बेलर एकेडेमी बनेपामा एनसिसी तालिमको इभेन्ट प्रदर्शन (भिडियो सहित)

बेलर इन्टरनेश्नल एकेडेमी बनेपामा सिनियर डिभिजन तालिम एनसिसीको इभेन्ट प्रदर्शन गरिएको छ । विद्यालयमा एक कार्यक्रमका बीच इभेन्ट प्रदर्शन गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोला थापाको अध्यक्षतामा भएको कार्यक्रममा कालिजंग गण धुलिखेलका सेनानी सुदिप देउजा, प्रिन्सिपल इन्दु थापा, काभ्रे उद्योग वाणिज्य संघका उपाध्यक्ष कैलाश पलाञ्चोके, धनेश्वर आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिरुद्र थापा, एनसिसी शिक्षक अशोक राइ, संयोग ढकाल, दशरथ चन्द, इश्वर थापा, विद्यार्थी र अभिभावकको उपस्थिती रहेको थियो । सेनानी सुदिप देउजाले विद्यार्थीमा राष्ट्रप्रेम, नेतृत्व विकास, अनुशासन र जवाफदेहि बनाउन एनसिसी तालिम महत्वपुर्ण हुने बताए । सैन्य लगायत मानवीय र सामाजिक सेवाका बारेमा समेत विद्यार्थीलाई तालिम दिइएको उनको भनाई छ । एनसीसी तालिम अन्तर्गत विपद् व्यवस्थापन, सरसफाई तथा वातावरण लगायतका विषयमा समेत जानकारी गराइएको छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोला थापाले भविष्यलाई नजिकबाट नियाल्ने अवसरका रुपमा समेत तालिमलाई लिइएको बताए । जीवनमा केहि गरौं र केहि गर्न सकिन्छ भन्ने आत्मबल विकासका लागि तालिमले सहयोग पुर्याएको आफुले वुझेको उनको भनाई छ । उनले भने, विद्यार्थीलाई अक्षर चिनायौं अब मानिस चिन्न सिकाउँछौं ।

अक्षर चिनेर विभिन्न मुलुक घुम्ने तथा आयआर्जनमा लाग्न थाल्दा आफ्ना आफन्त र परम्परा भुल्न थालेको उनको भनाई थियो । भविष्य खोज्ने ध्यानमा आफ्नो घरपरिवार, समाज र देशलाई भुल्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन । मानिसले मानिसलाई चिन्नुपर्छ, देशलाई भुल्नु हुँदैन भन्ने सिकाइको लागि पनि तालिम महत्वपुर्ण छरहेको अध्यक्ष थापाले बताएका छन । विद्यालयले राम्रो उपहार तथा राष्ट्रलाई सन्देशको रुपमा तालिम लिइएको उनले बताए ।
यस्तै प्रिन्सिपल इन्दु थापाले विद्यार्थीलाई अनुशासित र जिम्मेवार बनाउनको लागि तालिम प्रभावकारी भएको बताइन् । उनले आगामी यात्रा सफलताको कामना समेत गरेकी छन् ।
सिनियर डिभिजनको तालिम गत भदौ १ गतेबाट सुरु गरिएको थियो । २०८० मा जिल्लाका पाँच विद्यालयमा जुनियर र दुई विद्यालयमा सिनियर डिभिजनको तालिम उपलब्ध गराइएको थियो । एक सय दिनको एनसिसी तालिम अन्तर्गत ७९ दिन विद्यालयमै सञ्चालन गरिएको थियो भने २१ दिनको तालिम ‘क्लोज क्याम्प’का रूपमा बर्दिबासमा हुनेछ ।
काभ्रेमा वार्षिक २ सय ५२ विद्यार्थीलाई यस्तो तालिममा सहभागी गराउदै आएकोकालिजंगा गणले जनाएको छ । जुनियर डिभिजनमा कक्षा ८ देखि १० सम्म तथा सिनियर डिभिजनका लागि कक्षा ११ र १२ का विद्यार्थी सहभागी गराउदै आइएको छ । तालिममा छनोट विद्यालयबाट १८ छात्र र १८ छात्रा डिभिजनमा सहभागी हुने छन् । गणले अहिले पनौती नगरका एसओएस बालग्राम, डिभाइन लाइट स्कुल, पुण्य माध्यमिक विद्यालय, धुलिखेलको सञ्जिवनी मावि, बनेपाको आदर्श विद्या मन्दिर र बेलर स्कुल तथा पनौतीको सामुदायिक विद्यालयमा जुनियर डिभिजनको तालिम सञ्चालन गरेको छ भने आदर्श विद्या मन्दिर र बेलरमा सिनियर डिभिजन तालिम भएको थियो । तालिममा प्रथम भएको विद्यालयका विद्यार्थीलाई विभिन्न मुलुक पठाउने गरिएको छ । नेपाली सेनाले हाल देशका ७७ वटै जिल्लामा यस सम्बन्धी तालिम विस्तार गर्दै वार्षिक सात हजार सात सय विद्यार्र्थीलाई तालिम उपलब्ध गराउँदै आएको छ । सरकार मार्फत सेनाले सात मित्रराष्ट्रसँग युवा विद्यार्थीको अनुभव आदान–प्रदान कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
भिडियोः