पनौती रातमाटेमा आचार्य बन्धुहरुले शुरु गरे सप्ताह ज्ञान महायज्ञ (भिडियो सहित)
पनौती÷पनौती नगरपालिका वडा नम्वर ६ रातमाटेमा पितृ उद्धार तथा विश्व शान्तिको कामना गर्दै आचार्य वन्धु सर्वब्यापी समाजले श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ शुरु गरेको छ । पण्डित अच्युतप्रसाद भट्टराईद्वारा बाचन हुने उक्त ज्ञान महायज्ञमा विभिन्न क्षेत्रबाट आचार्य बन्धुहरुका अलावा अन्य भक्तजनहरुको सहभागिता रहने छ ।
सप्ताह ज्ञानमहायज्ञ शुभारम्भको पुर्वाद्धमा पनौती ६ रातमाटेमा रहेको आचार्य बन्धुहरुको कुलदेवताको मन्दिरबाट पनौती त्रिवेणी हुँदै इन्द्रेश्वर महादेव मन्दिर परिसर पुगी पुनः त्यहि स्थानमा आएर कलश यात्रा समापन गरिएको थियो । कार्यक्रममा आचार्य बन्धु सर्वब्यापी समाजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्य लगायतका ब्यक्तिहरुको सहभागिता रहेको थियो । फागुन १ गते मंगलबारबाट शुरु भएको सप्ताह ज्ञानमहायज्ञ फागुन ९ गते समापन हुने छ ।
आचार्य वन्धु सर्वब्यापी समाजका अध्यक्ष हिरालाल आचार्यले नेपालका सबै जिल्लामा छरिएर रहेका आचार्य बन्धुहरुलाई सप्ताह ज्ञान महायज्ञमा निम्ता गरिएको बताए । ‘हामी आचार्य बन्धुहरुको अलावा विश्वमा शान्तिको कामना गर्ने उदेश्यले महायज्ञ आयोजना गरिएको हो’–अध्यक्ष हिरालाल आचार्यले भने–‘जिल्लाका सबै कुलदेवता मान्ने ब्यक्तित्वहरुलाई सप्ताहमा सहभागिताका लागि निमन्त्रणा गर्दर्छाै ।’
आचार्यहरुको पुख्र्याेली भनेर जुम्ला जिल्लालाई मानिन्छ । त्यहाँबाट उत्पती भई काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल स्थित रानिपानीलाई उद्गमस्थल मानिन्छ । त्यस लगत्तै कुशादेवीको नयाँगाउँ तथा विभिन्न स्थानमा छरिएर आचार्यहरु रहेका छन् । पनौती नगरपालिका ६ सुन्थान रातमाटेमा पनि आचार्यहरुको ठुलो परिवार बसोबास गर्दै आएको छ । त्यहाँ आचार्यहरुले जग्गा ब्यवस्थापन गरेर कुल र बायु देवताको पुजाका लागि भवन निर्माण गरेका छन् । दुईवटा मन्दिर सहित भवन निर्माण गरेका आचार्यहरुले सम्पूर्ण पितृहरुको उद्धारका लागि महायज्ञ आयोजना गरेका हुन् ।
भवन निर्माणका लागि स्थानीय विष्णु आचार्यले १० आना जग्गा दान गरेका थिए । बाँकी १२ आना जग्गा खरिद गरी २२ आनामा भवन र मन्दिर निर्माण गरिएको छ । सप्ताह आयोजना गर्ने समितिमा उपाध्यक्ष बलराम आचार्य, सचिव केदार आचार्य, कोषाध्यक्ष गौरव आचार्य सहितको १५ सदस्यीय समिति, उप समितिहरु सक्रिय छन् । सम्पूर्ण आचार्य बन्धुहरुलाई सप्ताहका लागि केहि न केहि सहयोग गरिरहेका छन् । समितिले आचार्यहरुको कुलको संरक्षण, प्रर्वद्धन र पुर्नउत्थानका लागि विविध कृयाकलापहरु गरिरहेको बताईएको छ । सप्ताहको उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
भिडियोः






