धुलिखेल मेयर कप फुटबलको उपाधी काभ्रेली ब्वाईज एफ सि ले पायो

by | फाल्गुन ५, २०८०

धुलिखेल मेयर कप फुटबलको उपाधी काभ्रेली ब्वाईज एफ सि ले पायो

धुलिखेल÷छैठौं राष्ट्रिय स्तरीय खुल्ला धुलिखेल मेयर कप फुटबल प्रतियोगिताको उपाधी काभ्रेली ब्वाईज एफ सि ले प्राप्त गरेको छ । बनेपा ११ लाई पराजय गर्दै काभ्रेली ब्वाईज एफ सिले उपाधी हात पारेको हो । विजेता टिम तथा खेलाडीहरुलाई नगर प्रमुख अशोक ब्याञ्जुले पुरस्कार वितरण गरेका थिए ।

पुरस्कार वितरण कार्यक्रममा उपप्रमुख निराजन जंगम, प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापा मगर, वडा अध्यक्षहरु लगायतले बधाई तथा शुभकामना सहित प्रमाणपत्रहरु वितरण गरेका थिए ।

प्रतियोगिातामा प्रथम हुने टिमले १ लाख नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उप विजेता टिमले नगद ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको आकाश भैरव क्लवका अध्यक्ष पुकार श्रेष्ठ चोच्छेले जानकारी दिए । त्यस्तै टप स्कोरर शुसान्त लामाले नगद २५ सय सहित ट्रफि प्राप्त गरे । बेस्ट डिफेन्सर मनोज राई भए भने बेस्ट किपर सुरेश विसुंखे भए । उनिहरु दुबैलाई नगद २५ सय सहित ट्रफी प्रदान गरिएको थियो । त्यस्तै बेस्ट खेलाडीका रुपमा सुनिल गोले तामाङलाई नगद ५ हजार सहित ट्रफी प्रदान गरिएको छ ।

रेफ्रीहरु रोजन योगल, राम तुसुजु, सुदेश सोजु, रविन खड्गी, सञ्जय ताम्राकार, उदय श्रेष्ठ, नविन राना मगर, प्रशान्त तामाङलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुले छैठौं राष्ट्रिय स्तरीय खुल्ला धुलिखेल मेयर कप फुटवल प्रतियोगिताको उद्घाटन गरेका थिए । खेलाडीहरुलाई बधाई तथा शुभकामना दिदै नगर प्रमुख ब्याञ्जुले आगामी दिनमा पनि खेललाई अनुशासित भएर खेल्न सुझाव दिए ।

धुलिखेल नगरपालिकाको आयोजना र आकाश भैरव क्लवको समन्वयमा प्रतियोगिता भएको हो । नगर प्रमुख ब्याञ्जुले नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । खेलले शारिरिक तन्दुरुस्तीसँगै अनुशासन र नेतृत्व विकासमा योगदान गर्ने उनको भनाई थियो ।