समाचार टिप्पणी: किन प्रश्नै प्रश्नले घेरिए नगर प्रमुख भण्डारी ?
विकास तिमल्सिना
पनौती
पनौती नगरपालिकामा रामशरण भण्डारीले नगर प्रमुख पदमा चुनाव जिते पछि स्वेच्छाचारी निर्णय गरेको भन्दै जनप्रतिनिधि देखी नगरवासीसम्मले प्रश्न गर्न थालेका छन । नगर प्रमुख र उप–प्रमुखको छुट्टा छुट्टै सपथग्रहणबाट सुरु भएको द्धन्द्ध १४ औं नगरसभासम्म आउँदा छताछुल्ल भए पछि नगरप्रमुख भण्डारी माथी सार्वजनिक रुपमै प्रश्न उठ्न थालेका छन । नगरप्रमुख भण्डारी र उपप्रमुख गिता बञ्जाराले विज्ञप्ति नै जारी गरेर एक अर्कालाई गम्भिर आरोप लगाए पछि विवाद सहतमा आएको हो ।
नगरप्रमुखको सचिवालय र उप–प्रमुख सहित एमालेबाट निर्वाचित नगरसभा सदस्यले २०८० माघ १८ गते छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै एकअर्काको चर्को आलोचना गरे । नेकपा एमालेबाट निर्वाचित उप–प्रमुख गिता बञ्जारा सहित नगरसभा सदस्यहरुले नगर प्रमुख भण्डारीले साझा प्रतिनिधिको रुपमा काम गर्न नसकेको निष्कर्ष निकाले । नगर प्रमुख भण्डारी एकांकी तवरले छलकपट र स्वार्थमा लागेको उनीहरुको आरोप छ ।
कसैको व्यक्तिगत हित र ईसारामा नगर प्रमुखले संस्थागत निर्णयलाई चुनौती दिएको विज्ञप्तिमा उल्लेख छ । त्यहि दिन साँझ एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई जवाफ फर्काउँदै नगर प्रमुख भण्डारीले एमालेले नगरसभा बहिष्कार गर्ने धम्की दिएपछि नगरसभा स्थगन गरिएको बताउँदै विज्ञप्ती प्रकाशन गरे । सभा बहिष्कार नगर्ने अवस्थामा कार्यालय कै कुनै एक कर्मचारीको सिफारिसमा बनेको नगरको विद्यमान आवश्यकता भन्दा विल्कुल फरक आर्थिक बोझ बढाउने र ऐन कानुनको विपरित रहेको ओ एण्ड एम बहुमतले पास गर्ने रणनीति थाहा पाएको उल्लेख गरेका छन । कुनै अमुक व्यक्तिको उक्साहटमा लागि जनप्रतिनिधिहरुलाई स्वतन्त्र निर्णय गर्ने कार्यमा बाधा पारिएको नगर प्रमुखको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
तर विज्ञप्तिमा अमुक व्यक्ति को हो ? भन्ने खुलाइएको छैन । यद्यपी वरिष्ठ प्रशासकीय अधिकृततर्फ संकेत गरिएको छ । प्रदेश कानुनले नचिन्ने वरिष्ठ प्रशासकीय पद कायम गराउन खोज्नु कहाँसम्मको जायज हो ? भन्दै प्रश्न गरिएको छ ।
बहुमतको आडमा त्यस्तो ओ एण्ड एम पास गर्ने दिवास्वप्नलाई ठेगान लगाउन नगर सभाको अधिवेशन स्थगित गर्नुको विकल्प आफुहरुसँग नभएको विज्ञप्तिमा उल्लेख छ । उनले नगरसभा स्थगित गर्नुलाई ठेगान लगाउनुसँग तुलना गरेका छन । जिम्मेवार पदमा बसेर विज्ञप्तिमा जुहारी खेल्नुको सट्टा समस्या समाधानतर्फ केन्द्रित हुनु पर्ने धेरैको मत छ । जिम्मेवार पदमा बसेर अरुलाई दोष दिएर उम्कने छुट नगरप्रमुखलाई नरहेको जानकार बताउँछन् । त्यसमाथी पनि नगरप्रमुखको सचिवालयले जारी गरेको विज्ञप्तिको आधिकारिकतामा नै प्रश्न उठाइएको छ । नगर प्रमुखको सचिवालय पनौती नगरपालिकाको नाममा विज्ञप्ति जारी गरिएको भए पनि लेटरप्याड, छाप, हस्ताक्षर केहि पनि नभएकाले आधिकारिकतामा प्रश्न उठाइएको हो ।
