मेथिनकोट अस्पतालमा भर्ना भएका विरामीलाई निशुल्क रगतको ब्यवस्था

मेथिन्कोट, नमोबुद्ध÷सम्झौताको एक वर्ष पछि मेथिन्कोट अस्पतालले भर्ना भएका विरामीहरुलाई आवश्यक पर्ने रगत निशुल्क उपलब्ध गराउने गरी ब्लड बैकको शुभारम्भ गरेको छ । नगरपालिकाका प्रमुख कुन्साङ लामाले एक कार्यक्रमका बीच ब्लड बैकको शुभारम्भ गरेका हुन् ।

२०७९ चैत्र १५ गते बागमती प्रदेश सरकारले तयार गरेको कार्यविधी अनुसार स्वास्थ्य कार्यालय काभ्रेले जिल्लाका दुई अस्पताल धुलिखेल र मेथिन्कोटमा भर्ना भएका विरामीहरुका लागि आवश्यक पर्ने रगत निशुल्क उपलब्ध गराउन सम्झौता गरेको थियो । धुलिखेलमा उक्त सेवा तत्कालै शुरु भए पनि मेथिन्कोट अस्पतालमा भने ब्लड बैकका लागि आवश्यक पर्ने पूर्वाधार नभएका कारण शुरु हुन सकेको थिएन । चालु वर्षको ६ महिना पछि माघ १८ गते विहिबारबाट मेथिन्कोट अस्पतालमा भर्ना भएका विरामीहरुका लागि उक्त सेवा उपलब्ध गराउने गरी ब्लड बैक संचालनमा आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मधुकर दाहालले बताए ।
दाहालका अनुसार अस्पतालमा ओपिडी, आकस्मिक तथा अप्रेसन सहितको सेवा शुरु भएको छ भने डाईलोसिस सेवा पनि निरन्तर भईरहेको छ । दैनिक एक सय भन्दा धेरै विरामीहरुले सेवा लिईरहेको अस्पतालले आगामी फागुन ५ गते अस्पताल स्थापनाको अवसर पारेर सिटी स्क्यान मेशिन पनि संचालनमा ल्याउने तयारी गरेको छ । २०६६ साल फागुन ५ गते अस्पताल स्थापना भएको थियो । ब्लड बैक संचालनसँगै आकस्मिक रुपमा दुर्घटना भएका विरामीहरुका लागि तथा अन्य अवस्थामा विरामीहरुलाई सहज हुने भएको छ । डा.दाहालका अनुसार विरामीहरुका सबै प्रकारका रोगहरुको रगत परिक्षण तथा अन्य सेवा उपलब्ध गराउन शुरु गरिएको छ । कार्यक्रममा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद खनाल, संस्थापक अध्यक्ष उद्धव काफ्ले, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मधुकर दाहाल, वडा अध्यक्ष अर्जुनबहादुर कार्की लगायतले अस्पतालले दिएको सेवालाई अझै प्रभावकारी र गुणस्तरीय बनाउन आवश्यक समन्वय गरिने बताए । कार्यक्रम अस्पतालमा कार्यरत मथुरा सत्यालले संचालन गरेकी थिईन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगर प्रमुख कुन्साङ लामाले नमोबुद्द नगरपालिकाको मेथिन्कोटमा रहेको सरकारी अस्पतालको क्षमता बृद्धीसँगै जनशक्ति ब्यवस्थापनले आवश्यक सेवा र सुविधा तथा विरामीहरुका लागि आवश्यक पर्ने उपचार सेवालाई सहजीकरण गर्न स्थानीय सरकार तत्पर रहेको बताए । काभ्रेपलाञ्चोक जिल्लाका दुई अस्पतालमा उपचार गराउने विरामीहरुका लागि निशुल्क रगत उपलब्ध हुन थालेको छ । स्वास्थ्य कार्यालय काभ्रे मार्फत जिल्ला रक्तसंचार सेवा ब्यवस्थापन तथा सिफारिस समितिले बागमती प्रदेश सरकारको सहयोगमा उक्त सुविधा उपलब्ध गराउन शुरु गरेको हो । स्वास्थ्य कार्यालय काभ्रेका तत्कालिन प्रमुख डाक्टर पुरुषोतम सेढाईको अध्यक्षतामा सम्पन्न बैठकले २०७९ चैत्र १५ गते बागमती प्रदेश सरकारको निर्णय अनुसार कार्यविधिले तोके अनुसार काभ्रेपलाञ्चोक जिल्लामा रहेको धुलिखेल र मेथिन्कोट अस्पतालमा उपचारार्थ भर्ना भएका विरामीहरुका लागि आवश्यक पर्ने रगत निशुल्क उपलब्ध गराउने सम्झौता गरेको थियो । समितिका सदस्य सचिव सिता श्रेष्ठका अनुसार दुईवटा अस्पतालमा ब्लड ब्याग र रक्त परिक्षणका लागि लाग्ने आवश्यक शुल्क स्वास्थ्य कार्यालयले रेडक्रस काभ्रेको ब्लड बैकलाई उपलब्ध गराउनेछ । सोहि रकम प्रत्येक महिनामा एक पटक प्रतिवेदनका आधारमा नेपाल रेडक्रस सोसाईटीबाट उपलब्ध गराए पछि स्वास्थ्य कार्यालयले रकम भूक्तानी गर्नेछ । नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखामा रहेको ब्लड बैकमा पनि उक्त सुविधा उपलब्ध हुनेछ ।
ब्लड बैकले प्रयोग गर्ने ब्याग र परिक्षण शुल्कको रकम बागमती प्रदेश सरकारले उपलब्ध गराउने भए पछि रगत नभएर वा निशुल्क रगत दान गर्नेहरुबाट विरामीहरुले खरिद गर्नु पर्ने अवस्था अन्त्य हुने भएको छ । रक्तसंचार सेवा प्रदान गरे बापतको शुल्क निर्धारण, खर्च भुक्तानी लगायतका कार्य सहज, गुणस्तरीय र प्रभावकारी तथा ब्यवस्थित रुपमा संचालन गर्न गठित समितिले अनुगमन र निर्देशन गर्नेछ । सेवा उपलब्ध गराए बापत सबै खालका परिक्षण र रगत प्रति पाउण्ड १ हजार ५० रुपैयामा उपलब्ध हुनेछ ।