पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
काठमाडौं / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर १.८३ र डिजेलको मूल्यमा प्रतिलिटर १.५६ रुपैयाँले बढेर आएकाले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले बढाएको निगमले जनाएको छ ।
निगमका प्रवक्ता मनोज ठाकुरले बिहीबार साँझ जारी गरेको विज्ञप्तिअनुसार नयाँ मूल्य आज मध्यरातिदेखि लागु हुनेछ ।
निगमका अनुसार खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ ।
मूल्य बढेसँगै काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७२ तथा डिजेल र मट्टितेल प्रतिलिटर १६० रुपैयाँ पुगेको छ ।
सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको १७१ र डिजेल, मट्टितेलको १५९ रुपैयाँ तथा झापा, विराटनगर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज क्षेत्रमा पेट्रोलको १६९ रुपैयाँ ५० पैसा र १५७ रुपैयाँ ५० पैसा डिजेल तथा मट्टितेलको मूल्य कायम भएको छ ।






