बनेपा नगरपालिकाको अर्धवार्षिक समिक्षाः ६ महिनामा ३२ प्रतिशत बजेट खर्च

by | माघ २६, २०८०

बनेपा नगरपालिकाको अर्धवार्षिक समिक्षाः ६ महिनामा ३२ प्रतिशत बजेट खर्च

बनेपा नगरपालिकाको अर्धवार्षिक समिक्षा सम्पन्न भएको छ । बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्य, उप–प्रमुख विमला शर्मा, प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाँई, वडा अध्यक्षहरु, शाखा प्रमुख लगायतको उपस्थितीमा आर्थिक वर्ष २०८०÷८१ मा सम्पादीत कार्यक्रमहरुको अर्धवार्षिक समिक्षा भएको हो ।

 

आर्थिक वर्ष २०८०÷८१ को पहिलो ६ महिनाको अवधिमा बनेपा नगरपालिकाले ३२.४४ प्रतिशत रकम खर्च गरेको छ । चालु तर्फ ३६.५७ र पुँजीगत खर्च २८.२९ प्रतिशत रकम खर्च भएको हो । बनेपा नगरपालिकामा १ अर्ब ४२ करोड ९६ लाख २० हजार बजेट विनियोजन भएकोमा ४६ करोड ३८ लाख ७९ हजार ९ सय २२ रुपैयाँ मात्रै खर्च भएको छ । चालु बजेट ७० करोड, ५९ लाख ८ हजार बजेट रहेकोमा २५ करोड ८१ लाख ७५ हजार ५ सय ६१ रुपैयाँ खर्च भएको छ । यस्तै पुँजीगत बजेट ७१ करोड १२ लाख १२ हजार विनियोजन भएकोमा २० करोड ५७ लाख ४ हजार ३ सय ६० रुपैयाँ खर्च भएको छ ।


क्षेत्रगत रुपमा आर्थिक विकासतर्फ ८.०९ प्रतिशत, सामाजिक विकासमा ३३.५४ प्रतिशत, पुर्वाधार विकासमा ३४.५४ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धीत क्षेत्रमा २०.९३, कार्यालय सञ्चालन तथा प्रशासनीक खर्च ३२.४४ प्रतिशत खर्च भएको तथ्यांक सार्वजनिक भएको छ ।
वडास्तरीय बजेट कार्यान्वयनको अवस्था पनि निराशाजनक देखिएको छ । वडा नम्बर १० ले सबैभन्दा बढी चालुतर्फ ५४.५९ र पुँजीगत तर्फ ५८.०८ प्रतिशत खर्च गरेको छ । सबैभन्दा कम खर्च वडा नम्बर १३ मा भएको छ ।


समिक्षा गोष्ठीमा कानुन अधिकृत श्याम कृष्णा त्रिपाठीले न्यायीक समितिमा २५ वटा निवेदन दर्ता भएको जानकारी दिए । त्यसमध्ये ६ वटा फर्छ्यौट भएको छ । प्रशासन सहायक यादव खनालका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा जन्मदर्ता ३ सय ६२, मृत्युदर्ता, १ सय ६०, सम्बन्ध विच्छेद १९, विवाहदर्ता २०३, बसाइ सरी आएको ४८, बसाई सरी जाने २३ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।
जनस्वास्थ्य निरिक्षक महेश्वरकाजी श्रेष्ठले ६० वर्षमाथीका नगरवासीका लागि दन्त शिविर सञ्चालन गरिएको, हरेक महिना मानसिक स्वास्थ्य क्लिनिक सञ्चालन गरिएको जानकारी दिए । आधुनिक मौरीपालन तालिम, मौरीको घार वितरण, कौसीखेती तालिम, माटो जाँच तथा कृषि चुन वितरण लगायतका कार्यक्रम गरिएको नगरपालिकाले जनाएको छ ।


कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले गरेका कार्यहरु शाखा प्रमुख विजया सुवेदी, राजश्व शाखा र कृषि शाखाको राजश्व अधिकृत मोहनलाल श्रेष्ठ, शिक्षा शाखा प्रमुख देवराज निरौला, योजना शाखा प्रमुख एवं प्रधानमन्त्री रोजगार कार्यक्रमका योजना अधिकृत संगम भुजेल, पशुसेवा शाखाका रामसुन्दर सापकोटा, लेखा शाखा विनोद हुमागाँई लगायतले आफ्नो शाखा अनतर्गत भएका कार्यहरु जानकारी गराएका थिए ।