त्रिविको उपकुलपति नियुक्तिमा ढिलाइ, निमित्त उपकुलपतिको म्याद पुनःथप

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई संयोजकत्वमा गठित समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिसमा ढिलाइ गरेको छ । गठन भएको ३ महिनासम्म पनि उपकुलपति छनोट तथा सिफारिस समितिले उम्मेदवारको नाम सिफारिस गर्न नसकेको हो ।
उपकुलपति नियुक्ति प्रक्रिया अघि बढ्न नसक्दा निमित्त उपकुलपति शिवलाल भुसालको जिम्मेवारी पुनः ३ महिनाका लागि थप गरिएको छ । शिक्षाध्यक्ष रहेका भुसाललाई गत कात्तिक १७ मा बढीमा ३ महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको थियो । माघ १७ मा पुनः निमित्तको अवधि थप गरिएको हो ।
त्रिविको उपकुलपति बन्न इच्छुक ४३ जनाले आवेदन दिएका छन् । आवेदन दिने म्याद सकिएको १५ दिनसम्म पनि उनीहरूको सर्टलिस्ट सार्वजनिक हुन सकेको छैन । छनोट तथा सिफारिससम्बन्धी कार्यविधिमा आवेदन दिनेको कार्ययोजना र सोचपत्र मूल्यांकन गरी सर्टलिस्ट सार्वजनिक गर्ने उल्लेख छ । कार्ययोजना र सोचपत्र विज्ञहरूबाट मूल्यांकन गराउने काम बाँकी नै रहेकाले सर्टलिस्ट सार्वजनिक हुन नसकेको शिक्षा मन्त्रालय उच्च शिक्षा महाशाखाका सहसचिव श्रीप्रसाद भट्टराईले बताए ।
आवेदकको सोचपत्र र कार्ययोजना विज्ञबाट मूल्यांकन भइरहेको सिफारिस समितिले जनाएको छ । ‘सोचपत्र र कार्ययोजना कोडिङ, डि–कोडिङ गरेर छुट्टाछुट्टै विज्ञबाट मूल्यांकन गरिराखेका छौं,’ समितिका एक अधिकारीले भने, ‘एउटा सोचपत्र र कार्ययोजना ३ जनाबाट परीक्षण गराएर उनीहरूले दिएको अंकको औसत अंकमध्ये उत्कृष्ट १५ जनाको सर्टलिस्ट सार्वजनिक गर्छौं ।’ सर्टलिस्टमा परेकाहरूको अन्तर्वार्तासहित सोचपत्र र कार्ययोजनाको प्रस्तुतीकरणपछि ३ जनाको नाम कुलपति तथा प्रधानमन्त्रीलाई सिफारिस गर्ने कार्यविधिमा उल्लेख छ । समितिले आग्रह गरेका कतिपय विज्ञले मूल्यांकनमा सहभागी हुन अस्वीकार गरेका कारण पनि ढिलाइ भएको समितिका अधिकारीको भनाइ छ । मन्त्रालयले मूल्यांकनमा सहभागी विज्ञहरूको नामसमेत गोप्य राखेको छ । मूल्यांकनमा सहभागीहरूका लागि शिक्षा मन्त्रालयमा गोप्य कोठाको व्यवस्था गरेर कार्ययोजना र सोचपत्रको परीक्षण गराइएको एक कर्मचारीले बताए ।
उपकुलपति पदमा नारायणप्रसाद बेलबासे, वेदनाथ शर्मा, भीमसेन देवकोटा, सूर्यबहादुर थापा, महानन्द चालिसे, शुभनारायण पाठक, विनयकुमार झा, लेखनाथ शर्मा, ज्ञानेन्द्रप्रसाद पौड्याल, गुणनिधि न्यौपाने, चन्द्रमणि पौडेल र नारायणप्रसाद चापागाईंले आवेदन दिएका छन् । त्यस्तै ऋदिशकुमार पोखरेल, अक्कलदेव मिश्र, आनन्दवल्लभ जोशी, टंकनाथ धमला, सञ्चय आचार्य, कुसुम शाक्य, गोविन्द सुवेदी, संगीता रायमाझी र विनोद पराजुलीको पनि आवेदन परेको छ । केदारनाथ घिमिरे, देवबहादुर खड्का, शिवलाल भुसाल, रामचन्द्र बस्नेत, केशवराज पाण्डे, तीर्थराज खनियाँ, केशरजंग बराल, महेन्द्रप्रसाद आचार्य, चित्रबहादुर बुढाथोकी, कृष्णराज तिवारीले पनि आवेदन दिएका छन् ।
शिक्षा मन्त्रालयका अनुसार हेमराज पन्त, भोजराज अर्याल, प्रकाश घिमिरे, त्रिरत्न बज्रचार्य, इन्द्रबहादुर कार्की, राजकुमार पोखरेल, नन्दबहादुर सिंह, एकराज ओझा, रामप्रसाद रेग्मी, बालमुकुन्द रेग्मी, नवराज देवकोटा र प्रमोदकुमार झाको पनि आवेदन परेको छ । शिक्षामन्त्रीको अध्यक्षतामा त्रिविसभाका दुई जना सदस्य रहेको छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा कुलपति तथा प्रधानमन्त्रीले उपकुलपति नियुक्ति गर्ने व्यवस्था ऐनमा छ । प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिविमा प्रतिस्पर्धाका आधारमा उपकुलपति नियुक्त गर्ने घोषणा गरेपछि सिफारिस समितिले कार्यविधि जारी गरेर दरखास्त आह्वान गरेको थियो । समितिमा शिक्षा सचिव सुरेश अधिकारी र त्रिविसभा सदस्य उपप्राध्यापक चन्द्रकला घिमिरे सदस्य छन् ।
प्रतिस्पर्धाका आधारमा उपकुलपति नियुक्तिको प्रक्रिया अघि बढे पनि नियुक्तिमा ढिलाइ भएको भन्दै त्रिविका प्राध्यापकहरूले भने असन्तुष्टि जनाएका छन् । त्रिविमा शिक्षाध्यक्ष, रजिस्ट्रार, सेवा आयोगका पदसमेत रिक्त छन् । उपकुलपतिको सिफारिसमा कुलपतिले शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त गर्ने व्यवस्था छ ।यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।