चौतर्फी विरोधपछि बाँदर नियन्त्रण गर्न रुख काट्ने निर्णयबाट पछि हटे वडाध्यक्ष

चौतर्फी विरोधपछि बाँदर नियन्त्रण गर्न ‘मेरो रुख म काट्छु’ अभियान सुरु गर्न वडावासीलाई आह्वान गरेका पोखरा महानगरपालिका–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे आफ्नो निर्णयबाट पछि हटेका छन् । उनले सोमबार एक सूचना जारी गर्दै घरवरपरका रुख १० दिनभित्र आफैं काट्न वडावासीका नाममा सूचना जारी गरेका थिए ।

उक्त सूचनाको चौतर्फी विरोध भएपछि मंगलबार महानगरपालिकाको कार्यालयले वडालाई पत्राचार गर्दै उक्त सूचना अविलम्ब रद्द गरी रुख कटान गर्ने कार्य बन्द गर्न अनुरोध गरेको थियो । वडाध्यक्ष पाण्डेले मंगलबार नै अर्को सूचना जारी गरी महानगरपालिकाको कार्यालयबाट प्राप्त निर्देशनअनुसार सूचना रद्द भएको जानकारी गराएका छन् ।

उक्त सूचना प्रकाशित गरेसँगै सामाजिक सञ्जालमा वडाध्यक्षको आलोचना भएको थियो । केहीले भने उचित कदम पनि भनेका छन् । धेरैजसोले बाँदर नियन्त्रणका लागि कुनै न कुनै उपाय खोज्नुपर्ने तर्क गरेका छन् । वडाध्यक्ष पाण्डे भने आफ्नो नियत सफा हुँदाहुँदै सूचनामा ‘अभियान’ शब्दका कारण गलत बुझाइ पर्न गएको दाबी गर्छन् । वडास्तरीय बाँदर नियन्त्रण समितिको सुझावबमोजिम आफ्नो जग्गाधनी पूर्जा घरवरपर, पाखोबारीका प्रतिबन्धित बाहेकका कुकाठ काट्न आह्वान गरेको उनको भनाइ छ ।

अहिले पनि स्थानीयले घरायसी प्रयोजनका लागि निजी जग्गामा भएका रुख काटिरहेको उनले बताए । घरसम्म आएको बाँदरलाई धपाउँदा नजिकैको अग्लो रुख वा बाँसघारीमा बस्दा समस्या उत्पन्न भएकोले सूचना निकालेरै आफ्नो रुख काट्न भनिएको उनले सुनाए । उनका अनुसार प्रदेश सरकारले मानव र बाँदर द्वन्द्व नियन्त्रण शीर्षकमा प्रदेश सरकारले वडालाई १५ लाख रुपैयाँ छुट्याएको छ । वडाले उक्त शीर्षकमा ३ लाख रुपैयाँ थप गरेको छ । उक्त रकमबाट वनमा बाँदरका खान्कीजन्य फलफूलका विरुवा रोप्ने वडाको योजना छ ।