राष्ट्रसेवक कर्मचारीहरुका लागि तनाव ब्यवस्थापन कार्यक्रमको दोस्रो चरण सुरु

जिल्ला स्थित राष्ट्रसेवक कर्मचारीहरुका लागि तनाव व्यवस्थापन कार्यक्रमको दोस्रो चरण सुरु भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेको आयोजनामा धुलिखेल स्थित पतञ्जलि, आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरमा कार्यक्रम भइरहेको हो । दोस्रो चरणको कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका अध्यक्ष दिपक गौतमको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम उद्घाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख गौतमले योग र साधना मार्फत तनाव व्यवस्थापन गर्न सकिने बताए । आफ्नो स्वास्थ्यलाई ध्यान नदिई कामलाई मात्रै प्राथकिमकतामा राख्दा स्वास्थ्यमा असर पर्ने उनले बताए ।

स्वास्थयमा असर पर्यो भने कामलाई समेत असर गर्ने भन्दै समन्वय समिति प्रमुख गौतमले तनाव नलिई कार्य सम्पादन गर्न, नागरिकलाई सेवा दिन राष्ट्रसेवक कर्मचारीलाई आग्रह गरेका छन् । उनले गुमाउनका लागि केहि पनि छैन, जित्नका निमिक्त सिंगो संसार बाँकी छ भन्ने भनाई स्मरण गरेका थिए । समस्यासँगसँगै समाधान पनि जोडिएर आउने भन्दै प्रमुख गौतमले समयमै समाधान गरेर तनाव व्यवस्थापन गर्न सुझाव दिएका छन । यस्तै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेपलाञ्चोककी प्रमुख डा.वशंवदा कौण्डिन्न्यायनीले ९० प्रतिशत शारिरिक मानसिक रोगहरु विचारका कारण उत्पन्न हुने बताइन् । चोटपटक दुर्घटना बाहेक अरु रोगहरु विचारका कारण उत्पन्न हुने उनको भनाई थियो । मानिस अहिले कहिल्यै अन्त्य नहुने भौतिक सुख सुविधाको होडमा दौडिरहेको डाक्टर कौण्डिन्न्यायनीको भनाई छ । कामको लागि मात्रै पनि जिवन होइन भन्ने सोच्न आवश्यक रहेकोमा उनले जोड दिइन् । जसले शारिरिक स्वास्थ्य, मानसिक स्वास्थ्यको जगेर्ना गर्न धेरै मदत गर्दैन त्यस्ता कार्यलाई एक दिनको लागि पनि थाती राख्न नसक्नु पनि रोगको कारक बन्न सक्ने उनको भनाई थियो ।

कर्मलाई योगको रुपमा गर्न उनको सुझाव छ । जीवनलाई नयाँ मोड दिनका लागि तनाव व्यवस्थापन जरुरी रहेको उनको भनाई थियो । कार्यक्रममा डा. विनोद घिमिरेले तनाव व्यवस्थापन बारे अभ्यास गराएका थिए । यस्तै कार्यक्रम सञ्चालन कृष्णप्रसाद पराजुलीले गरेका थिए भने स्वागत मन्तव्य प्रताप लामाले राखेका थिए ।
कार्यक्रमको दोस्रो चरण माघ २३ गतेसम्म चल्नेछ । वागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेको आयोजनामा कार्यक्रम भएको हो । यसअघि पहिलो चरण अन्तर्गत माघ १७, १८ र १९ गते तीन दिन तनाव व्यवस्थापन कार्यक्रम आयोजना गरिएको थियो ।