प्रतिनिधिसभा सांसदहरुको विद्युतीय हाजिरी गरिने
प्रतिनिधिसभाका सांसदहरूको उपस्थिति दैनिक रूपमा सार्वजनिक गरिने भएको छ । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको सोमबारको बैठकले सांसदहरूको हाजिरी दैनिक रूपमा सार्वजनिक गर्ने निर्णय गरेको सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी दिएको छ ।
सभामुख घिमिरेले सांसदहरूको हाजिरी दैनिक रूपमा सार्वनिक गर्नुपर्ने प्रस्ताव राखेका थिए । उनले सांसदहरू संसद् बैठकमा उपस्थित हुन छोडेको भनेर हुने टिप्पणीको अन्त्य गर्नका लागि दैनिक रूपमा हाजिरी सार्वजनिक गर्नुपर्ने प्रस्ताव राखेका थिए । तेस्रो अधिवेशनदेखि प्रतिनिधिसभा बैठकको कार्यतालिका लागु गर्ने, विद्युतीय उपस्थिति तथा उपस्थिति विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने कार्यव्यवस्था समितिले निर्णय गरेको छ ।
प्रतिनिधिसभा बैठकको कार्यतालिका लागू भएपछि बैठकमा माननीयहरुको उपस्थिति र सहभागितालाई सहज हुने अपेक्षा गरिएको छ। गएको एक वर्षमा एउटामात्रै विधेयक पारित भएको विषयमा प्रश्न उठेका छन् । आगामी अधिवेशन ती सबै प्रश्नको समेत जवाफ दिने गरी परिणामुखी बनाउन सभामुखले अपिल गरेका छन।
संसद्का यसअघिका बैठक गणपूरक संख्या नपुगेर पटकपटक स्थगित गर्नुपरेको थियो । सांसदहरू हाजिरी गरेर संसद् बैठकबाट बाहिरिने गर्दा कुनै प्रस्ताव, प्रश्न निर्णयार्थ प्रस्तुत गर्दा गणपूरक संख्या नपुगेर रोकिने गरेका थिए । यस्तै प्रतिनिधिसभाले १५ फागुनसम्मको क्यालेन्डर स्वीकृत गरेको छ । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबारदेखि १५ फागुनसम्म बैठक बस्ने दिन र त्यस दिन संसदमा छलफल गरिने विषयसहितको क्यालेन्डर स्वीकृत गरेको हो ।