काठमाडौ विश्वविद्यालयमा ‘उच्च शिखर सम्मेलन’
विकास तिमल्सिना
धुलिखेल
काठमाडौ विश्वविद्यालय धुलिखेलमा एसोसिएसन अफ इन्डियन युनिभर्सिटीज (एआईयु) एवं काठमाडौ विश्वविद्यालयको संयुक्त तत्वाधानमा आयोजित एआईयू नर्थ जोन भाइस चान्सलर्स मिट, २०२४ तथा भारत–नेपाल उच्च शिखर सम्मेलन भोली विहिबारबाट शुरु हुने भएको छ ।
सम्मेलनको उद्घाटन विहान प्रधानमन्त्री एवं काठमाडौ विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले गर्नेछन् । सम्मेलनका बारेमा विश्वविद्यालयले हिजो बुधबार साँझ विशेष पत्रकार सम्मेलन मार्फत जानकारी गराएको थियो । सम्मेलनका लागि नेपाल, भारत सहित दक्षिणपुर्वी एसियाली क्षेत्र, युरोप, अफ्रिका र अष्ट्रेलियाका विभिन्न विश्वविद्यालयका २ सय ३७ जनाको सहभागिता रहनेछ ।
सम्मेलनमा भारतीय विश्वविदालय संघका उपाध्यक्ष एवं छत्रपति साहुजी महाराज विश्वविद्यालय कानपुरका उपकुलपति विनय कुमार पाठक, अखिल भारतीय तकनीकि शिक्षा परिषद्का अध्यक्ष डा. अभय जेरे, राष्ट्रिय मुल्यांकन एवं प्रत्यायन परिषद् वेङ्गलुरुका निर्देशक प्रा.गणेशन कन्नविराम, भारतीय कृषि अनुसन्धान परिषद्का निर्देशक डा.आरसी अग्रवाल, भारतीय विश्वविद्यालय संघकी महासचिव डा.पंकज मित्तल तथा काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले सम्बोधन गर्नेछन् ।
उपकुलपति सभामा विश्वमा उच्च शिक्षाको क्षेत्रमा भईरहेका अभ्यास, भोगिरहेका समस्या, समकालीन मुद्दा, भु–मण्डलीकरण र उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण सम्वन्धमा छलफल गर्ने एजेण्डा तय भएको काठमाडौं विश्वविद्यालयका प्रवक्ता एकुमाया पुनले जानकारी दिईन् । सभाबाट भुमण्डलीकरणको प्रभाव पत्ता लगाउने, अन्तर्राष्ट्रिय सहयोग र विचारहरुको आदानप्रदानलाई प्रोत्साहित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सभाले साझा सञ्जाल निर्माण, साझेदारी अभ्यास तथा पारस्परिक सहयोग आदानप्रदानको वातारण बनाउने अपेक्षा गरिएको काठमाडौ विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले जानकारी दिए । अन्तराष्ट्रिय उपकुलपति सभामा तीन वटा प्राविधि सत्रहरु सञ्चालन हुनेछन् । सहभागीहरु बीच अनुसन्धान साझेदारी, विद्यार्थी आदानप्रदान कार्यक्रम, संयुक्त डिग्री र प्राज्ञिक साझेदारीको फाइदाबारे छलफल हुनेछ । दोस्रो सत्रमा नियमन र नीति निर्माणका साझा मुद्दाहरु, गुणस्तर, सुनिश्चितता तथा प्रत्यायन संयन्त्र, विदेशी मान्यता, सामन्जस्य जस्ता बिषयमा छलफल गरेर विश्वव्यापी उच्च शिक्षामा नियमन र नीतिगत प्रष्टता पहिल्याउने प्रयास हुने छ । तेस्रो सत्रमा विद्यार्थीको गतिशिलता र त्यसको विविधताका अन्तराष्ट्रिय अनुभव बारे छलफल गरिनेछ ।
एसोसिएसन अफ इन्डियन युनिभर्सिटीज (एआईयु) मा काठमाडौ विश्वविदालय सहित बंगलादेश, भुटान, काजकिस्तान, मलेसिया, मरिसस, थाइल्याण्ड, संयुक्त अरब, बेलायतका १३ विश्वविद्यालयहरु एसोसिएट सदस्य छन । नेपालका विश्वविद्यालयका उपकुलपतिहरु पनि सभामा सहभागि भएका छन् ।






