फेरिएका कमरेडहरू
उषाकिरण
सबै रमाए,दियो सल्काए घर घरमा। भूँईमा खुट्टा थिएन,नाम्लो हँसिया खाटमुन्तिर फालेर म्याजिक चप्पलमा खुट्टा कोच्दै बाहिर चोकमा निस्क्यो। खोच्याउदै खोच्याउदै उभियो भिड नजिक। सुनौलो अक्षरले लेखिएको रंगीन गोलो घेरामा दीप प्रज्वलन गर्दै थिए। सबै खुसी थिए । सबैले म तिर पुलुक्क हेरे। हात झकार्दै अभिवादन फर्काए म तिर । मैले नमिलेको हातले जानी नजानी फर्काएँ। गहभरि आँसु भयो मेरो। थाम्न नसकेर लाकुरीको फेदमा छेल पार्दै मज्जाले खुशीले रोएँ। बल्ल सञ्चो भयो । यो संविधान दिवसको उत्सब थियो।
समय बित्दै गयो । चिलाउनेको स्याउला काट्दै टुक्रा पारेर भैंसी गोठ सजाउनु दिनचर्या हो मेरो । भैंसी मेरो साथी हो । दूध बेचेर शरीर जिउँदो राख्न आवश्यक खिर्चीमिर्ची जुटाउनु महान कर्तव्य हो।यूग परिवर्तनको दिन हो ,सबै रमाउदै थिए,रमाएका नि निकै बर्ष बितिसकेछ। खुसीका आँसु बगाएको नि निकै समय घर्केछ। त्यही चोकमा आज मानिस जम्मा भएका छ्न् ,दिपावली गर्न । संविधान दिवस मनाउन,मेरो मन भने पहिले जस्तो उस्तो प्रफुल्ल छैन,फुङ्ग रङ उडेको कपडा जस्तो,हावाले तितरबितर पारिएको बादल जस्तो ।
बूर्जुवा शिक्षाको बहकावमा किताब समाइएन । आफ्नो लागि रोजगारीको जोहो गरिएन । छोराछोरी सानै छ्न। बैंशमा पार्टी भनेर हिडियो । आँखाको ज्योती गुम्यो,चिम्से आँखा प्रष्ट देखिन्न। असबधानी भनौ आफ्नै कारणले बिहे ढिलो भयो । दाहिने गोडामा समस्या थियो । खोच्याउदै हिड्नु पर्थ्यो। गाउलेहरू मेरो अनुपस्थितमा फ्याङ्चे भन्थे ।
बैंशमा बल छँदा कमरेड भन्दै हिड्यौँ। बल सबै त्यतै ओइरिए। परिवर्तनका निम्ति ढाल बन्यो मेरो छाती। आज कसैले गन्दैन्न मलाई ,गनोस नि कसरी? परिवर्तनका लागि लडाइँ गरेको भनेर गर्व गर्दै भाषन गर्ने म नेता परिवर्तन गराएछु,कुर्सीको लडाईको लागि परिवर्तन गराएछु,महङ्गा गाडिमा सवार गर्ने बनाएछु। आफैले खाएको आफैले थाल माझ्नु पर्छ भन्ने कमरेडलाई भान्से नियुक्ती गर्ने बनाएछु,म बिचरा! जनवादी गीतहरू गाउने यी थुतुनाहरूलाई कोतरिरहेछु,गीत गीत मात्रै हो साँच्ची हैन रहेछ। राजनिती रील हो रियल होइन रहेछ ,बल्ल बुझेँ।
युद्धमा मारिएर गाडिएका चिहानहरूअझै शान्त भएको छैन। प्रेत आत्माहरूको गुञ्जायसले बेला बेला तर्साउँछ। बिगत बिर्सने चेष्टा गर्दैछु। हतियार सज्जित सेनासँग नडराउने हातहरू भन्दा नेताहरू ज्यादै कमजोर रहेछन् ,राजदुतसँग डराउँछ्न। गुमेका भनिएका भूभाग लिन डराउँछ्न। सत्ता प्राप्तिका लागि कुम मिलाउँछ्न रे भन्छन् ।
ऐस आराम गर्ने महामानवहरू अनुकूल व्याख्या हुने संविधान विचरा रुँंदै होला।कुर्सी जोगाउने र स्वार्थ लुट्ने बिधानको अर्थ के रहला र! अनावश्यक खुट्टा नभाचियोस मेरो जसरी,गर्नु पर्दैन कुरा सर्वहाराको। सर्वहाराको ढाड्मा टेकेर राज गरुला भन्दै होलान् ,पृय कमरेडहरू होसियारीमा रहनुस। बेला मौका भिख माग्न आउछ्न,चुनाव घोषणापछि। जिताएर पठाउनुस,बनोस मन्त्री अनि प्रधानमन्त्री। भराओस घरमा तक्मा र सम्मानका पत्रहरू, “यहाँहरूलाई शुभकामना ” यो भन्दा के पो भन्न सकिएला र!
