बनेपा–९ का वडाध्यक्ष नृपेश बादेविरुद्ध भ्रष्टाचार मुद्दा दायर

by | माघ २६, २०८०

बनेपा–९ का वडाध्यक्ष नृपेश बादेविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । १५ लाख रुपैयाँ घुससहित पक्राउ परेका बादेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा उनी गएको ३ गते घुस रकमसहित पक्राउ परेका थिए । आयोगको टोलीले अध्यक्ष बादेको साथबाट जापानी रुपैयाँ १० हजार र अमेरिकी डलर एक सय रुपैयाँ पनि बरामद गरेको छ ।

वडा अध्यक्ष बादेलाई २०८० माघ ३ गते बुधबार राति भक्तपुरबाट नेपाली रुपैया १५ लाख नगद, श्रोत नखुलेको जापानी ऐन १० हजार तथा एक थान डलर सहित अख्तियारको टोलीले पक्राउ गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका प्रवक्ता नरहरि घिमिरेले सोहि दिन विज्ञप्ती प्रकाशन गरी वडा अध्यक्ष बादेले घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा भक्तपुर ठिमी नगरपालिका वडा नम्वर ३ गठ्ठाघरबाट नियन्त्रणमा लिएको हो ।

के हो घर बाटो सिफारिस प्रयोजन ?
यो बुझ्नलाई धेरै अघि पुग्नु पर्छ । काठमाडौ जिल्ला अदालत, काभ्रेपलाञ्चोक जिल्ला अदालत, उच्च अदालत पाटन, मालपोत कार्यालय काभ्रेपलाञ्चोक, नापी कार्यालय काभ्रे लगायतका निकायबाट भएको निर्णय, फैसला कार्यान्वनका क्रममा २०७० पुष ७ गते देखि वडा कार्यालयमा सिफारिसका लागि पुगेका सेवाग्राही रामेछाप जिल्ला गुम्देल गाविस वडा नम्वर ४ घर भई हाल काठमाडौ जिल्ला काठमाडौ महानगरपालिका वडा नम्वर ६ बौद्ध महांकाल बस्ने ४७ बर्षिय वाङछु शेर्पा पछिल्लो पटक उच्च अदालतको १५ दिने परमादेश बोकेर २०८० साल असोज २४ गते बनेपा नगरपालिका वडा नम्वर ९ को कार्यालयमा पुगेका थिए । सेवाग्राहीलाई तथ्य, प्रमाण र मुलुकका आधिकारीक निकायले सिफारिस दिनु, नरोक्नु, रोक्नुपर्ने कुनै कारण छैन भनेर गरेको परमादेशलाई समेत अन्तिम अवस्थामा वडा अध्यक्ष नृपेश बादेले अस्विकार गरे ।
साविक दक्षुटोल गाविस वडा नम्वर ३ कित्ता नम्वर १७८, १८१, १९५, २२८, २२९, १९६, २०२, ६०३ र १०१ को जग्गाहरु मध्ये विश्वचन्द्र बादे श्रेष्ठको नाममा पर्ने जग्गा लिलाम गरी विगो भरी भराउ गर्न २०७० जेठ १४ गते र २०७० जेठ ३१ मा लिलाममा चढाउँदा समेत कसैले पनि लिलाम सकार नगरे पछि वाङछु शेर्पा आफैले सकार गरेका थिए । २०७० पुष ७ गतेको दा।खा।पुर्जी बमोजिम दा।खा दर्ता गरिदिनु पर्नेमा विपक्षी विश्वचन्द्र बादे लगायत, तत्कालिन समयका वडा सचिवहरु, वडा अध्यक्षहरुले दा।खा नगरी दिएका कारणले संविधानद्वारा प्रदत्त मौलिक हक र कानूनद्वारा प्रदत्त कानूनी हकमा गम्भिर आघात पुग्नुका साथै अपुरणीय क्षति समेत पुगेको भन्दै उच्च अदालत पाटनमा परमादेशका लागि शेर्पा पुगेका थिए । उच्च अदालत पाटनका न्यायाधीशद्वय राजेन्द्र खरेल र कृष्णराम कोईरालाले वडा कार्यालय, वडा अध्यक्ष, मालपोत कार्यालय काभ्रेपलाञ्चोक र विश्वचन्द्र बादे श्रेष्ठ विरुद्ध २०८० असोज २४ गते परमादेशको आदेश गरेका थिए । उक्त आदेश समेत वादेले मानेका थिएनन् ।