रकम सापट लिने र फिर्ता गर्ने बेला ‘हनी ट्रयाप’ पार्ने महिला थुनामा, यादव र विष्णुलाई पक्राउ पुर्जी जारी

by | माघ २७, २०८०

रकम सापट लिने र फिर्ता गर्ने बेला ‘हनी ट्रयाप’ पार्ने महिला थुनामा, यादव र विष्णुलाई पक्राउ पुर्जी जारी

धुलिखेल, काभ्रे÷ आफै फकाएर बोलाउने अनि ‘हनी ट्रयाप’ अर्थात महिलासँग अनैतिक सम्वन्ध राख्न खोजेको बाहना बनाएर सर्वसाधारणलाई ठगी गर्ने गिरोहका केहि सदस्य पुर्पक्षका लागि जेल गएका छन् भने केहिलाई पक्राउका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोकले आदेश दिएको छ ।
नेपाल सरकार बादी र रमा कार्की समेत प्रतिवादी भएको ठगी मुद्दामा काभ्रेपलाञ्चोक जिल्ला अदालतले माघ २२ गते थुनामा राखेर थप अनुसन्धानका लागि आदेश गरेको छ । सूचना अधिकारी हिराकुमारी भण्डारीका अनुसार रमा कार्कीलाई थुनामा राख्न र उनिसँगै पक्राउ परेकी रमा कार्कीको दिदी रुपा कार्कीलाई धरौटीमा छाड्ने आदेश भएको छ । रुपा कार्कीलाई १ लाख ३० हजार धरौटी माग गरिएको थियो । उनिहरुसँगै धुलिखेल नगरपालिका वडा नम्वर १ घर भएका यादव घोरसाईने र साविक दामन गाविस वडा नम्वर १ घर भई परिवर्तित थाहा नगरपालिका वडा नम्वर ३ घर भई हाल ललितपुर महानगरपालिका वडा नम्वर २ बस्ने विष्णुबहादुर कार्कीलाई पक्राउ आदेश जारी भएको छ । रमा र रुपा उनै विष्णुबहादुर कार्कीका छोरीहरु हुन् ।
धुलिखेल घर भएका यादव घोरसाईने पटक पटक ठगी घटनामा पक्राउ परेका ब्यक्ति हुन् । केहि वर्ष अघि जेल समेत बसेर छुटेका यादवले पुनः जेलबाट छुटेर सोहि पेशा ब्यवसायलाई निरन्तरता दिएका थिए । उनले आफन्तका रकमहरु लिएर ठग्ने तथा विभिन्न मुलुक पठाउँछु भन्दै गिरोहका सदस्यहरुसँग मिलेर ठगी गर्दै आएका थिए । उनी आफ्नै आमाको निधन हुँदा समेत किरिया गर्न आएनन् । राजधानीमा लुकेर बसिरहेका यादवले आफै ठगी गर्दै आफ्नै गाली बेईज्जती भयो भन्दै विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई गाली बेईज्जती मुद्दा समेत दर्ता गरेका छन् । प्रहरीले खोज्दा फरार हुने यादव अदालतमा पुगेर भने मुद्दा दर्ता गराउँदै हिडेका थिए । जिल्ला प्रहरी कार्यालय काभ्रेले दर्ता गरेको ठगी मुद्दामा जिल्ला अदालत काभ्रेपलाञ्चोकले पक्राउ पुर्जी जारी गरेको हो ।
के हो घटना ?
धुलिखेल नगरपालिका वडा नम्वर २ घर भएका धुव्र्र प्रसाद घोरसाईनेलाई रमा कार्की र यादव घोरसाईनेले हनी ट्रयापको माध्यमबाट समेत थप ठगी गरेका थिए । ललितपुर महानगरपालिका वडा नम्वर २ बस्ने ३१ बर्षिया रमा कार्की समेत लेनदेन मुद्दामा लिखत बदर र जालसाझी मुद्दामा पक्राउ परेका थिए । २०८० साल भदौ ३१ गते धुर्व्र घोरसाईनेलाई दिनु पर्ने रकम दिन्छु आउनु भनेर ललितपुर जिल्ला अदालत अगाडी बोलाई ५÷७ जना ब्यीक्तहरु मिलेर बाटोमा हतियार समेत देखाई हातपात गरी मुद्दा फिर्ता लिन धम्कि दिएका थिए । विष्णुबहादुर कार्की, रमा कार्की र यादव घोरसाईनेले धुव्र्रप्रसाद घोरसाईनेसँग पटक पटक अमेरिका पठाउँछु भनेर लिएको नगद तथा सुनका गरगहना समेत गरी करिव डेड करोड ठगी गरेका थिए । अमेरिका पनि नपठाउने र पैसा पनि फिर्ता नदिने भए पछि धुर्व्र प्रसाद घोरसाईनेले जालसाझी र लेनदेन विषयमा मुद्दा दायर गरेका थिए । रमा कार्की लगायतले ग्लोबल आईएमई बैकको ५२ लाखको चेक दिएका थिए । सोहि दिन सोहि बैकको एटिएम कार्ड, तीन तोलाको सिक्री, आधा तोलाको औठी र दुई तोलाको ब्रासलेट समेत उनिहरुले धुर्वप्रसाद घोरसाईनेबाट लुटेर लगेका थिए । २०८० भदौ १० गतेका दिन उक्त घटना भए पनि घोरसाईनेले शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा निवेदन समेत दिएका थिए ।
ध्रुर्वप्रसाद घोरसाईने जस्ता थुप्रै ब्यक्तिहरुलाई यादव मार्फत रमा कार्की र उनका बाबु विष्णुबहादुर कार्कीले ठगी गरेका थिए । रमा र विष्णुका कारण उनको दिदी रुपा कार्की अनाहकमा फसेकी छिन् । उनको खातामा समेत ठगी गरेको रकम जम्मा भएको देखिए पछि प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो । उनलाई जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश दिएको थियो । रमा कार्कीले भने अरु केटाहरुलाई समेत सोहि योजना अनुसार ठग्दै आएको प्रहरी अनुसन्धानले खुलेको छ ।