‘तथ्यांकमा धुलिखेल’ सहित तीन पुस्तक लोकार्पण

by | फाल्गुन ५, २०८०

‘तथ्यांकमा धुलिखेल’ सहित तीन पुस्तक लोकार्पण

धुलिखेल/धुलिखेल नगरपालिकाले स्थापना दिवसको अवसर पारी तीनवटा पुस्तक लोकार्पण गरेको छ । स्थापना दिवसको अवसरमा हरेक वर्ष नगरपालिकाले पुस्तकहरु लोकार्पण गर्दै आएको छ ।

नेपालमा पहिलो पटक संघीय संरचना अनुसार धुलिखेल नगरपालिकाले आफ्नै संयोजनमा तथ्यांक कार्यालय धुलिखेलको प्राविधिक सहयोगमा ‘तथ्यांकमा धुलिखेल’ नामक पुस्तक प्रकाशन गरिएको नगर प्रमुख अशोक ब्याञ्जुले जानकारी दिए । उक्त पुस्तकमा २०७८ सालमा भएको जनगणना, कृषि गणना तथा अन्य तथ्यांकहरु समावेश गरिएको छ । धुलिखेलले विश्वका केहि शहरहरु मध्ये दिगो विकास लक्ष्यका चारवटा सुचक पुरा गरेको छ । सोहि तथ्यांकले आगामी दिनमा थप लक्ष्यहरु पुरा गर्न नीति तथा कार्यक्रम र बजेट विनियोजन गर्न सहजता हुने प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापा मगरले बताए ।

त्यस्तै देशभरका स्थानीय तह मध्ये पहिलो पटक धुलिखेलले परिषद्हरु गठन गरी सोहि परिषद्बाट स्विकृत कार्यक्रमहरुलाई समुदायमा कार्यान्वयन गर्दै आएको छ । युवा, दलित, महिला, अपाङ्गता तथा जनजाति परिषद् गठन गरेको थियो । उक्त परिषदले गरेका समग्र गतिविधिहरु समेटेर तयार गरिएको ‘परिषद्ःनयाँ प्रयास, अभ्यास र अनुभव’ नामक पुस्तक प्रकाशन गरिएको छ । जसले धुलिखेलको समग्र क्षेत्रमा पु¥याएको योगदान तथा नयाँ विषयहरुलाई प्राथमिकतामा राखिएको छ । त्यसको संयोजक शाखा अधिकृत विदुर गौतमले गरेका थिए ।

नेपालमै पहिलो पटक धुलिखेल नगरपालिकाले स्वस्थ शहर कार्यक्रम शुरु गरेको छ । विश्व स्वास्थ्य संगठनले समेत उक्त कार्यक्रममा चासो दिएर विभिन्न कोणबाट सहयोग पु¥याएको छ । धुलिखेल अस्पताल तथा काठमाडौ विश्वविद्यालय जस्ता संस्थाहरुले पनि धुलिखेलको स्वस्थ शहर कार्यक्रमलाई प्राथमिकतामा राखेका छन् । स्वास्थ्य शाखा प्रमुख सन्दिप केसी, सरोज थापा लगायतको टिमले स्वास्थ्य क्षेत्रका समग्र प्रगति, अभ्यास तथा आगामी योजना समेटेर संयोजन गरेको पुस्तक ‘असल स्वास्थ्य नै समृद्धीको आधार’ नामक पुस्तक लोकार्पण गरिएको छ । स्वास्थ्य शाखा मार्फत हरेक घर परिवारका हरेक सदस्यहरुको स्वास्थ्य विवरणको तथ्यांक नगरपालिकाले संकलन गरिसकेको छ । सोहि तथ्यांकका आधारमा धुलिखेल र धुलिखेलका नागरिकहरुलाई स्वस्थ राख्न विभिन्न कार्यक्रमहरु संचालन हुँदै आएका छन् ।

काभ्रेका १३ वटा पालिकाहरु मात्रै नभई नेपालकै स्थानीय सरकारहरु मध्ये धुलिखेलले न्यायीक समितिका अभ्यासहरुको पुस्तक २०७४–२०७९ प्रकाशन गरिसकेको छ । आफुले निर्माण गरेका कानूनहरुको संग्रह प्रकाशन गरिसकेको छ भने जनप्रतिनिधिका असल अभ्यास, तस्विरमा धुलिखेल, धुलिखेलका पार्कहरु, धुलिखेलका कला र संस्कृति तथा ऐतिहासिकताका बारेमा समेत पुस्तकहरु प्रकाशन भईसकेका छन् ।