संघीय संसद्का महासचिव पाण्डेयले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं /संघीय संसद्को महासचिवमा नियुक्त पद्मप्रसाद पाण्डेयले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभामुख देवराज घिमिरेले संघीय संसदको लोत्से हलमा पाण्डेयलाई शपथ ग्रहण गराएका हुन् ।
सो कार्यक्रममा सभामुख इन्दिरा राना, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङलगायतको उपस्थिति रहेको थियो । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को महासचिवमा पाण्डेयलाई नियुक्त गरेका थिए ।
मंसिर २५ गते पाण्डेयलाई महासचिवका लागि राष्ट्रपतिसमक्ष प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभा अध्यक्षले संयुक्त सिफारिस गरेका थिए । तर, दोहोरो नागरिकतासम्बन्धी विवाद आएपछि पाण्डेयको नियुक्तिमा ढिलाइ भएको थियो ।
राष्ट्रपति कार्यालयले समेत पाण्डेयको नागरिकताको विवादबारे उल्लेख गर्दै नियुक्तिमा ढिलाइ गरिरहेको थियो । त्यसपछि माघ ३ मा नियुक्तिका लागि सभामुख र राष्ट्रिय सभाका अध्यक्षले पुन राष्ट्रपतिसमक्ष स्मरणपत्र पठाएका थिए । पाण्डेय सिफारिस हुँदा संसद्को सचिव पदमै कार्यरत भएको भन्दै महासचिव नियुक्त गर्न नमिल्ने अडान राष्ट्रपति कार्यालयले राखेको थियो ।