गठबन्धन बैठक: कोशीको परिणामलाई सामान्य रूपमा लिन सकिँदैन
काठमाडौं/ सत्तारुढ गठबन्धनले राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशको परिणाम चिन्ताजनक रहेको प्रारम्भिक निष्कर्ष निकालेको छ। राष्ट्रिय सभा निर्वाचनपछि पहिलोपटक मंगलबार बालुवाटारमा बसेको गठबन्धन दलहरूको बैठकमा निर्वाचन परिणामको प्रारम्भिक समीक्षा भएको हो।
बैठकमा माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मतभार बलियो हुँदाहुँदै पनि कोशी प्रदेशमा अप्रत्याशित परिणाम आएको भन्दै चिन्ता व्यक्त गरेका थिए। उनले गम्भीर समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।
‘कोशीको परिणामलाई सामान्य रूपमा लिन सकिँदैन। स्पष्ट मतभार हुँदाहुँदै पनि कसरी त्यस्तो परिणाम आयोरु’ प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले नयाँ पत्रिकासँग भने।
गठबन्धनका १९ उम्मेदवारमध्ये कोशी प्रदेशमा माओवादीकी चम्पादेवी कार्की मात्र पराजित भइन्। कोशी प्रदेशमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला पनि उम्मेदवार थिए। सिटौला भने विजयी भए। बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले कोशीको परिणाम गठबन्धनको साझा सरोकारको विषय भएको बताएका थिए। ‘यो माओवादीको मात्रै नभई गठबन्धनकै साझा विषय हो। थप छलफल गरेर अगाडि बढौँ,’ देउवाको भनाइ उद्धृत गर्दै ती नेताले भने।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भोट क्रसिङले अविश्वासको वातावरण पैदा हुने भन्दै गम्भीर बन्नुपर्ने बताएका थिए। ‘कहाँ कमजोरी रह्यो, कोबाट कमजोरी भयो विस्तृत छलफल गरौँ,’ नेपालले भने।
राष्ट्रिय सभा निर्वाचन परिणामको विषयमा प्रारम्भिक समीक्षा भएको बैठकपछि कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । उनका अनुसार शीर्ष नेताहरूबीच अर्को बैठकमा थप समीक्षा गर्ने समझदारी भएको छ।
‘कोशी प्रदेशमा सत्तापक्षीय गठबन्धनमा हामीले एक सिट गुमाएका छौँ। त्यो विषयलाई लिएर छलफल भएको छ,’ लेखकले नयाँ पत्रिकासँग भने, ‘कोशीमा अप्रत्याशित रिजल्ट आएको छ। यो गम्भीर छ। चिन्ताजनक छ। यसको बारेमा अझ गम्भीर छलफल गर्ने निर्णय भएको छ।’
कोशीमा माओवादी उम्मेदवार पराजित भएको विषय पार्टी विशेषभन्दा गठबन्धनकै सरोकारको विषय भएको लेखकले बताए। उनले भने, ‘गठबन्धनले १९ जना साझा हुन भनेर उम्मेदवार बनाइसकेपछि यो पार्टीको उम्मेदवार र त्यो पार्टीको उम्मेदवार भन्ने सवाल नै भएन। उहाँहरू सबै गठबन्धनको उम्मेदवार हुनुहुन्थ्यो। त्यसकारण यो गठबन्धनकै सरोकारको विषय हो। समग्रमा छलफल भयो। थप छलफल हुन्छ।’
राष्ट्रिय सभाको परिणामले सत्तागठबन्धनमा उलटफेर हुने अवस्था नरहेको निष्कर्ष बैठकले निकालेको छ। भोट क्रसिङको विषयमा समीक्षा आवश्यक भए पनि गठबन्धनमा फेरबदलको अवस्था नरहेको नेताहरूले बताएका छन्।