छ महिनामा २० हजार कैदीबन्दीको उपचार
काठमाडौँ / नेपालकै सबैभन्दा ठूलो र पुरानो कारागार जगन्नाथदेवल सुनधारामा सञ्चालित केन्द्रीय कारागार अस्पतालमा छ महिनामा २० हजार कैदीबन्दीले उपचार गरेका छन् । नेपालको एक मात्र कारागार अस्पतालमा साउनदेखि पुस मसान्तसम्म १९ हजार नौ सय ९२ कैदीबन्दीले उपचार गरेका छन् । जसमा पुरुष कैदीबन्दी १६ हजार ४ सय ९५ र महिला कैदीबन्दी तीन हजार ४ सय ९७ रहेका छन् ।
वि।सं १९७१ मा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथदेवलमा वि।सं २०२० सालमा एउटा कोठाबाट कैदीबन्दीको स्वास्थ्य जाँच गर्न सुरु गरिएको थियो । सुरुमा १५ श्ययाको अस्पताल सञ्चालनमा ३१ दरबन्दी रहेको अस्पतालले ३० श्ययाको अस्पताल सञ्चालन गर्न ३६ दरबन्दी थप गरेको थियो । क्रमशः अस्पतालको सेवा विस्तार गरिँदै हाल ३० श्ययाको अस्पताल सञ्चालनमा आएसँगै अस्पतालमा कर्मचारीको दरबन्दी समेत थप गरिएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश बुढाथोकी कारागार अस्पतालले पुरुष तथा महिला कैदीबन्दीका लागि छुट्टाछुट्टै वार्ड स्थापना गरेर जाँच गर्दै आएको बताउछन् । ‘कारागार अस्पतालले हाल ओपिडी, ल्याब, एक्सरे, इसिजी, अल्ट्रासाउन्ड, डेन्टल, मनोरोग, छालारोग र आँखा रोगलगायतका रोगको उपचार गर्दै आएको छ,’– डा बुढाथोकी भन्छन् ।
सो अस्पतालले बेलाबेलामा कैदीबन्दीका लागि स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै कैदीबन्दीलाई खानपान, जीवनयापन, रहनसहनलगायतका कुरासमेत सिकाउँदै आइरहेको छ । कारागार अस्पतालले कारागारभित्र उपचार सम्भव नभएका रोगको उपचारका लागि काठमाडौँभित्रका विभिन्न २३ वटा अस्पतालसँग सम्झौता गरेको छ ।
‘रोगको प्रकृति हेरेर वीर अस्पताल, त्रिभुवनविश्विद्यालय शिक्षण अस्पताल, मानसिक अस्पताल, गङ्गालाल अस्पताल, राष्ट्रिय मिर्गौला प्रत्यारोपण केन्द्रलगायतका २३ वटा अस्पतालमा बिरामी पठाउँदै आएका छौँ,’– डा बुढाथोकी भन्छन् ।
अस्पतालकी प्रशासन प्रमुख रमा घिमिरे कैदीबन्दीलाई सबै रोगको उपचार कारागारभित्रै गर्नेगरी सेवा विस्तार गर्दै लगेको बताउछन् । ‘एघारौँ तहको अधिकृतको नेतृत्वमा ६८ जनाको दरबन्दी रहने गरी अस्पताल सञ्चालन गरेका छौँ,’– उनी भन्छन् । कारागार अस्पतालमा विभिन्न रोगका आठ जना विशेषज्ञ चिकित्सकले उपचार गर्ने व्यवस्थासमेत मिलाइएको उनको भनाइ छ ।
केन्द्रीय कारागारमा हाल तीन हजार ४ सय ५० कैदीबन्दी छन् । एक हजार ५ सय अटाउने केन्द्रीय कारागारमा हाल दोब्बरभन्दा पनि बढी कैदीबन्दी रहँदै आएका छन् ।
