हेटौँडा कपडा उद्योग सञ्चालनको जिम्मा सेनालाई दिने तयारी
सरकारले २३ वर्ष ९१ फागुन ०५७०देखि बन्द रहेको आफ्नो स्वामित्वको हेटौँडा कपडा उद्योग सेनालाई सञ्चालन गर्न दिने गृहकार्य अघि बढाएको छ । सेनाले कपडा उद्योग चलाउने प्रस्तावसहितको कार्ययोजना बुधबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका उच्च अधिकारीलाई ब्रिफिङसमेत गरेको छ ।
ब्रिफिङ सुनेपछि प्रधानमन्त्री प्रचण्ड सेनालाई कपडा उद्योग सञ्चालन गर्न दिनेबारे सकारात्मक देखिएका हुन् । पछिल्लो अध्ययनअनुसार एक अर्ब ९३ करोड सुरुवाती लगानी र वार्षिक ७८ करोड सञ्चालन खर्च आफैँ जुटाएर उद्योग सञ्चालन गर्न सेना इच्छुक छ । बैठकमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा। प्रकाशशरण महत, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठ, मुख्यसचिव डा। वैकुण्ठ अर्याल, प्रधानसेनापति प्रभुराम शर्मा, नेपाल सरकारका सचिवहरू र नेपाली सेनाका उच्चपदस्थ अधिकारीहरू थिए ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले उद्योग पुनः सञ्चालनमा केन्द्रित भएर नेपाली सेनाले गरेको अध्ययन महत्वपूर्ण भएको र मन्त्रिपरिषद्बाट ठोस निर्णय लिने बताएका छन् । ‘नेपाली सेनाले राम्रो अध्ययन गरेको छ । यसबारे राजनीतिक तहमा पनि एकचरण छलफल गर्छु । अध्ययनका निम्ति सरकारको तर्फबाट पनि सानो टिम बनाएर जान सकिन्छ । त्यसपछि मन्त्रिपरिषद् बैठकबाट ठोस निर्णय लिनेछौँ,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै उनको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकमा प्रधानमन्त्रीले सरकारी स्वामित्वका उद्योगहरू निजीकरण गर्दै जाँदा स्वदेशी उत्पादकत्वमा ह्रास आउनुका साथै रोजगारीका अवसर घट्दै जान थालेको पनि बताएका थिए ।
प्रधानमन्त्री प्रचण्डले गत सोमबार वीरगन्जमा आयोजित प्रेस सेन्टरको बैठकलाई सम्बोधन गर्ने क्रममा बन्द भएका उद्योग सञ्चालन गर्नेबारे निर्णय भइसकेको जानकारी दिएका थिए ।
सरकारले चालू आर्थिक वर्ष ०८०र८१ को नीति कार्यक्रममा विगतमा सञ्चालन भएर वर्तमानमा बन्द अवस्थामा रहेका उद्योग पुनः सञ्चालन गर्न आवश्यक अध्ययन गर्ने उल्लेख गरेको थियो । त्यसपछि गत जेठमा सेनाका उपरथी भोलानाथ बुढाथोकीसहितको टोलीले उद्योगको अवस्था, भौतिक संरचना, यथास्थितिमा सञ्चालन हुन सक्ने–नसक्नेबारे जानकारी लिएको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका व्यवस्थापक भोजराज बिनाडीले जानकारी दिए । सरकारले सञ्चालन गर्ने भनेको कपडा उद्योग चलाउनेबारे सेनाको टोलीले पछिल्लो समय पटक–पटक निरीक्षणसहित अध्ययन गरेको उनले बताए ।