राष्ट्रिय सभा अध्यक्षमा माओवादीको दाबी रहन्छः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सभा अध्यक्षमा पार्टीको दाबी रहने बताएका छन् । संघीय संसद् राष्ट्रिय सभा र प्रतिनिधिसभामा रहेका सांसदहरूको संयुक्त संसदीय दलको बैठकमा दाहालले पहिलो दल भएको आधारमा पनि अध्यक्षमा दाबी रहने बताएका हुन् ।

फागुन २० पछि राष्ट्रिय सभामा माओवादी केन्द्र सबैभन्दा ठूलो दल बन्दैछ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल पनि फागुन २० मै सकिन लागेको छ । फागुन २९ मा राष्ट्रिय सभा अध्यक्षको निर्वाचन गर्ने क्यालेन्डर सार्वजनिक गरिएको छ ।

 

यसै सन्दर्भमा माओवादी केन्द्रको आइतबार र सोमबार गरी दुई दिन बसेको संसदीय दलको बैठकमा बोल्ने सांसदहरूले राष्ट्रिय सभा अध्यक्ष कांग्रेसलाई छोड्न नहुने धारणा राखेका थिए । राष्ट्रिय सभामा माओवादी केन्द्र ठूलो दल बन्न लागेको र सत्ता गठबन्धनमा भएको समझदारीअनुसार प्रधानमन्त्रीबाट दाहालले राजीनामा दिनुपर्ने हुँदा अध्यक्ष छोड्न नहुने तर्क राखेका हुन् ।

सांसदहरूका कुरा सुनेपछि अध्यक्ष तथा प्रधानमन्त्री दाहालले राष्ट्रिय सभा अध्यक्षमा पार्टीको दाबी रहने बताएको माओवादी केन्द्रकी सचेतक रूपा सोसी चौधरीले जानकारी दिइन् ।

प्रधानमन्त्री दाहालले राष्ट्रिय सभा अध्यक्ष पार्टीले पाउनुपर्ने विषयमा गृहकार्य गरिरहेको सांसदहरूलाई बताएका थिए । सत्तारुढ गठबन्धनका अन्य राजनीतिक दलहरूसँग पनि उक्त विषयमा छलफल भइरहेको कुरा दाहालले संसदीय समितिमा जानकारी दिएका थिए ।

सांसदहरूले माओवादी केन्द्रलाई गठबन्धनको मुख्य घटक कांग्रेसले पटक(पटक धोका दिएको भन्दै राष्ट्रिय सभा अध्यक्ष छोड्न नहुने धारणा राखेका थिए । प्रधानमन्त्री दाहालले संसद्‍मा सरकारले आवश्यक विधेयक ल्याउने र तिनलाई पास गर्नका लागि भूमिका खेल्न सांसदहरूलाई भनेका छन ।