समुदायको सेवा प्राथमिकतामा राखेको बुडोल सामुदायिकले मनायो रजत महोत्सव
बनेपा÷२५ वटा वचत शिर्षकबाट २६ हजार २ सय ३१ शेयर सदस्यबाट १ अर्ब ४७ करोड २२ लाख ४७ हजार २ सय ९० रुपैया बचत तथा १६ करोड ३३ लाख शेयर पुँजी संकलन गरी १६ वटा शिर्षकमा १ अर्ब ३० करोड ९४ लाख ३ हजार ६ सय ९७ रुपैया ऋण लगानी गरेको जिल्लाको ठुलो सहकारी बुडोल सामुदायिकले रजत महोत्सव कार्यक्रम आयोजना गरेको छ । संस्थाको कुल सम्पती १ अर्ब ८५ करोड ९५ लाख रुपैया पुगेको छ ।
बुडोल सामुदायिकले अघिल्लो वर्षको अन्त्यमा ७ करोड ३४ लाख ८४ हजार ६ सय रुपैया नाफा गरेको थियो । चालु वर्षको पौष मसान्तसम्म ५३ लाख ७२ हजार ४ सय ८० रुपैया मुनाफा गरेको छ । सदस्यहरुलाई १ लाख रुपैया बराबरको दुर्घटना बीमा, सदस्यको मृत्युमा परिवारलाई समवेदना पत्र सहित ३० हजार राहत सहयोग, बाल बचतकर्ताको हकमा ५ हजार सहयोग, जटिल रोग लागि उपचार गर्नु परेमा २० हजार राहत, बालबचतकर्तालाई ५ हजार सहयोग, विपदजन्य घटनामा परी बासको ब्यवस्था गर्नु परेमा २० हजार राहत, सुत्केरी भेटघाटमा १ हजार भत्ता र नवजात शिशुलाई खुत्रुके उपहार सहित सदस्यता वितरण, मातृत्व सुरक्षा बचत खाता खोली न्यूनतम १२ हजार बचत पुरा भएका सदस्यहरुलाई शल्यक्रिया गर्नु पर्ने अवस्था भएमा ५ हजार सुत्केरी उपचार खर्च सहयोग, नवदुलही भेटघाट र १ हजार बराबरको शेयर उपहार सहित सदस्यता प्रदान, जेष्ठ नागरिक सम्मान तथा तिर्थाटन कार्यक्रम, एसईई, बुसा शैक्षिक सम्मान तथा विशिष्ट ब्यक्ति सम्मान, प्रत्येक वर्ष कोपिला बालबचतकर्ताहरुलाई निशुल्क स्टेशनरी वितरण लगायतका सेवाहरु उपलब्ध गराउँदै आएको प्रमुख कार्यकारी अधिकृत विवेक ठकुरीले बताए ।
समुदायमा आधारित उक्त सहकारीको परिकल्पना नै सबल र सबोत्कृष्ट संस्था बनाउने रहेको छ । विभिन्न सहकारीसँग एकीकरण पश्चात जिल्लाभर कारोवार गर्ने अनुमती पाएको उक्त सस्थाले रजत महोत्सवको अवसर पारी बुसा सहकारी साधना सम्मानबाट संस्थाका सल्लाहकार, पुर्व अध्यक्ष एवं सहकारी अभियान्ता रामहरी केसीलाई नगद सहित सम्मान गरेको छ । त्यस्तै दुई दशक भन्दा धेरै सेवा गर्ने प्रमुख कार्यकारी अधिकृत विवेकराज ठकुरीलाई दिर्घ सेवा पदकबाट सम्मान गरिएको थियो । रजत महोत्सवमा आयोजना गरिएको निवन्ध लेखन प्रतियोगिताका विजयी बालबालिकाहरुलाई पुरस्कार वितरण गरिएको थियो भने बुसा शैक्षिक सम्मान र बुसा विशिष्ट सदस्य सम्मान गरिएको थियो ।
बचत, ऋण, शेयर खरिद, बाल बचतकर्ता,, संरक्षित पुँजी फिर्ता र उत्कृष्ट कर्मचारुकिा साथै संस्थापक तथा पुर्व संचालकहरुलाई सम्मान गरिएको थियो । सोहि अवसरमा संस्थाद्वारा प्रकाशन गरिएको बुसा रजत स्मारिका लोकार्पण गरिएको थियो । साथै संस्थाले राष्ट्रिय सहकारी महासंघ र नेफ्सकुनमा निर्वाचितहरुलाई बधाई तथा शुभकामना पत्र हस्तान्तरण गरेको थियो । २०५० साल कार्तिक २ गते विधिवत दर्ता भएको सहकारीका संस्थापक अध्यक्ष प्रभुनाथ कोईराला थिए । ६ सय रुपैयाबाट शुरु भएको सहकारी २०५७ सालसम्म गति लिन सकेन । २०५७ श्रावण १ गते आयोजित साधारण सभाबाट रामहरी केसीलाई अध्यक्षको जिम्मेवारी दिएर संस्थाले गति लिएको थियो ।