नगरसभाको १४ औं अधिवेशनको अन्तर्य
पनौती नगरपालिकाको १४ औं नगरसभा माघ १८ गतेका लागि तोकिएको थियो । त्यसअघि जनप्रतिनिधिको टाउको दुखाइको विषय बनेको संगठन संरचना नगरसभामा पेश गर्ने सहमति भएको थियो । जनप्रतिनिधिलाई उपलब्ध गराईएको बैठकको कार्यसुचीमा समेत पनौती नगरपालिका कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण पारित गर्ने सम्बन्धी प्रस्ताव वडा नम्बर ४ का वडा अध्यक्ष दिपकप्रसाद दाहालले प्रस्तुत गर्ने उल्लेख छ ।
तर सभा सुरु हुनु अघि नगर प्रमुखले नयाँ प्रपञ्च रचेका थिए । २०८० माघ १७ गते सर्वसम्मतीले पास गरिएको भन्दा फरक कागजात राखेर पेश गरिएको एमालेको आरोप छ । उक्त कार्य राजनीतिक बेइमानी भएको नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले बताएका छन । सहमती र विश्वास तोड्दै नगर प्रम्ुखले गलत कदम चाल्दा परिस्थिती असहज बनेको एमालेबाट निर्वाचित जनप्रतिनिधिको आरोप छ ।
सभा स्थगन भएको भन्ने नगर प्रमुखको भनाईसँग समेत उनीहरु सहमत छैनन् । सभा स्थगन नभई सभा नै सुरु नगरी नगर प्रमुख भण्डारी सभाबाट भागेको उनीहरुको तर्क छ । नगरप्रमुख भण्डारीले सभाको अध्यक्षता गरि सभाको औपचारिक सुरुवात नै नगरी सुचना नटाँसी सभा स्थगन गरिएको भन्नु नगरसभा फेस गर्न नसक्नु भन्ने स्पष्ट हुने उनीहरुको भनाइ छ । सभा सुरु भएको अवस्थामा छलफलका लागि स्विकृत भइ सार्वजनिक भएको कार्यसुची अगाडी बढाउँदा बाधा अड्चन, तर्क वितर्क फरक विचार अडान अथवा अन्य कुनै गतिविधि भएको भए कारण प्रष्टिने उनीहरुको मत छ । आफैं सभा सुरु गर्न नसक्ने अनि अन्य जनप्रतिनिधिहरुलाई हिलो छ्यापेर पानी माथिको ओभानो बन्न खोज्नु मात्रै भएको उनीहरुको तर्क छ ।
पुर्वसहमती तोडेर फरक काजगात पेश गर्नु, नगरसभा फेस गर्नुको सट्टा स्थगित भएको सुचना नै नदिई हठात् स्थगित भएको घोषणा गर्नु नगरप्रमुख गल्तीबाट भाग्न खोजेको एमालेबाट निर्वाचित जनप्रतिनिधि बताउँछन् । अरुमाथी प्रश्न उठाउने नगरप्रमुख भण्डारी आफैं पनि चोखो छैनन् । राजनीतिक आस्थाकै आधारमा विद्यालयका प्रधानाध्यापकलाई प्रमुख स्वकिय सचिव नियुक्त गर्ने, जम्बो सचिवालय बनाउने, आफु निकटकालाई व्यवस्थापन गर्न निर्देशक पद खडा गर्ने, हरेक विवाद समाधानको सट्टा उग्र बन्दै जानुले नगर प्रमुखको क्षमतामाथी नै प्रश्न उठाएको एमालेको ठहर छ ।
पनौती नगरपालिकामा विवाद भएको यो पहिलो पटक भने होइन । विजयी पछि नेपाली कांग्रेस सहित गठबन्धनबाट निर्वाचित नगरप्रमुख लगायत जनप्रतिनिधि र एमालेबाट निर्वाचित उप–प्रमुख सहितका जनप्रतिनिधिको सपथग्रहण नै छुट्टाछुट्टै भएको थियो । पनौती नगरपालिका प्रमुखमा निर्वाचित भएका भण्डारीले नगर सभामा बहुमत रहेको पार्टी नेकपा एमालेसँग औपचारिक छलफल नगरेको, उप–प्रमुखलाई सपथ ग्रहण हुनुभन्दा केहि समय अघि मात्रै आमन्त्रण गरिएको तथा केहि वडा अध्यक्षलाई खबर नै नगरिएको भन्दै नेकपा एमालेले सपथ ग्रहणमा सहभागी नहुने भन्दै विज्ञप्ती नै जारी गरेको थियो । त्यति मात्रै होइन्, सपथग्रहण समारोहमा तत्कालिन संघीय तथा प्रदेशका जनप्रतिनिधिलाई खबर नै नगरी भुतपुर्व जनप्रतिनिधिलाई मात्रै आमन्त्रण गरिएको एमालेको आरोप थियो ।