काँचो दाउरा भुंग्रामा कोच्दै चाउरिएको गाला फुलाउँदै बाँसको ढुङ्ग्रोले बेस्कन खरानी उडाउँदै खाना बनाउँछु। खरानी उडेर आँखी भौँमा बिश्राम लिँदा ग्याँसको पाईप घर घरमा भन्ने नाराले लाज मान्दा हुन् । परीक्षा दिन जाँदा टाउकामा विद्यार्थीलाई राखेर हेडसरले खोला तार्दा पानी जहाजका परिकल्पनाकार लाजले भुतुक्क भएर बसेका होलान् भने हेडसरको मासिक भत्ताले (२००) ले आधा दर्जन साबुन आउँदैन भन्ने थाहा नपाउने शिक्षा मन्त्रीलाई लज्जाबोध पक्कै भएको छैन होला।
कमरेडहरूका सन्तान नि निजि स्कुल पढ्छ्न रे!सुनेको कुरा। निजिलाई बन्द र सरकारीमा पढाउछु भन्थे ! खै लेखनाथहरू कता गए? निजितिर पढाउने काम्रेडहरू सरकारीतिर अध्यक्ष बन्ने होड नि छोड्नु भा छैन भन्ने सुनेको मात्र हो। हिजोआज धेरै कम्रेडहरू ठेकेदार र उपभोक्ता समितिमा छ्न भन्ने सुनेको हूँ रेडियोमा। अझै म टिभी हेर्ने क्षमता बनाउन सकेको छैन। राष्ट्रिय प्रशारण लाईनमा एउटा रंगीन टीभी किनेर शहरका समृद्धि हेर्ने धोको छ मलाई। टिभी किन्न दूध बेचेर जोगाई राखेको छु दुई चार पैसा। हुन त महङ्गी नि नियन्त्रण भै सक्यो होला, गाको छैन धेरै भयो काठमाडौँमा। हिउँदमा जानुपर्ला। बर्षाले बाटाको निसाना नै मेटिदिएको छ।कतिपय हिलाम्मे बाटामा त रोपाई नि गरिसक्यो भन्ने सुनेको छु।
तुइन बिस्थापित गरेर झोलिङ्गे पूल र मोटरपूल बनेको छ रे। तार्लाङ तुर्लुङ झुन्डिएर दशैका खिर्ची मिर्ची लिन जानू छ।सिट त सम्झिने पानी…. भने जस्तै हो। आकाशमा उड्ने काम्रेडहरू एक पल्ट गाडिको छ्त अनि साना गाडिमा झ्याइँकुटी पारेर गाउँमा लाने रहर छ। सिलाबरको थालमा ढिँडो र गुन्द्रुकको एकल आइटम खुवाउने रहर छ।चकटीमा पलेटी मारेर बस्न बिर्सनु भो होला। हाम्रा तिर टेबल र कुर्सी त हुँदैनन।चम्चा काँटाको कुरा छाँडौ,चम्चा काँटाले खाने कुरा समेत हुन्न। सलादको त तरकारी बन्छ यता तिर। काँक्राहरू थालमा काटेर सजाईदैन्न सिङ्गै हुल्ने हो मूखभित्र ,कर्याम कर्यामको संगीतमा घुटुक्क निल्ने हो । काँक्राका पानी । पक्कै ठान्नुहुनेछ,जंगली असभ्य! बल्ल साइजमा आउनु भो । असभ्यहरूको मतले सभ्य बन्न सिकाउने मानवहरूले दानव बन्न पठाएका हैन्न नि। कार्यान्वयन गर्न नपर्ने संविधान दिवस मनाईरहेछौँ। तै पनि मुरिमुरि शुभकामना दिन पछि हट्न हुन्न।नत्र बाँच्न यहाँ गार्हो छ।