१० वर्ष पछि वडाले दियो घरबाटो सिफारिस

बनेपा नगरपालिका वडा नम्वर ९ ले २०७० साल देखि सेवाग्राहीलाई दिनु पर्ने सिफारिस नदिएका कारण २०८० माघ ३ गते राति भक्तपुरबाट वडा अध्यक्षलाई घुस लिँदा लिदै अख्तियारले पक्राउ गरेको १८ दिन पछि २०८० माघ २१ गते कार्यवाहक वडा अध्यक्षले मालपोत कार्यालय काभ्रेलाई जग्गाको घर बाटो सिफारिस गरेकी छन् ।

बनेपा, काभ्रे/जिल्ला अदालत काभ्रेपलाञ्चोकले जग्गा दाखिला गर्न दिएको १० वर्ष पछि सेवाग्राहीले वडा कार्यालयबाट सिफारिस प्राप्त गरेका छन् । १० वर्ष देखि बनेपा नगरपालिका वडा नम्वर ९ ले सेवाग्राहीलाई सिफारिस नदिए पछि उनी अदालत, उच्च अदालत र अख्तियारसम्म पुगेका थिए ।
‘मेरो नाममा जग्गा दा.खा दर्ता गरी दिनु हुन काभ्रेपलाञ्चोक जिल्ला अदालतले मालपोत कार्यालय काभ्रेपलाञ्चोकलाई २०७० पुष ७ गते पत्र पठाएको थियो । मालपोत कार्यालय हुँदै नापी कार्यालयबाट कित्ताकाट भई सकेको अवस्थामा जग्गा दा.खाका लागि मालपोत कार्यालयले वडा कार्यालयले प्रदान गर्ने घरबाटो सिफारिस माग गरेको थियो’–सेवाग्राही वाङछु शेर्पाले भने–‘१० वर्ष देखि त्यहि घरबाटो सिफारिस लिन वडा कार्यालयमा धाउन थालेको थिएँ । २०८० माघ २१ गते वडा कार्यालयले घरबाटो सिफारिस दिएको छ ।’ तत्कालिन वडा अध्यक्ष नृपेश बादेले सिफारिसका लागि १५ लाख रुपैया घुस लिँदै गर्दा अख्तियारको टोलीले भक्तपुरबाट नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका बादेको अनुसन्धान जारी रहेको अख्तियारले बताएको छ । बादे निलम्वनमा परे पछि बरिष्ठताका आधारमा वडा अध्यक्षको कार्यवाहक जिम्मेवारी पाउनु पर्नेमा उमेरका आधारमा वरिष्ठ सदस्य गणेश सापकोटाको अध्यक्षतामा बसेको वडा समितिको बैठकले वडा सदस्य मनिषा तामाङलाई कार्यवाहक तोक्न कार्यपालिकामा पठाएको भन्दै कार्यपालिकाको बैठकले मनिषा तामाङलाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी दिएको थियो ।

 

‘कार्यवाहक वडा अध्यक्ष मनिषा तामाङसँग सिफारिसका लागि धेरै पटक पुगें’–वाङछुले भने–‘आफु अस्पष्ट रहेको बताउँदै उनले पनि धेरै समय सिफारिस दिन आनाकानी गरिन् । मैले उच्च अदालतको मानहानीको मुद्दा दर्ता गर्ने तयारी गरेको सूचना दिए पछि बल्ल वडाको सिफारिस पाईयो । त्यो पनि मलाई नदिकन नगर प्रहरी मार्फत मालपोत कार्यालय पठाईयो ।’ रामेछाप जिल्ला गुम्देल गाविस वडा नम्वर ४ घर भई हाल काठमाडौ जिल्ला काठमाडौ महानगरपालिका वडा नम्वर ६ बौद्ध बस्ने वाङछु शेर्पा र बनेपा नगरपालिका वडा नम्वर ४ दछुटोल घर भई हाल काठमाडौ जिल्ला काठमाडौ महानगरपालिका वडा नम्वर १० विजुली बजार बस्ने विश्वचन्द्र बादे श्रेष्ठ भएको लेनदेन विगो मुद्दामा काठमाडौ जिल्ला अदालतले २०६४ साल असोज १४ गते साँवा, ब्याज र कोट फि वापत समेतको विगो ७४ लाख ४५ हजार ७ सय ७६ रुपैया विश्वचन्द्र बादेको भागमा पर्ने जग्गा लिलाम गर्न २०७० जेठ १४ गते र मिति २०७० जेठ ३१ गते लिलाई चढाईएको थियो । दोश्रो पटक समेत कसैले पनि सकार नगरेकाले बादी वाङछु शेर्पा आफैले २०७० जेठ ३१ गते सकार गरेको हुँदा लिलाम मिति २०७० जेठ ३१ गते डाँक लिलाम भएको थियो । सोहि लिलाम अन्र्तगतको जग्गा किताकाट गरी दा.खा गर्ने क्रममा घरबाटो सिफारिस रोकिएको थियो । २०७० साल देखि २०७४ सालसम्म तत्कालिन वडा सचिवले सिफारिस दिएनन् भने २०७४ देखि २०७९ सम्म वडा अध्यक्ष शेरबहादुर सुवालले सिफारिस दिएनन् । २०७९ बैशाखमा निर्वाचित वडा अध्यक्ष नृपेश बादेले शुरु देखि नै पैसा मागेकाले अख्तियार पुग्नु परेको वाङछु शेर्पाले बताएका छन् । वाङछु शेर्पा र विश्वचन्द्र बादेको २०३७÷०३८ साल देखिको ब्यवसायीक सम्वन्ध थियो । उनले २०४६ सालमा लिएको ३७ लाख ८४ हजार ४ सय नगद फिर्ता नगरे पछि वाङछु अदालत पुगेका थिए ।

