छात्रवृत्ति वितरण पारदर्शी बनाउन तेजगंगा क्याम्पसको नयाँ तरिका

विकास तिमल्सिना
पनौती नगरपालिका वडा नम्बर ८ मा रहेको काभ्रे जिल्लाकै अग्रणी शैंक्षिक संस्था तेजगंगा बहुमुखी क्याम्पसले छात्रवृत्ति वितरण पारदर्शी बनाउन नयाँ तरिका अपनाएको छ । गरिब तथा जेहनदार छात्रवृत्ति वितरणका लागि आवेदन माग गर्नेदेखी अन्तरवार्तासम्मको प्रकृया तय गरिएको हो । सोही अन्तर्गत शैक्षिक शत्र २०८०/८१ का लागि क्याम्पसबाट प्रदान हुने छात्रवृत्तिका लागि सामाजिक संजाल फेसबुक, सुचना पाटी मार्फत विद्यार्थीसँग निवेदन माग गर्दै सुचना प्रकासन गरिएको थियो । उक्त अवधिमा २८ जना विद्यार्थीले छात्रवृत्तिका लागि निवेदन दिएका थिए । त्यसपश्चात प्राप्त निवेदन अनुसार विद्यार्थीको लिष्ट बनाई अन्र्तवर्ता लिइएको छ ।
अन्तरवार्तामा क्याम्पसमा विद्यार्थीको नियमितता, शैक्षिक अवस्था, आर्थिक अवस्था, अनुशासन लगायतको विषयमा छात्रवृत्ति समितिले सोधपुछ गरेको छ । सो क्रममा अधिकांश विद्यार्थीले रोजगारी नहुँदा पठनपाठनमा वाधा पुगेको बताएका छन । कतिपय विद्यार्थीले घरमा अभिभावकले विदेश जानको लागि दवाव दिएको समेत गुनासो गरेका छन । क्याम्पसले भने निवेदन दिने अधिकतम विद्यार्थीलाई छात्रवृत्ति दिनेगरी समन्वय गरिरहेको छात्रवृत्ति समिति संयोजक चन्द्रमणी काफ्लेले जानकारी दिए । केहि न केहि समस्या भएर नै निवेदन प्राप्त भएको क्याम्पसको वुझाई छ । छात्रवृत्ति समितिमा सहायक क्याम्पस प्रमुख भीमसेन केसी, मुक्तिनारायण काफ्ले र विद्यार्थी प्रतिनिधि गुञ्जन बञ्जारा रहेका छन् ।
क्याम्पस प्रमुख डा. अम्बुभवानी कार्कीेले छात्रवृत्ति भन्दा पनि रोजगारीका लागि क्याम्पसले जोड दिएको बताइन् । विद्यार्थीलाई पढाईसँगै काम गर्नका लागि नीजि विद्यालय लगायत विभिन्न निकायसँग समन्वय गर्ने गरिएको उनको भनाई छ । यहीँ रोजगारी प्राप्त भएमा विदेश जानेको क्रम समेत रोक्न सकिने क्याम्पस प्रमुख कार्कीेले बताइन् ।
तेजगंगा क्याम्पसमा कक्षा १२ देखी स्नातक तहसम्म विभिन्न संकायमा ५ सय भन्दा बढी विद्यार्थीले अध्ययन गरिरहेका छन् । क्याम्पसले तेजगंगा छात्रवृत्ति, प्रतापसिं छात्रवृत्ति, उर्मिला पाण्डे छात्रवृत्ति, सुरथ बहादुर प्याुकरेल छात्रवृत्ति विद्यार्थीलाई उपलब्ध गराउँदै आएको छ । तेजगंगा जिल्लाकै उत्कृष्ट क्याम्पसको रुपमा परिचित छ ।