पनौती–१ मा बालमैत्री वडा घोषणाको चौथो वार्षिकोत्सव भव्य रुपमा मनाइयो
पनौती नगरपालिका वडा नम्बर १ मा बालमैत्री वडा घोषणाको चौथो वार्षिकोत्सव भव्य रुपमा मनाइएको छ । पनौती नगरपालिका वडा नम्बर १ का कार्यवाहक वडा अध्यक्ष केदारप्रसाद सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै उप–प्रमुख गिता बञ्जारा, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, बालमैत्री संपर्क व्यक्ति केशव बञ्जारा, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी तथा बालबालिकाहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख रामशरण भण्डारीले बालबालिकाको क्षमता अभिवृद्धि, नेतृत्व विकासका लागि बालमैत्री स्थानीय शासन अन्तर्गत सञ्चालित कार्यक्रम महत्वपुर्ण र प्रभावकारी भएको बताए । पछिल्लो समय आफ्नो परम्परा, पेशा, संस्कृति विर्सने जोखिम बढ्दै गएको भन्दै नगर प्रमुख भण्डारीले समुदायप्रती बालबालिकालाई जिम्मेवार बनाउन समेत कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् ।
यस्तै उप–प्रमुख गिता बञ्जाराले बालबालिकाहरु आफ्नो लागि आफै योजना बनाउन थालेको भन्दै खुसी व्यक्त गरिन् । बाल अधिकारको लागि नगरपालिका विभिन्न कार्यक्रम सहित घर बस्तीमा पुगेको उनको भनाई थियो । बालबालिकामा गरिएको लगानी नै भोलीको भविष्य रहेको भन्दै उनले कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाएकी छन् ।
बालमैत्री संपर्क व्यक्ति केशव बञ्जाराले २०७५ साउन २१ गते पनौती नगरपालिका वडा नम्बर १२ काभ्रे जिल्लाको पहिलो बालमैत्री वडा घोषणा भएको स्मरण गर्दै पनौती नगरपालिकालाई जिल्लाकै पहिलो बालश्रममुक्त नगरपालिका बनाउने अभियानमा रहेको बताए । पनौती नगरपालिका १ नम्बर वडा २०७६ माघ २५ गते बालमैत्री वडा घोषणा भएको थियो ।
कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर १ का बालमैत्री सहजकर्ता तुल प्रसाद सापकोटाले बालमैत्री गतिविधिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले बालमैत्री नगर÷वडा दिगोपनाका लागि ५१ वटा सुचकमा रहेर वार्षिक कार्ययोजना बनाइ काम गर्दै आएको बताए । वडा नम्बर १ मा १८ वर्ष मुनीका बालबालिकाको संख्या १ हजार ८ सय ३५ जना रहेको छ । बाल समुह गठन÷पुर्नगठन, योजना छनौट र प्राथमिकीकरण, खानेपानीको मुहान सरसफाई, अभिमुखीकरण एवं अन्तरक्रिया कार्यक्रम, क्षमता विकास कार्यशाला लगायतका कार्य गरिएको उनले जानकारी दिएका छन । बालमैत्री गतिविधिका कारण बालविवाह शुन्य भएको, बाल प्रेम भागी विवाहमा कमी आएको, जन्मदर्ता ३५ दिनभित्र गर्ने चलन बढेको, गर्भवती, सुत्केरी, आमा र नवजात शिशुको स्वास्थ्य परिक्षण सुचक अनुरुप हुँदै आएको उनको भनाई छ । कार्यक्रममा स्वागत मन्तव्य वडा सचिव भीमप्रसाद दाहालले राखेका थिए भने शान्ति निकेतन मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामचन्द्र सापकोटा, बालबालिकाको क्षेत्रमा कार्यरत शिशिर सापकोटा लगायतले बालबालिकाको क्षेत्रमा भइरहेका काम बारे धारणा राखेका थिए । सोही अवसरमा वडा नम्बर १ निवासी रोनिश श्रेष्ठलाई सम्मान गरिएको थियो ।
उनी बंगलादेशमा आयोजित खुल्ला अन्तराष्ट्रिय बंगबन्धु प्रतियोगिता अन्तर्गत तेक्वान्दो स्पाइरिङमा स्वर्ण पदक तथा पोम्सेमा कास्य पदक प्राप्त गर्न सफल भएका थिए । यस्तै एलिसा तामाङ, करुणा तामाङ र साजन तामाङलाई पनि सम्मान गरिएको छ । विभिन्न प्रतियोगितामा सहभागी उत्कृष्ट विद्यार्थीलाई पनि सम्मान गरिएको छ ।