नेपाली कांग्रेसका शिव हुमागाँई निकट मानिने नगर प्रमुख भण्डारीले हुमागाँईलाई प्रमुख अतिथी बनाएर सपथग्रहण गर्ने थाहा पाएपछि नेकपा एमालेले सपथग्रहण वहिष्कार गरेको एमालेका नेताहरु बताउँछन् । त्यहि कारण नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले छुट्टै सपथग्रहण गरेका थिए । त्यो बेलादेखिको सम्बन्धमा अझै सुधार आउन सकेको छैन । कुनै दलबाट त्यसमा पनि निश्चित व्यक्तिबाट मात्रै नगर प्रमुख निर्देशित हुँदा समस्या देखिएको नगरवासीको वुझाई छ । त्यस पछिको पहिलो नगरसभा निरन्तरको संवादपछि सौहार्दपुर्ण रुपमा भएको थियो । तर १२ औं नगरसभादेखी १४ औं नगरसभामा आइपुग्दा जहिल्यै विवाद हुँदै आएको छ । आफ्नै निर्णलाई नगर प्रमुखले कुल्चदा समस्या आउने गरेको उप प्रमुख गिता बञ्जाराले बताइन् । करारका कर्मचारी विवाद, जम्बो सचिवालय निर्माण लगायतका कारण नगरप्रमुख भण्डारी विवादमा तानिने गरेका छन ।
नगरपालिकामा निर्देशक
पनौती नगरपालिकामा नगरप्रमुखकै निर्देशनमा निर्देशक पद खडा गरिएको छ । नगरपालिकाको वेभ साइडमा चौंथो स्थानमा निर्देशकको पद उल्लेख छ । हाल पनौती नगरपालिकाको चौथो नम्बरमा निर्देशक प्रणराज न्यौपानेको नाम र पद उल्लेख छ । प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य हुन् । हालका निर्देशक न्यौपाने यस अघि प्रमुख प्रशासकीय अधिकृतको भुमिकामा थिए । शिक्षातर्फका न्यौपाने प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहिसकेकाले पुनः शिक्षा शाखाको जिम्मेवारीमा जान नमानेपछि उनको व्यवस्थापनका लागि निर्देशक पद खडा गरिएको स्रोतको भनाई छ । नगरप्रमुखकै सल्लाहमा उनलाई निर्देशक पद सहित व्यवस्थापन गरिएको वुझिएको छ ।
नगर प्रमुख भण्डारीले दरबन्दी बेगरको कार्यालय सहयोगी र प्रेस सल्लाहकार राखेका छन् । नगर प्रमुख भण्डारीले असफल प्रधानाध्यापकको छवि बनाएका पार्टीका कार्यकर्तालाई नगर प्रमुखको सचिवालय प्रम्ुख बनाएका छन ।
आफैंले पद उल्लेख गरेर सो पदको अधिकार प्रयोग गर्न पाउने भए लोकसेवा, पदपुर्ति समिति र निर्वाचन आयोग जस्ता निकाय के का लागि भन्दै प्रश्न उठेको छ । बागमती प्रदेशबाट जारी स्थानीय सेवाका कर्मचारीको व्यवस्थाका सम्बन्धमा बनेको ऐनमा माथी उल्लेखित पद सिर्जना गर्न सक्ने अवस्था छैन । तर यो सबै विषयलाई छोपेर विगतमा नै दरबन्दी स्विकृत कायम भई निरन्तरता दिइएको वरिष्ठ प्रशासकीय अधिकृत पदमा मात्रै रोइलो गर्नु उचित नभएको जानकार बताउँछन् ।






