यसरी दर्ता भयो महादेवस्थानमा रहेको सोवर्ण पार्टी गुठीको जग्गा ब्यक्तिका नाममा

मोतीराम तिमल्सिना
महादेवस्थान, मण्डनदेउपुर
१९९० साल अघि स्थानीय सापकोटा परिवारका सदस्यहरुले बाटो हिड्ने बटुवा तथा आश्रय लिन आउने ब्यक्तिहरुलाई खानेपानी खुवाउने उदेश्यले दान गरी गुठीमा राखेको जग्गा ब्यक्तिका नाममा दर्ता गरिएको खुलासा भएको छ । महादेवस्थान पञ्चायत वडा नम्वर ८ स्थित महादेवस्थानमा रहेको तिन कित्ता जग्गा हेलमानका छोरा गोपिलाल श्रेष्ठलाई मोही कायम गरी जग्गा दर्ता गरिएको थियो । हाल मण्डनदेउपुर नगरपालिका वडा नम्वर ७ को कुन्ता बजारमा रहेको उत्त जग्गा गुठीकै नाममा मोठमा कायम छ ।

सापकोटा परिवारले स्थानीय हेलमान श्रेष्ठलाई पार्टी बनाउने र सोहि पार्टीमा बसेर पानी खुवाए बापत त्यतिबेला ४ रोपनी ५ आना १ पैसा ३ दाम जग्गा गुठीका नाममा राखिदिएका थिए । ९० वर्ष पछि गुठीको जग्गा ब्यक्तिका नाममा दर्ता भएको खुलासा भएको हो । हेलमानले जग्गा कमाउँदै त्यसबाट प्राप्त भएको आम्दानीबाट हरेक दिन पार्टीमा बसेर पानी खुवाउने जिम्मेवारी पाएका थिए । हेलमानले जग्गा नपाउने भनिए पनि तत्कालिन अवस्थामा जग्गा कमाई गरे बापत मोहि लाग्ने गरेको थियो । मोहि लाग्दा पनि आधा मात्रै जग्गा ब्यक्तिका नाममा दर्ता हुनु पर्नेमा सोवर्ण गुठीको उक्त जग्गा सबै ब्यक्तिका नाममा दर्ता गरिएको खुलासा भएको छ । कित्ता नम्वर ३ सय ९३ मा रहेको २ रोपनी ७ आना, ३ सय ९४ मा कित्ता नम्वरको १० आना २ पैसा र कित्ता नम्वर ४ सयको १ रोपनी ३ आना ३ पैसा ३ दाम गरी ४ रोपनी ५ आना १ पैसा ३ दाम रहेको छ । हेलमानको परिवारले मोहि बापत आधा जमिन ब्यक्तिका नाममा दर्ता गर्न पाउने कानूनी ब्यवस्था थियो । हेलमानको निधन भए पछि उनका छोरा गोपिलालले मालपोत कार्यालय काभ्रेपलाञ्चोकमा दिएको निवेदनका आधारमा सबै जग्गा मोहिकै नाममा दर्ता गरिएको देखिएको छ ।

मालपोत कार्यालय काभ्रेपलाञ्चोक, तत्कालिन गाउँ पञ्चायतका पदाधिकारीहरु तथा स्थानीय केहि ब्यक्तिहरुको मिलेमत्तोमा गुठीको सबै जग्गा ब्यक्ति अर्थात मोहीका नाममा दर्ता गर्ने षढयन्त्र गरिएको देखिएको छ । मालपोत कार्यालयको अभिलेखमा आर्थिक वर्ष २०४४÷२०४५ को दर्ता नम्वर ५२२ मा २०४५ साल जेठ १७ गतेको मालपोत कार्यालयको निर्णय बमोजिम यसमा लेखिएको जग्गा पुरै उनको श्रीमती खमायाका नाममा नामसारी भई गएको भन्ने उल्लेख गरिएको छ । हेलमानका छोरा गोपिलालले सबै जग्गा खमायाका नाममा ल्याएर गुठीको मोहि हटाएको अभिलेखबाट देखिन्छ । हेलमान पछिका पुस्ताका परिवारले भुकम्प जानु अघिसम्म पानी खुवाउने गरेका थिए । त्यहाँ निर्माण भएको पार्टी भत्किएको थियो । तीनपटकसम्म उनिहरुले नै बनाएका हुन् । 

२०७२ साल पछि उनिहरुले त्यहाँ बसेर पानी पनि खुवाउन छाडेका थिए । प्रविधि, नागरिकहरुको ब्यवस्तता र सुगमताले घर घरमा पानी, पानी पनि बोतल र फ्रिजमा आउन थाले पछि त्यहाँ गएर पानी खाने ब्यक्तिहरुको संख्या कम हुँदै गयो । पुनः पार्टी भत्कियो पुर्नर्निमाण हुन सकेन । जनप्रतिनिधि तथा स्थानीयहरुले पुन पार्टी निर्माणका लागि हेलमानको परिवारलाई अनुरोध गरे । तर उनिहरुले आनाकानी गरिरहे । पछि त ब्यक्तिगत जग्गामा किन सार्वजनिक पार्टी बनाउने ? भन्दै कड्किन थाले । बास्तविकता खोज्दै जाँदा पत्ता लाग्यो सार्वजनिक गुठीको जग्गा ब्यक्तिका नाममा नामसारी गरी बेचविखन समेत गरिसकिएको रहेछ ।

उक्त स्थानमा अहिले हेलमानका सन्तानले घर टहरा निर्माण गरेका छन् । वडा कार्यालयले समेत उक्त स्थानमा साविककै पार्टी निर्माणका लागि पहल गरेको छ । जग्गा विवाद हुँदै गए पछि रहस्य खुल्यो गुठीका नाममा भएको सबै जग्गा ब्यक्तिका नाममा दर्ता भई सकेको छ । जसले जग्गा दान ग¥यो त्यो परिवार र वडा कार्यालयले थप कानूनी प्रकृया शुरु गर्ने तयारी गरेका छन् । हेलमानका सन्तानले निर्माण गरेको घर टहरा भत्काएर पार्टी बनाई दिन्छु भनेर वडा कार्यालयमा सहमति समेत गरेका थिए । उक्त सहमतिको मसि सुक्न नपाउँदै फेरी त्यहि परिवारले ब्यक्तिका जग्गामा किन पार्टी बनाउने भन्दै धम्कि समेत दिन थालेका छन् । हेलमानका छोरा गोपिलाल । गोपिलालको श्रीमती खमाया । खमायाका नामबाट उनका चार भाई छोराका नाममा अंशबण्डा भयो । ति मध्ये केहिको निधन भई सकेको छ । बाँकी रहेकाहरुका नाममा रहेको जग्गाबाट हाल गंगालक्ष्मी श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, बद्रिप्रसाद नेपाल, तुलसामाया श्रेष्ठ, रुपेश श्रेष्ठ, दिपेश श्रेष्ठ, कुन्ताबेशी नयाँगाउँ नगरकोट सडक र गंगादेवी श्रेष्ठका नाममा दर्ता नामसारी भएको छ । मालपोत कार्यालय काभ्रेपलाञ्चोकले मोठमा गुठी नै कायम गरेर ब्यक्तिका नाममा पुर्जा बनाई दिएको छ । मालपोत कार्यालय काभ्रेपलाञ्चोकले उक्त विषयमा अध्ययन शुरु गरेको बताएको छ ।