राज्य लुट्ने छुट दिन सकिन्नः उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कसैलाई पनि राज्यलाई लुट्ने छुन दिन नसकिने बताएका छन् । कुनै काम अघि बढाउने बित्तिकै राजनीतिक दलदेखि अन्य सम्मको दबाब आउने गरेको उल्लेख गर्दै उनले राज्य लुट्ने, अपराध गर्ने र जालसाझी गर्नेलाई जोगाउने काममा नलाग्न आग्रह गरेका हुन।
शुक्रबार पोखरामा गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले गल्ती गरेपछि कारबाही गर्न थाल्यो भने दबाब सुरु हुनेगरेको बताए । उद्योग व्यावसायीलाई त कारबाही गर्नु भएन नी हामीले कर तिरेका छौं भन्ने सम्मको दवाव आउने गरेको उनले बताए ।

उनले हरेक क्षेत्रमा केही काम अघि बढाउने बित्तिकै त्यही क्षेत्रको दबाब सुरू हुने बताए । कुनै अपराधिक काममा, ठगीको काममा, जालसाझीमा कोही राजनीतिक पृष्ठभूमिको मान्छे पक्राउ पर्‍यो भने पार्टीकै नेताहरु कराउन थाल्ने उनको भनाई छ ।

उनले कुनै पनि कर्मचारी र सुरक्षा अधिकारीहरु दृढतापूर्वक उभिनुपर्ने बताए । कुनै पनि बाञ्छित हस्तक्षेपबाट हच्किनु नपर्ने बताएका छन दृढतापूर्वक सामना गर्नका लागि उनको अपिल छ ।