धुलिखेलमा शुरु भयो रेफ्रि तालिम
धुलिखेल, काभ्रे÷प्रदेश खेलकुद परिषद बागमतीका सदस्य सचिव सुर्यलाल भण्डारीले खेल र खेलकुदको विकासका लागि प्रदेश सरकारले पुर्वाधार निर्माणसँगै जनशक्ति उत्पादनलाई प्राथमिकता दिएको बताएका छन् । साथै कलाकारद्धय धुर्मुस र सुन्तलीले निर्माण शुरु गरी अलपत्र परेको चितवनको क्रिकेट रंगशाला निर्माणका लागि प्रदेश सरकारले ७० प्रतिशत र चितवन महानगरपालिकाले ३० प्रतिशत लगानी गरी निर्माण कार्य शुरु गरेको बताए ।
बागमती प्रदेश फुटबल संघको आयोजनामा प्रदेश खेलकुद परिषदको विशेष सहयोग तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा रेफ्रि प्रशिक्षण कार्यक्रममा बोल्दै सदस्य सचिव भण्डारीले खेलकुदसँग सम्वन्धित गतिविधिहरु तिब्र बनाउन अनुरोध गरे । मकवानपुरमा ठुलो धनराशीको गोल्डकप आयोजना हुँदै गरेको र त्यहाँ स्पोर्टस कम्प्लेक्स लगायतका पूर्वाधार निर्माण गर्न लागिएको उनले बताए । अन्य प्रदेश तथा संघ सरकारको तुलनामा बागमती प्रदेश सरकारले खेलकुद क्षेत्रमा धेरै लगानी गरेको सदस्य सचिव भण्डारीले बताए ।
अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले खेल्ने, खेलाउने र सिकाउनेहरु बीच समन्वय हुनु पर्ने बताए । ‘पृथ्वी र फुटबल उस्तै हो’–महासचिव राईले भने–‘रेफ्रिको भूमिका निश्पक्ष हुनु पर्छ । कसैले पनि प्रश्न उठाउने गरी खेललाई संचालन गरिनु हुँदैन ।’ एन्फाले खेलाडी उत्पादन तथा रेफ्रि उत्पादनमा ध्यान दिएको बताउँदै फुटबल प्रतिस्पर्धा नै विकास भएको महासचिव राईले बताए । अनुशासन खेलको पहिलो शर्त भएकाले एन्फाले त्यसमा कोहिसँग पनि सम्झौता नगर्ने बताए । ११ वटा जिल्लाका ४० जना रेफ्रि तालिमका लागि सहभागि भएका छन् । धुलिखेलमा ७ दिने आवासिय तालिमका लागि बागमती प्रदेश फुटबल संघले ब्यवस्थापन गरिरहेको छ । अध्यक्ष निरोज श्रेष्ठले रेफ्रि तालिमले खेल क्षेत्रको विकासका लागि सहयोग पुग्ने बताए । ‘आवासीय तालिमले रेफ्रिहरुको क्षमता विकास तथा ब्यवसायीक खेलका लागि महत्वपूर्ण सहयोग हुनेछ’–अध्यक्ष निरोज श्रेष्ठले भने–‘बागमती प्रदेशमा रेफ्रि प्रशिक्षण लगायतका अन्य कार्यक्रमहरु आयोजना गर्ने योजना बनाएका छौं ।’ प्रशिक्षणको ब्यवस्थापन प्रभात श्रेष्ठले गरिरहेका छन् ।
कार्यक्रममा अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष विकास नारायण श्रेष्ठ, जिल्ला खेलकुल विकास समितिका अध्यक्ष मानविर लामा, रेफ्रि संयोजक रविन्द्र खोँजु, प्रदेश फुटबल संघका उपाध्यक्ष बाबुराजा श्रेष्ठ, सिन्धुपाल्चोक जिल्ला अध्यक्ष अमृतमान श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । सहभागिहरुले रेफ्रिको क्षमता प्रशिक्षणले फुटबल खेलको थप विकास हुने बताए । तालिम माघ २१ देखि २७ सम्म आयोजना हुनेछ । रेफ्रि तालिम ब्यवहारीक र सैद्धान्तिक दुबै हुनेछ ।