तीनवटा जेल रहेको केन्द्रीय कारागारको केन्द्र जेलमा एक हजार ८ सय ४४, भद्र जेलमा एक हजार १ सय ५३ र महिला जेलमा ४ सय ५३ कैदीबन्दी रहेका छन् । यसैगरी, बालसुधार गृहमा २ सय २८ र नौ आश्रित बालबालिका रहेका छन् ।
केन्द्रीय कारागार सुनधाराका कारागार प्रशासक ललित बस्नेत देशभरका कैदीबन्दी उपचारका लागि काठमाडौँ आउँदा केन्द्रीय कारागारभित्र कैदीबन्दीको सङ्ख्या बढेको बताउछन् ।
‘देशभरका कैदीबन्दी उपचार गर्न र अड्डा अदालत धेरै राजधानीमा भएकाले यहाँ आउने चाप बढेको छ,’– उनी भन्छन् । एक शताब्दी इतिहास बोकेको केन्द्रीय कारागार अहिले कैदीबन्दीको चापका कारण साँघुरो बन्दै गएको कारागार प्रशासक बस्नेत बताउछन् ।
कारागार अस्पतालले कैदीबन्दीको निःशुल्क स्वास्थ्य जाँच गर्दै आएको छ । कैदीबन्दीले निजी अस्पतालमा आफ्नो स्वास्थ्य जाँच गर्न चाहेमा आफ्नै पैसा खर्च गर्नुपर्ने हुन्छ । अस्पतालका बिरामीमा अहिले रुघाखोकी, दम, ज्वरो, टाइफाइडलगायतका बढी विरामी देखिने गरेका छन् ।
यस्तै, केन्द्रीय कारागारमा हाल २ सय ५५ जना विदेशी कैदीबन्दी रहेका छन् । विदेशीमध्ये सबैभन्दा बढी भारतीय कैदीबन्दी रहेको कारागार प्रशासक बस्नेत बताउछन् । भारतीय कैदीबन्दी अधिकांश लागूऔषध मुद्दाका रहेका उनको भनाइ छ । भारतपछि चीन र दक्षिण अफ्रिकाका कैदीबन्दी रहेका छन् ।
आठ वर्ष केन्द्रीय कारागार अस्पतालमा रहेर विरामीलाई सेवा प्रदान गरेका नेपाल चिकित्सक सङ्घका पूर्व अध्यक्ष डा केदारनरसिंह केसी साँघुरो ठाँउ र धेरै कैदीबन्दीका कारण विभिन्न रोग देखिएको बताउछन् । ‘राज्यबाट कैदीबन्दीको लागि निःशुल्क उपचार व्यवस्था हुनु सकारात्मक कुरा हो, यसलाई बिस्तारै व्यवस्थापन गर्दै लैजानुपर्छ,’– डा केसी भन्छन् ।
उनी कैदीबन्दीलाई पछिल्लो समय छालासम्बन्धी समस्या, मानसिक समस्यालगायतका समस्या देखिएको बताउछन् । आफू सो अस्पतालमा कार्यरत रहँदा बाहिरबाट हप्ताको एकपटक विशेषज्ञ चिकित्सक झिकाएर कैदीबन्दीको उपचार गरेको उनी बताउछन् ।
केन्द्रीय कारागार अस्पतालले आर्थिक वर्ष २०७७र०७८ मा १६ हजार ८ सय ८६, आव २०७८र०७९ मा २२ हजार १ सय ४१ र आव २०७९र०८० मा ३४ हजार ३ सय २५ विरामीको उपचार गरेको छ । सो अस्पतालले केन्द्रीय कारागारबाहेक डिल्लीबजार र नख्खु कारागारका कैदीबन्दीको उपचार गर्नुका साथै औषधि वितरण गर्दै आएको छ ।
यस्तै, शल्यक्रिया र प्रसूति उपचारको समेत व्यवस्था मिलाउन सो अस्पतालले सरकारसँग माग गरेको छ । उक्त अस्पतालले बिरामी कैदीबन्दीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर २४ सै घण्टा सेवा सञ्चालन गर्दै आएको जनाइएको छ ।






