भूकम्प गएको ९ वर्षपछि शंखुमा सुन्तला उत्पादन बढ्यो (भिडियो)

 विकास तिमल्सिना

२०७२ को भूकम्पपछि निराश बनेका शंखुका सुन्तला किसानलाई यो वर्ष थोरै भएपनि राहत मिलेको छ । भूकम्पपछिका वर्षमा सुन्तला उत्पादन निरन्तर घट्दै गएको थियो भने सुन्तलामा रोग किराको प्रकोप समेत देखिएको थियो । ७ वर्षपछि सुन्तला उत्पादन केहि बढेको सुन्तला किसानको भनाई छ । धुलिखेल नगरपालिका वडा नम्बर १२ र पनौती नगरपालिका वडा नम्बर १० अन्तर्गत पर्ने शंखु सुन्तलाको पकेट क्षेत्र मानिन्छ ।

पहिलेकै अवस्थामा नफर्किएपनि गत वर्षभन्दा लगभग ६० प्रतिशत बढी उत्पादन भएको किसान बताउँछन् । स्थानीय रमेशराज अधिकारी यो वर्ष गत वर्षभन्दा दोब्बर सुन्तला फलेको बताउँछन् । उनको बगैंचामा ३ सय बोट सुन्तला थिए । भूकम्पपछि विभिन्न रोगका कारण ५० बोट सुन्तला काटेर फालेको उनले बताए । बगैंचा सुधारपछि सुन्तालमा देखिएको रोग किराको समस्या कम हुँदै गएको उनले बताए । निरन्तरको औषधी उपचार र हेरचाहका कारण सुध्रिएको उनको अनुभव छ । भूकम्पअघिसम्म अधिकारीले ३ लाख रुपैयाँ सम्मको सुन्तला बेच्ने गरेका थिए । त्यसपछि १ लाखको सुन्तला बेच्नपनि मुस्किल परेको उनले बताए । यो वर्ष १ लाख ५० हजारसम्मको सुन्तला विक्रि हुने उनको अनुमान छ ।
अन्यत्रका किराहरु पनि बगैंचामा आइपुग्ने भएकाले एकजनाको मात्रै सुधार प्रयासले समस्या समाधान नहुने उनको अनुभव छ । सबैको पहलमा समाधान खोज्नुपर्ने उनले बताए । समयमै समाधान खोज्न नसक्दा रोगकिराको प्रकोप बढ्दै गएको किसान बताउँछन् । स्थानीय मधुसुदन आचार्यले भने भूकम्पपछि बगैंचाका सुन्तालामा रोग लागेकाले धेरैजसो सुन्तलाका बोटा काटेका छन । उनले पनि सुन्तला खेतीबाट राम्रै आम्दानी गर्दै आइरहेका थिए । २०७२ को भूकम्पपछि सुन्तला खेतीबाट राम्रो आम्दानी गर्न नसकिएको उनको गुनासो छ । भूकम्पपछि सुन्तला बोटमा एैंजेरु लाग्न थालेको आचार्य बताउँछन् । दाना कम फल्ने, मसिनो फल्ने, जस्ता समस्या देखिन थालेको उनले बताए । विज्ञको सुझावका आधारमा उपचार गरिरहेको स्थानीय किसान बताउँछन । सबै सुन्ताला निकालेर नयाँ लगाउने कि यसलाई नै निरन्तरता दिने भन्ने दोधारमा उनीहरु छन । आचार्यले गाउँमा एक घरले सुन्तलाबाट १५ लाख रुपैयाँसम्मको आम्दानी गर्ने गरेको स्मरण गरे । सुन्तलाकै कारण छोेराछोरी पढाउन, घर खर्च चलाउन समस्या थिएन ।

धुलिखेल नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष मोहनप्रसाद लामिछाने वडावासीको आयआर्जनको मुख्य स्रोत नै सुन्तला रहेको बताउँछन । २०७२ भन्दा अगाडी सुन्तला बेचेर किसानले १० देखी १२ लाखसम्म आम्दानी गर्ने गरेका थिए । भूकम्पपछि जमिन हल्लिएर जरा खल्बलिएर सुन्तालाई असर गरेको हुन सक्ने उनको अनुमान छ । सुन्तलामा रोगको समेत प्रकोप देखिएको उनले बताए । साना साना दानामै सुन्तला झर्ने, किरा लाग्ने समस्या देखिएको उनले बताए । सुन्तला सुधार कार्यक्रम अन्तर्गत २०७६-२०७७ मा प्रदेश सरकारबाट १५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । स्थानीय महालक्ष्मी सहकारीले सुन्तला संरक्षण गर्ने योजना अन्तर्गत पकेट कार्यक्रम सुरु गरेको छ । सुकेका हाँगा काट्ने, रोग लागेका सुन्तलालाई जालोले घेर्ने लगायतका कार्य गरिरहेको छ भने गौरी शंकर साना किसान सहकारीले नयाँ विरुवा रोप्ने कार्यक्रम ल्याएको छ । बगैंचा सुधार गर्नेको सुन्तला राम्रो हुँदै गएको वडा अध्यक्ष लामिछानेले बताए ।

६० प्रतिशत जस्तो सुधार भएको उनले बताए । नगरपालिका, वडा कार्यालय, स्थानीय सहकारीको समन्वयमा बगैंचा सुधार कार्य भइरहेको उनी बताउँछन । सुन्तला बगैंचालाई पहिलेकै अवस्थामा फर्काउन नसक्दा सुन्तला खेती गर्दै आइरहेका किसानाई घरखर्च चलाउन नै गाह्रो पर्न थालेको उनको भनाई छ ।
यस्तै काभ्रेपलाञ्चोक जिल्लामा उत्पादन भएका सुन्तलाका दाना अन्य जिल्लाका भन्दा साना देखिएका छन् । १ हजार ६ सय हेक्टरमा ८ हजार मेट्रिक टन सुन्तला र कागती उत्पादन हुने जिल्लाका बेथान्चोक, पनौती, धुलिखेल, नमोबुद्ध लगायतका क्षेत्रमा ३० वर्ष पुराना बोटहरु अझै सक्रिय छन् । नयाँ बगैँचा, भएको बँगैचाको उचित ब्यवस्थापन लगायतमा कृषकहरुले ध्यान दिनु पर्ने कृषि ज्ञान केन्द्र काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका प्रमुख कुलप्रसाद दवाडीले बताए ।

सुन्तला उत्पादन घट्नुमा भूकम्पलाई मात्रै दोष दिन नमिल्ने उनको तर्क छ । बगैंचा व्यवस्थापनमा ध्यान दिन सके सुन्तलाबाट राम्रो आम्दानी लिन सकिने उनको भनाई । भूकम्पपछि कतिपय पानीका मुहान सुकेकाले त्यसको असर सुन्तलामा परेको उनले बताए । काठमाडौं उपत्यकाबाट नजिकै रहेको काभ्रेमा उत्पादन हुने सुन्तलाको बजार समस्या नरहेको कृषि ज्ञान केन्द्र प्रमुख दवाडी बताउँछन ।

भिडियो