भब्य रह्यो ‘किन्डर ओलम्पिक’

by | माघ २७, २०८०

भब्य रह्यो ‘किन्डर ओलम्पिक’

गोमा थापा, बनेपा

‘जित्नु भन्दा सहभागिता महत्वपुर्ण छ’ भन्ने मुख्य उदेश्य सहित शनिबार बनेपाको पोलिटेक्निकल स्कुलको फुटबल मैदानमा जिल्लामा दोश्रो पटक तर ११ औ किन्डर ओलम्पिक समारोह भब्य भएको छ । समारोहको उद्घाटन बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले गरेका थिए ।

ओलम्पिक समारोहको उद्घाटन गर्दै नगर प्रमुख शाक्यले बालबालिकाहरुलाई जित्ने र हार्ने प्रतियोगिता भन्दा सहभागितामुलक प्रतियोगिताले क्षमता बृद्धीका साथै उनिहरुले सोच्ने र ज्ञान हासिल गर्न सहज हुने बताए । ‘विल्कुल फरक र नयाँ खालको सहभागिताबाट बालबालिकाहरुको क्षमता अभिबृद्धीमा पु¥याउनु भएको योगदानको कदर गर्दछु’–नगर प्रमुख शाक्यले भने–‘यस्ता ओलम्पिकहरु किन्डर भन्दा माथिल्लो तहका बालबालिकाहरुलाई पनि आवश्यक छ ।’ प्रतियोगितामा १९ विद्यालयका ५ सय ७२ जना बालबालिकाहरु सहभागि थिए । बालबालिकाहरुको हौसला प्रदान गर्न उनिहरुका अभिभावक, विद्यालयका प्रिन्सिपल तथा शिक्षकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

बालबालिकाहरुले मार्चपाससँगै स्वागत नृत्य एकै पटक प्रस्तुत गरेका थिए । साथै जुम्बा नृत्य, पिटिई, तेक्वान्दो लगायतका खेलहरु प्रर्दशन गरेका थिए । ओलम्पिकमा विभिन्न प्रकारका खेलुकदहरु राखिएका थिए । जसमा अधिकांश बालबालिकाहरुले सहभागिता जनाएका थिए । नयाँ, नौलो र बालबालिकाहरुको उत्साह भर्न सहजता दिने गरी आयोजना गरिएको ओलम्पिकमा सहभागि भएका बालबालिकाहरु सबैलाई प्रमाणपत्र, मेडल सहितको पुरस्कार उपलब्ध गराईएको थियो । कार्यक्रममा वडा नम्वर ८ की अध्यक्ष शुभलक्ष्मी मानन्धर लगायतको सहभागिता रहेको थियो ।
काभ्रे एकता समुहको आयोजनामा ‘किन्डर ओलम्पिक २०८०’ आयोजना गरिएको हो । बनेपाका फाईभ स्टार किन्डर विद्यालयका नेतृत्वकर्ता सविना कारंजित प्रजापति, अनिता प्रजापति, दिपा शिल्पकार, जुनु मानन्धर र नविना श्रेष्ठले किन्डर ओलम्पिकको निरन्तरता दिएका हुन् । ओलम्पिकमा जिल्लाका अर्किड, बेलर किडस क्यास्टल, काभ्रे सेकेन्डरी स्कुल, इशा मेमोरियल, प्रगति प्रभात, ज्ञानज्योती अंग्रेजी सेकेन्डरी स्कुल, पलिस्था, नाईटिङ्गेल र स्प्रिङ्ग हिल विद्यालयका विद्यार्थीहरु समुह ए मा छन् भने समुह वि मा डिस्कभरी मन्टेश्वरी, किडजोन मन्टेश्वरी, आरएमएस किन्डरगार्टेन, बेलर इन्टरनेशनल, इनोभेटिभ एकेडेमी, ग्रेसल्याण्ड, ज्ञानकुन्ज, मिराकल मन्टेश्वरी, काभ्रे सेकेन्डरी स्कुल ‘वि’ र वे टु विईज्डम गरी १९ विद्यालयका विद्यार्थीहरु सहभागि भएका थिए ।
२०६८ साल देखि अर्लिचाइल्डहुड एडुकेशन टिचर्स एशोसिएसनले राजधानीमा निरन्तर ओलम्पिक आयोजना गरिरहेको छ । ओलम्पिक आयोजक काभ्रे एकता समुहकी सदस्य सविना कारंजित प्रजापतिले सानै उमेरमा नानीबाबुहरुलाई खेलकुद प्रति उत्प्रेरणा प्रदान गर्ने, विभिन्न विद्यालयका साथीहरुसँग एकै ठाउँमा खेल्नका लागि खेल मैदान उपलध गराउन, बाबु नानीहरुको शारीरिक र सामाजिक विकासको लागि अवसर प्रदान गर्न तथा आर्थिक सामाजिक रुपमा पछि परेका तथा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाहरुका लागि कोष जम्मा गर्न ओलम्कि महत्वपूर्ण भएको बताईन् । ओलम्पिकमा नर्सरी कक्षाबाट १० जना, एलकेजी कक्षाबाट १४ जना र युकेजीबाट १६ जना गरी बढीमा ४० जना एउटा विद्यालयबाट सहभागि भएका थिए । ओलम्पिकमा सहभागि विद्यार्थीहरु मध्ये एउटा स्कुलका एक जना विद्यार्थीले उमेर समुह अनुसार पिक एण्ड ड्रप, ट्राभल रेस, नृत्य, पिटी, तेक्वान्दो, परेड तथा विभिन्न विद्यामा सहभागिता जनाएका थिए । बालबालिकाहरुले खेलको माध्यमबाट एक अर्कामा थाहा नपाउँदो तरिकाले प्रतिस्पर्धा गरेका थिए । सानैबाट खेलकुदको महत्व र समुह कार्यमा सहभागि हुने अवसर पाएका थिए ।

तस्बिरहरुः