नेपाल प्रहरीमा १ हजार ८५ जनाका लागि भर्ना खुल्यो

काठमाडौं / नेपाल प्रहरीमा रिक्त रहेका विभिन्न पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न कूल १ हजार ८ सय ५ जनाको लागि नयाँ भर्ना दरखास्त आव्हान गरिएको छ। नयाँ भर्नामध्ये प्रहरी निरीक्षकमा १ सय ४९ जना, प्रहरी सहायक निरीक्षकमा ५ सय ८४ जना र प्राविधिक समूहअन्तर्गत विभिन्न उप-समूहतर्फ रिक्त प्राविधिक प्रहरी जवानमा १ हजार ७२ जनाका लागि दरखास्त आव्हान गरिएको हो।

प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी र सातै वटा प्रदेश प्रहरी कार्यालयहरूमा दरखास्त फारम पाइने र बुझाउन सकिने छ। यस्तै, प्राविधिक प्रहरी जवान पदका लागि महानगरीय प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज) र दिपायल तथा सबै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त फारम पाइने र बुझाउन सकिने छ।

नयाँ भर्ना हुन इच्छुक नागरिकहरुले माघ ५ गतेदेखि फागुन ११ गतेसम्म सम्बन्धित कार्यालयहरुमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन्। उक्त भर्नासम्बन्धी विस्तृत विवरणसहितको सूचना नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.npमा समेत राखिएको जनाइको छ।