राष्ट्रपति रामचन्द्र पौडेल आज काभ्रे आउँदै
राष्ट्रपति रामचन्द्र पौडेल आज काभ्रे आउँदै छन् । वृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव उद्घाटनका लागि राष्ट्रपति पौडेल काभ्रे आउन लागेका हुन । महोत्सवको उद्घाटन दिउसो १ बजे बनेपा लागकुमा उद्घाटन हुनेछ । महोत्सवका लागि बनेपा स्थित करुणामार्ग र लायकु क्षेत्र कृषि उपर र कृषि औजारले सजिएको छ । महोत्सव फागुन ७ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा कृषि उपज, यन्त्र उपकरण लगायतका २ सय भन्दा बढी स्टल रहनेछन् ।
काभ्रे कृषि एवं पशुजन्य उत्पादन, र बजारमुखी उत्पादनको दृष्टीले अग्रणी जिल्लाको रुपमा परिचित छ । कृषकहरुले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजहरुको कारोवारमा वृद्धि ल्याउने, कृषकलाई आवश्यक पर्ने उत्पादन सामाग्री एवं नयाँ प्रविधिप्रती आकर्षण बढाई उत्पादन लागत घटाउने उदेश्यले महोत्सव आयोजना गरिएको हो ।
कृषिका उदयीमान नविनतम प्रविधि तथा वित्तिय साक्षरता सम्बन्धी सेमिनार आयोजना, रैथाने बाली एवं प्रविधिहरुको प्रदर्शन, स्थलगत बाली उपचार शिविर तथा पशु स्वास्थ्य शिविर महोत्सवका प्रमुख आकर्षण हुन् । महोत्सवले कृषि पेशाप्रती आकर्षण बढाई वैदेशिक रोजगारीका लागि विदेशीने युवाहरुलाई नेपालमा नै रोक्न सहयोग पुर्याउने विश्वास लिइएको छ ।






