महाभारत गाउँपालिकाको देविटारबाट ताल्ढुंगा हुँदै हेटौंडासम्म बस सेवा सुरु

काभ्रेको डाँडापारी क्षेत्र प्रदेश राजधानी हेटौंडासँग सडक सञ्जालमा जोडिएको छ । आजबाट वस सेवा सुरु भएसँगै निरन्तरको प्रयासपछि डाँडापारीवासीको सपना साकार भएको हो । परिक्षणको रुपमा आजबाट बस सेवा सञ्चालन गरिएको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिएका छन ।

उनका अनुसार महाभारत गाउँपालिकाको केन्द्र देविटारदेखी जनमुक्ति मार्गको घर्तिछाप-गोकुले-धाप हुँदै खानीखोला गाउँपालिकाको जगथली-आपटार-तालढुंगा-भोर्लेनी-झुरझुरे स्थित मदनभण्डारी राजमार्गबाट हेटौडासम्म बस सेवा सञ्चालन हुन लागेको हो । देविटारबाट विहान ७ः३० बजे हेटौंडाका लागि बस छुट्ने छ । यस्तै हेटौंडाबाट विहान १० बजे देविटारका लागि बस छुट्ने गरी समय तोकिएको छ । यो निर्णयसँगै महाभारत र खानीखोलावासी खुसी भएका छन । उनीहरुले १२ महिनानै सहज रुपमा यातायात सञ्चालन हुने व्यवस्था मिलाउन समेत अधिकतम पहल गर्न आग्रह गरेका छन । देविटारबाट प्रदेशराजधानी हेटौंडासम्म सिधा बस सेवा सुरु भएसँगै जिल्लाको विकट मानिने डाँडापारी क्षेत्रमा खुसीयाली छाएको छ ।

यसैबिच बिपी लोकमार्गलाई प्रदेश राजधानी हेटौँडासँग जोड्नका लागि ‘जनमुक्ति मार्ग’ अन्तर्गत विभिन्न सडक खण्डको स्तरोन्नति तथा कालोपत्रे गर्ने कामलाई तीव्रता दिइएको छ। प्रदेश राजधानीसम्म सडक मार्ग जोडी छोटो दुरीमा हेटौँडा पुग्नका लागि जनमुक्ति मार्ग अन्तर्गत हाल तीन चरणमा सडक स्तरोन्नति र कालोपत्रे गर्ने कार्य अघि बढाइएको छ ।

पहिलो चरणमा पिन्थली-रजबास-भूमिचूली-बुढाखानी तीनखुट्टे सडक स्तरोन्नति तथा कालोपत्रे, जनमुक्ति मार्ग अन्तर्गत नै महाभारत गाउँपालिकाको तीनखुट्टेदेखि गाउँपालिकाको केन्द्र देविटारसम्मको सडक कालोपत्रे र महाभारत गाउँपालिकाको केन्द्र देविटारदेखि घर्तीछाप गोकुलेसम्मको सडक स्तरोन्नति तथा कालोपत्रेको काम समेत सुरु भएको छ ।

 

जनमुक्ति मार्ग अन्तर्गत जिल्लाको खानीखोला गाउँपालिकाको केन्द्र तालढुङ्गादेखि मकवानपुरको सिमाना सिक्रे दोभानसम्मको सडक स्तरोन्नति तथा कालोपत्रेका लागि स्रोत सुनिश्चितता भएको जनाइएको छ । केहि समयअघि मात्रै उक्त मार्गमा पर्ने पक्कि पुल र कालोपत्रे सडकको शिलान्यास गरिएको थियो ।