महामन्त्री गगन थापाको संवाद यात्राले कांग्रेसमा खैलाबैला

पार्टीलाई जानकारी नदिई नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संवाद यात्रा सुरु गरेपछि संस्थापन पक्षीय नेताहरुले असन्तुष्टि जनाएका छन । शनिबारदेखि थापाले झापाको मेची पुलबाट ‘संवाद यात्रा’ सुरु गरेका छन्। उनको यात्रा हुलाकी राजमार्ग आसपास पूर्वको झापादेखि पश्चिम कञ्चनपुरसम्म २१ जिल्लामा चल्ने बताएका छन ।

अभियानको पहिलो दिनका कार्यक्रममा महामन्त्री थापा अर्का महामन्त्री विश्वप्रकाश शर्मा, कृष्णप्रसाद सिटौला र प्रदीप पौडेललगायत नेता सहभागी भए । तर, उनको यो अभियानलाई पार्टीले नचिन्ने कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । कांग्रेसले आधिकारिक रुपमा भने अलग्गै अभियान सुरु गर्ने घोषणा गरेको छ। माघ १६ गतेदेखि १० दिने ‘समुदायमा कांग्रेस’ अभियान सुरु हुनेछ । पार्टीको अभियानमा सहभागी नभई महामन्त्रीले छुट्टै अभियान चलाएकोमा विश्वकर्माले असन्तुष्टि जनाए। छुट्टै कार्यक्रम नगर्न आग्रह गर्दा नमानेको उनको गुनासो छ ।

संवाद यात्रा सुरु गर्दै महामन्त्री थापाले यो पार्टीको अभियानकै निरन्तरता भएको दाबी गरेका छन्। तर, प्रचार विभाग प्रमुख विश्वकर्माले महामन्त्री थापा सहभागी हुने कार्यक्रम नै नबनेको बताए । महामन्त्री थापाले औपचारिक कार्यक्रम नगर्ने बताएका छन । प्रत्येक दिन हुलाकी राजमार्गले छोएका जिल्लामा खुला छलफल, समूहगत छलफल, व्यक्तिगत गुनासा सुन्ने लगायत कार्यक्रम हुने उनको सचिवालयले जनाएको छ ।

महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम छ। संवाद यात्रा २६ माघमा सकिनेछ ।