखाबाट समीक्षा सम्बन्धमा काम सुरु भइसकेको अर्थमन्त्री प्रकाशशरण महतको सचिवालयले जनाएको छ।
यसअनुसार मन्त्रीको निर्देशनमा आयोजनाहरुको समेत समीक्षा भइरहेको छ। विभिन्न मन्त्रालय तथा मातहतको आयोजनाको प्रगति विवरण हरेर समीक्षाको तयारी भइरहेको हो।
ती आयोजनामा हुनसक्ने खर्चको आकलन गरी लक्ष्य समेत संशोधन हुनेछ। यसबाहेक ६ महिनासम्म भएको सरकारको राजस्वको आकार हेरेर राजस्वको लक्ष्य समेत संशोधन हुनेछ।
चालू आर्थिक वर्षको ६ महिनासम्ममा संघीय सरकारले वार्षिक लक्ष्यको ३५ दशमलव १९ प्रतिशत आम्दानी र ३२ दशमलव ३५ प्रतिशत खर्च गरेको देखिएको छ।
चालू आर्थिक वर्षका लागि सरकारले कुल १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख बराबर राजस्व उठाउने लक्ष्य लिएको छ। ६ महिना अवधिमा पाँच खर्ब १८ अर्ब १५ करोड ५६ लाख संकलन गरेको छ।