६ महिनामा १० हजारले बनाए राहदानी, श्रमका लागि ५ हजार ७३८ विदेशिए

धुलिखेल,काभ्रे÷सुरक्षित आप्रवासन (सामी) कार्यक्रम मार्फत बैदेशिक रोजगारमा जान चाहनेहरुका लागि सूचना परामर्श कार्यक्रम मार्फत चालु वर्षको पौष मसान्तसम्म ७ हजार ४ सय २२ जना लाभान्वित भएका छन् ।
अर्ध बार्षिक समिक्षा कार्यक्रममा सामी कार्यक्रम काभ्रेका संयोजक एवं सिभिक फोरमका प्रमुख कार्यकारी अधिकृत बसन्त कुँवरले बैदेशिक रोजगारमा जाने प्रयोजनका लागि ३ हजार ७ सय ३० जनाले परामर्श लिएको बताए । जसमा पुरुष २४ सय ३० जना र महिला १२ सय ९२ जना रहेका छन् । सामी कार्यक्रमले बैदेशिक रोजगारमा जाने ब्यक्तिहरुका लागि सूचनामा पहुँच, सीप तालिमका लागि सहजिकरण, सूचना तथा तथ्यांक संकलन र ब्यवस्थापन, वित्तिय साक्षरता लगायतका विषयमा सहजिकरण गरिरहेको छ । धुलिखेल, मण्डनदेउपुर, भुम्लु र रोशी गाउँपालिकामा संचालित कार्यक्रमका बारेमा भएका प्रगति तथा जिल्ला स्तरमा भएका उपलब्धी तथा समस्याका बारेमा समिक्षामा छलफल गरिएको थियो । बैदेशिक रोजगार विभागको मासिक प्रतिवेदनमा उल्लेख भएको तथ्यांक अनुसार श्रमका लागि विदेशिनेहरुको संख्या ६ महिनाको अवधीमा ५ हजार ७ सय ३८ रहेको छ । जसमा पुरुष ४ हजार १ सय ८७ र महिला १ हजार ५ सय ५१ रहेको छ ।
साउन महिनामा ९ सय ९८, भदौमा ८ सय ४१, असोजमा ९ सय ७२, कार्तिकमा ८ सय २८, मसिंरमा ११ सय ७३ र पुषमा ९ सय २६ जना श्रम स्विकृति लिएर विदेशिएका छन् । त्यसको अलावा अध्ययनका लागि र भिजिट भिषाका लागि बाहिरिने जिल्लाबासीहरुको तथ्यांक दोब्बर छ । आर्थिक वर्ष २०७९÷२०८० मा श्रम स्विकृति लिएर विदेश जानेहरुको सख्या काभ्रेबाट ११ हजार ९ सय ४८ रहेको थियो । यो अवधीमा जिल्ला प्रशासन कार्यालयबाट १० हजार ५७ जनाले राहदानी बनाएका छन् । जसमा ६ हजार ९ पुरुष र ४ हजार ४८ जना महिला छन् ।
अर्धबार्षिक समिक्षा कार्यक्रममा चारवटा पालिकामा कार्यरत रिर्टनी स्वंयसेवकहरुले भएका प्रगति तथा समस्याका बारेमा जानकारी गराएका थिए । मण्डन देउपुर नगरपालिकामा ६ महिनाको अवधीमा ९ सय ४५ जनालाई सूचनामा पहुँच कार्यक्रम अन्र्तगत घर भेट गरिएको छ भने बैदेशिक रोजगारका कारण विदेशमा अलपत्र परेकालाई उद्धार गरिएको छ । युयईको जेलमा परेकालाई समेत फिर्ता ल्याईएको छ । बैदेशिक रोजगारका क्रममा निधन भएका ब्यक्तिका परिवारलाई छात्रबृत्तिका लागि पहल गरिएको छ । उक्त पालिकामा सुर्दशन लम्साल, निलप्रसाद ढकाल, राजु गौतमले रिर्टनी स्वंसेवकका रुपमा कार्य गरिरहेका छन् ।
बैदेशिक रोजगार बाध्यता होईन, छनौट बनोस, बैदेशिक रोजगारीमा जाँदा सही सूचना र सीप तथा तालिम लिएर गर्नु पर्ने काम, पाउने तलब सेवा, सुविधाका बारेमा स्पष्ट भएर जान उक्त कार्यक्रम मार्फत जानकारी गराईएको रिर्टनी स्वंयसेवक निलप्रसाद ढकालले बताए । कार्यक्रममा रोशी गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाईवा, धुलिखेल नगरपालिका सामाजिक विकास शाखा प्रमुख विदुर गौतम लगायतको सहभागिता रहेको थियो ।