सर्वोच्च अदालतको फैसला लत्याउँदै चौरीदेउरालीमा ‘जनयुद्ध’ दिवस विदा
काभ्रे । चौरीदेउराली गाउँपालिकाले फागुन १ गते जनयुद्ध दिवसको उपलक्ष्यमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । माघ २२ गतेको गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार फागुन १ गते जनयुद्ध दिवसको दिन गाउँपालिकाको कार्यालय अन्तर्गतका सम्पुर्ण विद्यालयहरु स्वास्थ्य संस्थाहरु लगायतका सरकारी, गैरसरकारी बैंक तथा वित्तिय संस्थाहरुमा विदा दिने निर्णय भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु चौलागाँईद्धारा जारी सुचनामा उल्लेख छ ।
पालिकाले सर्वोच्च अदालतको फैसला विपरित जनयुद्ध दिवसको दिन विदा दिएको भन्दै चौतर्फी आलोचना भएको छ । चौरीदेउराली गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट निर्वाचित रेणुका चौलागाँई अध्यक्ष छिन् भने कांग्रेसबाट निर्वाचित शेरबहादुर लामा उपाध्यक्ष छन् । पालिकाको उक्त निर्णयले सर्वोच्च अदालतको अवहेलना गरेको धेरैको वुझाई छ ।
सर्वोच्च अदालतले सरकारको ‘जनयुद्ध’ दिवसमा बिदा दिने निर्णय गत पुस १३ गते बदर गरेको थियो । सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलले गरेको फैसलाको पूर्ण पाठमा बिदा दिने निर्णय संविधानको व्यवस्था, मर्म, र मूल भावना प्रतिकूल रहेको उल्लेख छ ।
नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी) बीच भएको विस्तृत शान्ति सम्झौतामा ‘जनयुद्ध’ भन्ने शब्द नभई ‘सशस्त्र द्वन्द्व’ प्रयोग भएको, नेपालको संविधानमा जनआन्दोलन, सशस्त्र संघर्ष प्रयोग भए पनि ‘जनयुद्ध’ शब्द प्रयोग नभएको र संविधान निर्माणका क्रममा २०६६ पुस १० गते संवैधानिक समितिमा छलफल हुँदा ‘जनयुद्ध थप गर्ने भन्ने’ शब्द प्रस्ताव बहुमतबाट अस्वीकृत भएकाले पनि फागुन १ मा बिदा दिन नसकिने फैसलामा उल्लेख छ ।
सशस्त्र द्वन्द्व सुरु भएको दिनलाई उत्सवको रूपमा प्रस्तुत गरेर सरकारले पीडितलाई थप पीडा दिने र आक्रान्त बनाउने काम गरेको अदालतको ठहर छ ।
गाउँपालिकाको सुचनाः






