मुगु र डडेल्धुरामा आगलागीमा परी ४ जनाको मृत्यु

मुगु र डडेल्धुरामा आगलागी हुँदा ४ जनाको ज्यान गएको छ । मुगुमा आगलागी हुँदा एउटै घरका दाजुु–बहिनीको मृत्युु भएको हो । जिल्लाको खत्याड गाउँपालिका–२ गाडेखोलामा आइतबार राति १ बजे आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।

डीएसपी थापाका अनुसार स्थानीय लालु सञ्ज्यालको घरमा आगलागी हुँदा सञ्ज्यालका १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको मृत्यु भएको हो । आगलागीमा छोराछोरीको मृत्यु भएको तर आमा भने भागेर बाँच्न सफल भएको थापाले बताए ।

डडेल्धुराको अमरगढी नगरपालिकामा आगो ताप्ने क्रममा निसासिएर गए राति सासू–बुहारीको ज्यान गएको छ । ज्यान गुमाउनेमा अमरगढी–१ मालमका ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियाल रहेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी कुसुम नायकले जानकारी दिए । उनका अनुसार राति कोठामा आगोको कोइला ताप्ने क्रममा निसासिएर उनीहरूको ज्यान गएको खुलेको छ ।