राष्ट्रसेवक कर्मचारीहरुका लागि तनाव ब्यवस्थापन कार्यक्रम

बनेपा, काभ्रे÷जिल्ला स्थित राष्ट्रसेवक कर्मचारीहरुलाई तनाव ब्यवस्थापन सम्वन्धी पहिलो चरणको तीन दिने कार्यक्रम धुलिखेलमा शुरु भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेपलाञ्चोक बनेपाको आयोजनामा बुधबारबाट शुरु भएको कार्यक्रम शुक्रबार सम्पन्न हुनेछ ।
‘जिल्ला स्थित विभिन्न कार्यालयमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरुका लागि तनाव ब्यवस्थापन गर्न कार्यक्षेत्रमै बसेर गर्न सकिने योग आसन तथा अन्य विधी र प्रवचनका बारेमा जानकारी गराएका छौं’–जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेपलाञ्चोककी प्रमुख डा.वशंवदा कौण्डिन्न्यायनीले भनिन–‘कार्यक्षेत्रमा आउने तनाव तथा त्यसले पार्न सक्ने शारिरिक र मानसिक थकान तथा असर न्यूनिकरण गर्न कार्यक्रम महत्वपूर्ण भएको छ ।’ तीन दिनसम्म संचालन हुने कार्यक्रमम आयुर्वेदका विधीबाट तनाव कम गर्न सकिने अवस्था, खानपान, रहनसहन तथा आसनका बारेमा जानकारी गराईएको छ । पहिलो दिनको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा लगायतका बक्ताहरुले तनाव ब्यवस्थापनमा ध्यान दिनु पर्ने विषय र योग तथा आयुर्वेदका माध्यमबाट तनाव गर्न सकिने विषयका बारेमा जानकारी गराएका थिए ।

दोश्रो दिन विहिबार जीवन विज्ञान प्रतिष्ठानका गुरुदेव एल.पी.भानु शर्माले जिल्ला स्थित सरकारी कार्यालयका कार्यालय प्रमुख तथा राष्ट्रसेवक कर्मचारीहरुका लागि विशेष उत्पेरणा कक्षा संचालन गरेका थिए । उनको प्रवचनसँगै योग अभ्यास तथा कार्यक्षेत्रमा रहेर गर्न सकिने योगआसनका बारेमा जानकारी गराईएको थियो । भोली शुक्रबार समापन हुने कार्यक्रममा आयुर्वेद र योगसँग सम्वन्धित विभिन्न कृयाकलापहरु गराईनेछ । दोश्रो चरणको कार्यक्रम माघ २१ गते आईतबारबाट २३ गते मंगलबारसम्म संचालन हुनेछ ।