७ दिन भित्र पुर्जा उपलब्ध हुन्छ
मालपोत कार्यालय काभ्रेपलाञ्चोकले वाङछु शेर्पाको घर बाटो सम्वन्धी सिफारिस आईतबार प्राप्त भएको पुष्टी गरेको छ । ‘सिफारिस प्राप्त भएको छ । उच्च अदालतले सिफारिस प्राप्त भएको तीन दिन भित्रै पुर्जा उपलब्ध गराउन हाम्रा नाममा परमादेश जारी गरेको छ’–मालपोत कार्यालय काभ्रेका मुद्दा शाखामा कार्यरत लक्ष्मीप्रसाद पराजुलीले भने– ‘जग्गाको हाल साविक गर्नु पर्ने भएकाले केहि दिन लाग्न सक्छ । उच्च अदालतको म्याद भित्रै पुर्जा उपलब्ध गराउन कोशिश गर्नेर्छाै ।’ प्रकृयामा जाँदा पनि ७ दिन जति लाग्ने पराजुलीले बताए । कित्ताकाट भईसकेको जग्गाको हाल साविक हुन बाँकी रहेकाले तत्काल हाल साविक गरेर पुर्जा उपलब्ध गराउने गरी मालपोत कार्यालयले कार्य प्रारम्भ गरेको उनले बताए ।

नगर प्रमुख स्तरीय निर्णय
वडाबाट दिने घरबाटो सिफारिसका लागि नगर प्रमुख स्तरीय निर्णय भएको छ । २०८० माघ १९ गते नगर प्रमुख शान्तिरत्न शाक्यले तीन वर्टा शर्त राखेर वडा कार्यालयलाई सिफारिस गरि दिन निर्देशन दिएका थिए । वाङछु शेर्पालाई जग्गाको घरबाटो सिफारिस गर्दा आर्थिक ऐन, २०८० उल्लेख भए बमोजिमको सिफारिस दस्तुर लिएर सिफारिस गर्न अनुरोध गरिएको छ । कित्ता अनुसारका जग्गाहरुको सिफारिस दस्तुर ५ हजार रुपैया तिरेका वाङछुले मालपोत तथा सम्पती कर अझै तिर्न पाएका छैनन । साविक बनेपा ३ स्थित दछुटोलमा रहेको कित्ता नम्वर १७८, १८१, १९५, २२८, २२९, १९६, ६०३, २०२ र १०१ मध्ये वाङछु शेर्पाका नाममा कित्ताकाट भई जाने २०२ बाहेकका ८ वटा कित्ता छन् । कित्ता नम्वर ६०३ नम्वरको जग्गामा बाहेक सबै कित्तामा पक्कि मोटरबाटो भएको सिफारिसमा उल्लेख गरिएको छ । का.वा वडा अध्यक्ष मनिषा तामाङले माघ २१ गते घरबाटो प्रमाणितको पत्र मालपोत कार्यालय काभ्रेलाई नगर प्रहरी मार्फत पठाएकी हुन् ।

जेठमा उजुरी माघमा पक्राउ
२०८० जेठ १० गते वाङछु शेर्पाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका थिए । जेठमा दर्ता गरेको उजुरीको अख्तियारले कारवाही प्रकृया शुरु गरेको थियो । तर पनि वडा अध्यक्ष बादेले सिफारिस दिएका थिएनन् । उच्च अदालत पाटन पुगेर असोज २४ गते वाङछुले परमादेश लिएका थिए । १५ दिन भित्र सिफारिस दिनु भन्ने आदेशलाई पनि वडा अध्यक्ष बादेले टेरेनन् । बाध्य भएर अख्तियारको ढोकामा पुगेका वाङछु शेर्पाले छैटौ पटकमा वडा अध्यक्ष बादेलाई भक्तपुरमा १५ लाख रुपैया उपलब्ध गराएका थिए । त्यतिबेला अख्तियारको निगरानी थियो । बार्गेनिङ गरेको अमिन बापतको १ लाख अझै भुक्तानी गरिएको थिएन ।