जिल्लाकै पहिलो इङ्गलिस विद्यालय सञ्जीवनी नमुना विद्यालयको ७४ औ बार्षिकोत्सव
धुलिखेल, काभ्रे÷ धुलिखेल नगरपालिका वडा नम्वर ७ मा रहेको जिल्लाकै पहिलो इङ्गलिस स्कुल, नमुना तथा धेरै विद्यार्थी भएको विद्यालय सञ्जीवनी नमुना माध्यमिक विद्यालयले ७४ औ बार्षिकोत्सव मनाएको छ । बनेपाका प्रेमबहादुर राजवंशीले धुलिखेलमा सञ्जीवनी स्थापनाको शुरुवात गरेका थिए । उनको नेतृत्वमा १२ जना शिक्षासेवीहरुले २००६ सालमा जिल्लाका प्रथम अंग्रेजी स्कुलका रुपमा सञ्जीवनीको स्थापना गरेका थिए ।
धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यता तथा अध्यक्ष बेदप्रसाद कोँजुको सभापतित्वमा सम्पन्न ७४ औ बार्षिकोत्सव कार्यक्रममा पुरस्कार वितरण तथा अभिभावक दिवस आयोजना गरिएको हो । विद्यालयका प्रधानाध्यापक लोकेन्द्र ढकालले विद्यालयको समग्र अवस्थाका बारेमा बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सहायक प्रधानाध्यापक टंक थापाले स्वागत गरेका थिए । विद्यालयको समग्र आर्थिक प्रतिवेदन लेखा तथा प्रशासन प्रमुख श्रीओम ब्याञ्जुले प्रस्तुत गरेका थिए । शैक्षिक सत्र २०८० का लागि १ हजार ३ सय ६ जना विद्यार्थीहरुले उक्त विद्यालयमा अध्ययन गरिरहेका छन् ।
के हो इतिहास ?
७४ वर्ष पहिला २००६ साल माघ १६ गते धुलिखेल नगरीमा शिक्षा नपाएका तर शिक्षाको महत्व बुझेका १२ जना ब्यीक्तहरुले सञ्जीवनी बुटी झै मानिसलाई ब्युँताउन सकोस भन्ने उदेश्यले सञ्जीवनी विद्यालय स्थापनाका लागि राणा शासनकालमा सफल प्रयास गरेका थिए । बनेपाका प्रेमबहादुर राजवंशी सहित धुलिखेलका जगतबहादुर चोच्छे, नारायणकृष्ण चोच्छे, जगतबहादुर योगल, न्हुछेलाल यगोल, विष्णुबहादुर खोँजु, नारायणदास बरुण, हरिलाल यगोल, रेशमलाल माकजु, कपुरलाल माकजु, अमृतलाल माकजु तथा बालकृष्ण खोंजुले विद्यालयको स्थापना गरेका थिए । १२ जना संस्थापककै निधन भईसकेको छ । राणाहरुको जगजगी भएका बेला स्थापना गरेको इङ्गलिस पढाउने विद्यालय जिल्लाकै पहिलो थियो । २०१४ सालमा हाईस्कुलका रुपमा स्थापित भयो । २०३३ सालमा नमुना ब्यवसायिक माध्यमक विद्यालयको मान्यता पायो । २०४९ सालमा उच्च माध्यमिक विद्यालय भयो । २०४३ साल देखि आवासीय रुपमा फरक क्षमता भएका दृष्टिविहिन बालबालिकाहरुलाई पढाउँदै आएको छ । २०६३ सालमा मध्यमाञ्चल क्षेत्रकै नमुना विद्यालय घोषित भयो । २०७० सालको शैक्षिक सत्रबाट ब्यवसायिक शिक्षा प्रदान गर्ने नीति अनुरुप सिभिल इन्विनियरिङ्ग विषयको कक्षा संचालन भयो । विद्यार्थीहरु अध्ययनका लागि तँछाड मछाड गर्ने विद्यालयका रुपमा सञ्जीवनीले आफ्नो इतिहास आजसम्म कायम गर्न सफल भएको छ । अंग्रेजी र नेपाली दुबै माध्यमबाट पढाई गराई रहेको विद्यालयमा कुनै कुनै कक्षामा चारवटा सेक्सन संचालित छन् । विज्ञान, शिक्षा, ब्यवस्थापन र विशेष शिक्षाका विभिन्न विषयमा कक्षा ९ देखि १२ सम्म पढाई भईरहेको उक्त विद्यालय ३४ रोपनी ८ आना १ पैसा ३ दाम क्षेत्रफलमा रहेको छ भने आवासीय भवन १५ रोपनी १५ आना २ पैसा ३ दाम क्षेत्रफलमा रहेको छ । तत्कालिन अवस्थामा धुलिखेलबासीहरुले विभिन्न क्षेत्रमा पेशा ब्यवसाय तथा घरमा रहँदा पनि एक मुठी चामल छाक पिच्छे नै संकलन गरी उक्त विद्यालयको स्थापनासँगै निरन्तरता दिन सहयोग गरेका थिए । अन्तराष्ट्रिय क्षेत्रमा समेत चर्चित ब्यक्तिहरु धुलिखेल अस्पतालका संस्थापक डा. रामकण्ठ माकजु, मुटु रोग विशेषज्ञ डा. राजेन्द्र कोँजु, नेपाल नगरपालिका संघ तथा अन्र्तराष्ट्रिय स्तरमा धुलिखेललाई चिनाउन सफल धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु लगायतका ब्यक्तिहरुले सोहि विद्यालयबाट एसएलसीसम्मको अध्ययन गरेका थिए ।
