केयु रोडको भत्किएको ठाउँमा वाल सहितको ढलान

धुलिखेल/धुलिखेल नगरपालिका वडा नम्वर ४ स्थित अरनिको राजमार्गबाट काठमाडौ विश्वविद्यालय पुग्ने सडकमा गएको पहिरो पाँच वर्ष पछि पुरिएको छ । उक्त सडकमा २४ मिटर लम्बाईको पक्कि वाल सहितको ढलान गरिएको छ । नगरपालिकाले विनियोजन गरेको १७ लाख रुपैयाबाट वाल सहितको ढलान गरिएको वडा अध्यक्ष उत्तमप्रसाद तिमल्सिनाले जानकारी दिए ।
मंगलबार सम्पन्न वाल सहितको ढलान कार्यको नगर प्रमुख अशोक ब्याञ्जु, वडा अध्यक्ष उत्तमप्रसाद तिमल्सिना, प्राविधिक रति श्रेष्ठ, जनप्रतिनिधिहरु तथा स्थानीयहरुले नियमित अनुगमन र अवलोकन गरेका थिए । लामो समय देखि विवाद भएर रोकिएको सडक पक्कि भए लगत्तै वर्षातका कारण उक्त स्थानमा पहिरो जाँदा सडक भासिएको थियो । भासिएको सडक मर्मतका तथा पुर्नर्निमाणका लागि निरन्तर प्रयास भएका थिए । ‘चालु वर्षका लागि नगरपालिकाले विनियोजन गरेको १७ लाख रुपैया बजेटबाट उक्त सडक निर्माण कार्य पुरा भएको छ’–वडा अध्यक्ष उत्तमप्रसाद तिमल्सिनाले भने–‘तत्कालै सडक पेटि भासिएका स्थानको मर्मत गर्ने र दायाँ तर्फबाट पनि खुल्ला पानी बग्ने क्षेत्रलाई स्लाव राखेर फुटपाथ बनाउने योजना बनाएका छौं ।’ दैनिक सयौ ब्यक्तिहरु पैदल तथा सवारी साधन मार्फत हिड्ने उक्त मार्ग निर्माणका लागि नगरपालिकाले विशेष पहल गरेको अध्यक्ष तिमल्सिनाले बताए ।

के भयो डेड वर्षमा ?
धुलिखेल नगरपालिका वडा नम्वर ४ काठमाडौ विश्वविद्यालय भएको क्षेत्र हो । शिक्षा र स्वास्थ्यमा अब्बल मानिएको धुलिखेल नगरपालिका वडा नम्वर ४ मा वडा, नगरपालिका, प्रदेश तथा संघ सरकारका कार्यक्रमहरु पनि प्राथमिकतामा छन् । अन्तराष्ट्रिय स्तरको विश्वविद्यालय भएको क्षेत्र आसपास पक्कि सडक, सरसफाई, नागरिकहरुको स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, पार्क, मन्दिर, ढल तथा खानेपानीका विषयमा वडा कार्यालयले नियमित काम गरिरहेको अध्यक्ष तिमल्सिनाले बताए ।
२०७४–२०७९ वडा सदस्य हुँदै २०७९ मा वडा अध्यक्ष निर्वाचित भएका तिमल्सिनाले वडा भित्र भएका अधिकांश सडकहरुलाई पक्कि बनाउने अभियान तिब्र बनाएका छन् । जस अन्र्तगत ९ सय ५० मिटर सडक ढलान भईसकेको छ भने ३ सय ५० मिटर सडकमा ग्राभेल गरिएको छ । ६ सय ६५ मिटर सडक नयाँ ट्रयाक खोलिएको छ । करिडोर सडकका रुपमा उक्त ट्रयाक निर्माण गरिएको अध्यक्ष तिमल्सिनाले बताए । बाँसघारीमा रहेको बालकुमारी मार्गमा ढलान गरिएको छ भने सुवाल टोलमा एक वडा एक नमुना टोल कार्यक्रम शुरु गरिएको छ । बाँसघारीबाट धुलिखेल अस्पताल जोडिने सडक निर्माण कार्य शुरु गरिएको छ । बगल टोलमा ढल निर्माण कार्य सम्पन्न भएको छ ।

 
बाँसघारीमा नै ६०/४० अवधारणा अनुरुप वाल निर्माण गरिएको छ । चालु वर्षका लागि वडामा विनियोजन भएका ६० प्रतिशत योजना सम्पन्न भईसकेका छन् । भगवती मार्गमा शिव मन्दिर निर्माण कार्य प्रारम्भ भएको छ । आकाशदेवी मन्दिर निर्माण सम्पन्न भएको छ । वडामै अर्काे शिव मन्दिर निर्माण सकिएको छ । बुद्ध पार्कमा थप कार्य भईरहेको छ । भ्यान्डोल सुवालटोल सडक कालोपत्रे हुँदैछ । अघिल्लो वर्ष अघोरी बाबा मागमा सडक ढलान सकिएको छ । भगवती मार्गमा नमुना बस्ति निर्माण कार्य शुरु भएको छ । बौदिक मार्गका रुपमा बहुवर्षिय योजना करिडोरमा प्रारम्भ भएको छ । काठमाडौ विश्वविद्यालयको गेट देखि श्रीखण्डपुर जोड्ने सडक ढलान हुँदैछ । छाप गाउँमा पनि सडक ढलान कार्य शुरु भएको छ । छापगाउँमै किरियापुत्री भवन ट्रष्ट निर्माण गरिएको छ । भ्यान्डोलमा सामुदायिक भवन निर्माण भएको छ । नगरपालिकाले धुलिखेल नगरपालिका वडा नम्वर ४ का सबै घरमा डिजिटल नम्वर प्लेट टाँस गरेको छ । जसका कारण घरको हरेक विवरण क्यु आर कोड मार्फत सहजै पत्ता लगाउन सकिनेछ ।
 
नागरिकहरुको जीवन स्तर उकास्ने गरी कृषिमा प्रविधि हस्तान्तरण तथा सिप मुलक तालिमलाई प्राथमिकता दिईएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय अभियानमा वडाले सक्रिय सहभागिता जनाएको छ । नागरिकहरुको स्वास्थ्यलाई ध्यान दिदै निशुल्क शिविर आयोजना गर्ने, नियमित परिक्षणलाई प्राथमिकता दिने, औषधी उपलब्ध गराउने तथा नागरिकहरुको स्वास्थ्यका बारेमा जानकारी राख्ने र सहयोग तथा समन्वय गर्ने कार्य भईरहेको अध्यक्ष उत्तमप्रसाद तिमल्सिनाले बताए ।