संस्थाका अध्यक्ष केलाश केसीले संस्थाको समग्र अवस्थाका बारेमा जानकारी गराउँदै सदस्यमुखी कारोवार र गतिविधिलाई केन्द्रित गरेको बताए । बागमती प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले बुडोल सामुदायिक राम्रा सहकारीहरु भित्र परेकाले त्यसको ब्यवस्थापन तथा अवस्थाबाट अन्य सहकारीहरुले सिक्नु पर्ने बताए । ‘समुदायमा आधारित सहकारीहरुमा अहिले पनि समस्या छैन’–मन्त्री महर्जनले भने–‘सहकारीबाट ऋण लिएर तिर्नु पर्दैन भन्ने मानसिकताको विकास हुन थाल्यो । सरकार बचत फिर्ता देउ मात्रै भनिरहेको छैन ऋण असुलीका लागि ऐन शंशोधन गर्ने तयारीमा जुटेको छ ।’ सरकारले कर मात्रै नलिने बताउँदै मन्त्री मर्हजनले आगामी वर्षबाट सहकारी शिक्षा, अनुगमन, नियमन तथा अन्य क्षेत्रमा खर्च गर्ने गरी कुल कर संकलनको १० प्रतिशत भन्दा धेरै रकम विनियोजन गर्ने तयारीमा रहेको बताए । सहकारीमा देखिएका समस्या समाधान गर्न सरकारले भर्खरै समिति गठन गरेको बताउँदै मन्त्री मर्हजनले ऋण असुल्नकै लागि सरकारले नीति परिवर्तन गर्न लागेको बताए । ‘कर्जा सुचना केन्द्र सचालनमा ल्याउने तथा सुरक्षण केन्द्र संचालन गर्ने, ऐन शंशोधन गर्ने, काठमाडौमा सहकारी रजिस्ट्रारको कार्यालय खोल्ने र सहकारीका नाममा बदमासी गर्नेहरुलाई कडा कारवाही गर्ने अभियानमा जुटेका छौं’–मन्त्री मर्हजनले भने–‘विगतमा सहकारीहरु दर्ता गर्ने तर अनुगमन नगरेकै कारण अहिले संकट देखिएको हो । सहकारी नियमन, अनुगमन र सहकारी शिक्षाका लागि बागमती सरकार प्रतिवद्ध छ ।’
रजत महोत्सव कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लिमिटेट नेपालका संचालक सुमन नेपाल, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, राष्ट्रिय सहकारी बैकका संचालक रामहरी बजगाई, बागमती प्रोस्कुनका कोषाध्यक्ष केशव दंगाल, जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्मा, काभ्रे जिल्ला बचत संघका अध्यक्ष उदयराम कायश्थ, बनेपा नगरपालिका वडा नम्वर १० का अध्यक्ष चन्द्रबहादुर खड्का, सहकारी अभियान्ता रामहरी केसी, विभिन्न सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, संस्थाका सल्लाहकार तथा संचालक, लेखा सुपरिवेक्षण तथा अन्य सदस्यहरु, विभिन्न क्षेत्रका ब्यक्तित्वहरुको सहभागिता रहेको थियो । उपाध्यक्ष प्रेमनाथ शर्मा कोईरालाले सहभागिहरुलाई धन्यवाद दिएका थिए । कार्यक्रम सह सचिव प्रकाश भुर्तेल र बरिष्ठ कार्यकारी अधिकृत रामकृष्ण राय क्षेत्रीले संचालन गरेका थिए ।
तस्बिरहरुः