वर्तमान अवस्था
पुर्व प्राथमिक तह, आधारभुत तह तथा माध्यमिक तहको कक्षा १२ सम्म विभिन्न विषयमा अध्ययन गर्ने विद्यार्थीहरुको संख्या १ हजार ३ सय ६ रहेको छ । ६ सय २८ जना छात्र र ६ सय ७८ छात्रा रहेको विद्यालयमा १ सय १७ जना दलित, ३० जना अपाङ्गता, १५ जना सिमान्तकृत बालबालिकाहरुले अध्ययन गरिरहेका छन् । ९ वटा भवन रहेको उक्त विद्यालयमा ३२ वटा कोठामा दैनिक पढाई हुने गरेको छ । २०७२ सालको भुकम्प पछि निर्मित भवनहरुको तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । भएका मध्ये ५ वटा भवन मात्रै भुकम्प प्रतिरोधात्मक हुन् । बालमैत्री र सिकाई मैत्री फर्निचर ३ सय वटा छन् । खानेपानी, शौचालय, खेलमैदान सहित सिकाई सामाग्री भएको खेल सहितका बालविकास कक्षाहरु पनि संचालन छन् । विद्यार्थीको अनुपातमा शिक्षक संख्या कम छ । स्थायी, अस्थायी, करार तथा नीजि श्रोतमा समेत गरी ५३ जना शिक्षक र १८ जना कर्मचारी कार्यरत रहेको विद्यालयको सिकाई उपलब्धी बृद्धि औषत २.८ जिपिए रहेको छ ।
विद्यालय बस तथा अन्य सुविधा पर्याप्त रहेको विद्यालयमा शैक्षिक सुधारका लागि थप योजना तथा अभिभावक शिक्षा लगायतका कार्यक्रमहरु भईरहेका छन् । २ सय ६९ दिन विद्यालय खुलेकोमा २ सय २० दिन माध्यमिक तहमा पठनपाठन भएको छ । औषत शिक्षण सिकाई समय १ हजार ५० घण्टा समेत रहेको छ ।
बार्षिकोत्सवमा के के भयो ?
बार्षिकोत्सवको अवसरमा नगर प्रमुख अशोक ब्याञ्जुले इतिहास बोकेको सञ्जीवनी जिल्लाकै धेरै विद्यार्थीलाई पठनपाठन गराउने विद्यालयका रुपमा मात्रै नभई गुणस्तरीय तथा फरक धार र फरक क्षमता भएका विद्यार्थीहरुलाई समेत पठनपाठन गराउने, ब्यवसायीक रुपमा शिप प्रदान गर्ने विद्यार्थी उत्पादन गर्ने, नैतिक र चरित्रवान ब्यक्ति तयार गर्ने तथा दक्ष जनशक्ति उत्पादन गरिरहेको विद्यालयका रुपमा चिनिएको बताए । विद्यालयको गुणस्तर सुधार गर्न आवश्यक पर्ने थप ब्यवस्थापनका लागि स्थानीय सरकारका रुपमा नगरपालिकाले अभिभावकत्व ग्रहण गरिरहेको नगर प्रमुख ब्याञ्जुले बताए ।
विद्यालयका प्रधानाध्यापक लोकेन्द्र ढकालले विद्यालयको समग्र बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनमा विभिन्न क्षेत्रको सहयोग, सुझाव र योजना अनुसार विद्यालयको शैक्षिक गुणस्तरलाई बृद्धी गर्ने बताए । बार्षिकोत्सवको अवसरमा ६ जना एसईई उर्तिण विद्यार्थीहरुलाई स्वर्ण पदक वितरण गरिएको थियो भने ८ जनालाई पदक तथा कदर पत्र प्रदान गरिएको थियो । सहयोगीहरुलाई सम्मान, भुपु शिक्षकहरुलाई सम्मान, २० वर्ष भन्दा धेरै सेवा गर्ने शिक्षक, कर्मचारी तथा उत्कृष्ट शिक्षकहरुलाई सम्मान गरिएको थियो । विद्यालयका लेखा तथा प्रशासन प्रमुख श्रीओम ब्याञ्जुले शैक्षिक सत्र २०७९÷२०८० को ४ करोड ६८ लाख ७ हजार १ सय रुपैयाको आम्दानी खर्चको विवरण प्रस्तुत गरेका थिए । शिक्षा समन्वय इकाईका प्रमुख देवका ढकाल, धुलिखेल नगरपालिका शिक्षा शाखा प्रमुख भोजकुमार ठकुरी, शिक्षक अभिभावक संघका अध्यक्ष महेन्द्र शाही लगायतले विद्यालयले पु¥याएको शैक्षिक योगदानका बारेमा चर्चा गरेका थिए ।