पनौती जेसीजको आयोजनामा माधवनारायण समुहलाई टोपी वितरण
पनौती जेसीजले माधवनारायण समुहलाई शंख र टोपी उपलब्ध गराएको छ । पनौती जेसीजको आयोजना तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पनौतीको सहयोगमा शंख र एक सय वटा टोपी वितरण गरिएको पनौती जेसीजका अध्यक्ष सिजन सुधाकारले जानकारी दिए ।
कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सविन ताम्राकार, पनौती जेसीज वोर्ड अफ ट्रसका अध्यक्ष राजेशकुमार श्रेष्ठ, पनौती जात्रापर्व मुल व्यवस्थापन समितिका अध्यक्ष कृष्णधन कर्माचार्य, वडा सदस्यहरु राम भुजु, श्याम बस्नेत, माधवनारायण समुहका संयोजक लगायत सदस्यको उपस्थिती रहेको कार्यकारी उपाध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए । कार्यक्रममा जेसिज आस्था पाठ इन्दिरा नापितले गरेकी थिइन् । कार्यक्रममा बोल्दै जेसीज पनौतीका अध्यक्ष सुधाकारले धरोहरका रुपमा रहेका धार्मिक संपदा संरक्षण अभियानमा जेसीजले रहेको बताएका छन ।
वडा अध्यक्ष ताम्राकारले विश्वसम्पदामा सुचीकृतको क्रममा रहेको पनौतीलाई संपदा संरक्षण कार्यक्रमले सहयोग पुग्ने बताए ।
पौष शुक्ल पुर्णिमादेखी माघ शुक्ल पुर्णिमासम्मको समयलाई अत्यन्त्रै शुद्ध र पवित्र समय मानिन्छ । यो समयमा माधवनारायण, विष्णुको पुजापाठ गरि श्री स्वस्थानी कथा वाचन गर्ने गरिन्छ । पनौती त्रिवेणीधाम धार्मिक दृष्टिकोणले महत्वपुर्ण क्षेत्र भएकाले पनौतीमा उक्त अवधिमा हरेक दिन विहान माधवनारायणमा समुहको धार्मिक यात्रा हुनेगरेको छ ।
भजन सहित हुने र्यालीमा इच्छुक सहभागी हुन सक्नेछन् । माघ शुक्ल अष्टमीका दिन स्वर्गका राजा इन्द्रको पाप मोचन भएकाले पनि यो समयमा शुद्ध भई भगवानलाई जल जढाउनाले पापबाट मुक्ति पाइन्छ भन्ने धार्मिक विश्वास छ । पनौती त्रिवेणी धाममा जन्मदेखी मृत्युसम्मका क्रियाकलाप गरिन्छ । हरेक वर्ष माघ महिनामा साँखु र भक्तपुरका माधवनारायण देवता त्रिवेणीमा ल्याउने परम्परासमेत छ । त्यसैले पनि यो समयमा त्रिवेणीमा स्नान गर्नाले इच्छा पुरा हुने विश्वास छ । विहान १ घण्टा पनौतीका इन्द्रेश्वर, मानेश्वरी, संकटा, भद्रकाली, उन्मत्तभैरवको बार अनुसार दर्शन एवं पुजापाठ गर्ने गरिएको इन्द्रेश्वर मन्दिरका पुजारी रमेशप्रसाद जंगमले जानकारी दिए ।