धुलिखेल–खावा सडकः काम सुस्त भएपछि ठेक्का तोड्ने तयारी
काभ्रे – अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडक खण्ड विस्तारको काम सुस्त भएपछि सरकारले ठेक्का तोड्न प्रक्रिया अघि बढाएको छ । चार किलोमिटर लामो धुलिखेल–खावा सडक खण्ड विस्तारको काम सम्झौताको झन्डै दुई महिना समय बाँकी रहँदा सरकारले ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको हो ।
सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवा प्रालिबीच २२ महिनामा सडक खण्ड विस्तार एवम् स्तरोन्नतिको काम सक्ने गरी २०७९ साल जेठ २० गते सम्झौता भएको थियो । तर कम्पनीले सम्झौताअनुसार काम नगरेर अलपत्र पारेपछि ठेक्का तोड्न लागेको कार्यालयले जनाएको छ । पटक–पटक लिखित तथा मौखिक ताकेता गर्दा पनि निर्माणको काम बीचमा छाडेर कम्पनी सम्पर्कविहीन भएको कार्यालयले निकालेको सूचनामा उल्लेख छ ।
कम्पनीले आउँदो चैत १९ गतेसम्म काम सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो । व्यवसायीसँग २० करोड १९ लाख ४६ हजार रुपैयाँमा ठेक्का सम्झौता भएकोमा कार्यालयले ठेक्का तोडेर कार्यसम्पादन जमानतबापतको रकमसमेत जफत गर्ने योजना बनाएको छ । साथै बाँकी काम सम्पन्न गर्न लाग्ने लागतसमेत यसै निर्माण कम्पनीबाट असुल गर्ने कार्यालयले जनाएको छ ।
सूचनामा ठेक्का नतोड्नुपर्ने कुनै पनि कारण भए सात दिनभित्र स्पष्टीकरण पेस गर्न पनि कार्यालयले निर्माण कम्पनीलाई समय दिएको छ ।
निर्धारित समयमा काम सम्पन्न गराउन जिल्लास्तरमा सरोकारवालाको पटक–पटक छलफल भए पनि ठेकेदार कम्पनीले काम गर्न आलटल गर्दै आइरहेको थियो । समयमै काम सम्पन्न नहुँदा घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुँदा यस सडक भएर आवतजावत यात्रा गर्ने यात्रुले सास्ती खेप्दै आइरहेका छन् भने दैनिकजसो दुर्घटना हुने गरेको छ ।
काभ्रेपलाञ्चोकको पूर्वी–उत्तरी क्षेत्र अर्थात् उत्तरीनाका तातोपानी पुग्न अरनिको राजमार्ग हुँदै जाने गरिन्छ । यस्तै सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायतका विभिन्न ठाउँबाट आवतजावतका लागि यही सडक प्रयोग हुन्छ ।
चार महिनाअघि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुला भएपछि उक्त राजमार्गका सवारी चाप बढ्न थालेको छ । हाल कोटेश्वरबाट अरनिको राजमार्ग हुँदै लामो दूरीका सवारीमात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेका छन् भने दैनिक दुई हजार पाँच सय मालवाहक सवारी गुड्ने गर्दछन् ।